ad ad

छापा खबर


दिलीप हत्या प्रकरण : वडाध्यक्ष पनि शंकाको घेरामा

दिलीप हत्या प्रकरण : वडाध्यक्ष पनि शंकाको घेरामा

नेपालखबर
पुस २९, २०७६ मंगलबार ३:३१,

अवैध उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ। किचेको घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा टिपर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि प्रहरीले संकेत घेरा हालेर सुरक्षित राखेको छ।

गत शुक्रबार बिहान धनुषाको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न साथीसहित पुगेका मिथिला नगरपालिका-५ का दिलीपलाई सुरुमा लिभरले घोचेर घाइते बनाएपछि टिपरले टाउको किचेर मारिएको थियो। धनुषा प्रहरीले क्रसर क्षेत्रमा छरपस्ट रगतको नमुना संकलन गरेर परीक्षणका लागि सोमबार विधि विज्ञान प्रयोगशाला पठाएको छ।

‘क्रसरमा प्रहरी खटाइएको छ। रगतको टाटालाई सुरक्षित राखिएको छ,’ धनुषाका एसपी रमेश बस्नेतले भने, ‘रगतको रिपोर्ट आएपछि अनुसन्धान अलि सजिलो हुनेछ।’

प्रहरीले टिपरका सहचालकलाई पनि खोजिरहेको छ। उनी घटनाका प्रत्यक्षदर्शी भएकाले खोजी भइरहेको हो। ‘हत्याको योजना बुन्ने र आक्रमण गर्ने समयमा पनि खलासीको उपस्थिति देखिन्छ,’ एसपी बस्नेतले भने, ‘घटनापछि ऊ फरार छ। नियन्त्रणमा लिएपछि उसले धेरै भेद खोल्छ।’ जनकपुरबाट अजित तिवारी लेखेको यो खबर आजको कान्तिपुरमा छापिएको छ।

प्रहरीले दिलीपको हत्या घटनामा वडाध्यक्ष श्यामबाबु यादव र रोशन यादवको संलग्नता रहे/नरहेकोतर्फ पनि अनुसन्धानलाई केन्द्रित गरेको छ। यादवद्वय दिलीपका साथी हुन्। शुक्रबार बिहान खोलामा जानुअघि तीनै जना चोकमा भेला भएका थिए। पछि वडाध्यक्ष यादव अन्तिम समयमा घरतिर फर्किए।

अर्का साथी रोशन भने दिलीपसँगै खोलासम्मै पुगे। पाइल्सको शल्यक्रिया भएकाले रोशन बिस्तारै हिँडे भने दिलीप हतारिंदै खोलामा पुगेका थिए। दिलीप अघिअघि, रोशन पछिपछि। दुवैबीच दुई मिनेट जतिको दूरी थियो। तर रोशन टिपर भएको ठाउँमा पुग्दा दिलीपको हत्या भइसकेको थियो। रोशनले नै फोन गरेपछि घर फर्किएका वडाध्यक्ष श्याम खोलामा पुगेका थिए। रोशन प्रहरीको हिरासतमै छन्। घटनाबारे उनले फरक-फरक बयान दिएको र वडाध्यक्ष श्याम बहाना बनाएर खोला नगई घर फर्किएकाले उनीहरू शंकाको घेरामा रहेको प्रहरीको भनाइ छ।

‘दिलीपको घटनामा वडाध्यक्ष र रोशनको संलग्नता कति छ, त्यो पनि खोज्दै छौं,’ एसपी बस्नेतले भने, ‘हत्यासँग सम्बन्धित सबै कोणबाट अनुसन्धान हुँदै छ। संलग्न कोही पनि कारबाहीबाट जोगिन्नन्।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .