सरकारले कोभिड क्लिनिक भनेर तोकेका अस्पताल मात्रै काठमाडौं उपत्यकामा ६ वटा छन् । तर, शनिबार एक संक्रमितले अस्पतालमा भर्ना नपाएर सात घन्टा एम्बुलेन्समै बिताउनुपर्यो ।
दिउँसो ३ बजे एम्बुलेन्समा पाटन अस्पताल पुगेका ती संक्रमितलाई राति १० बजे बल्ल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
सर्लाही घर भएका ती संक्रमित एक साताअघि भारतको महाराष्ट्रबाट फर्किएका थिए । नेपाल प्रवेश गरेपछि टेम्पोमा घर जानेवेला सप्तरीमा उनी दुर्घटनामा परे र खुट्टा भाँचियो ।
उपचारका लागि काठमाडौं आएका उनी कुलेश्वरस्थित राजधानी अस्पतालमा भर्ना भएका थिए । शल्यक्रिया गर्नुअघि अस्पतालले गरेको स्वास्थ्य जाँचमा उनमा कोरोना पोजेटिभ देखियो । त्यसपछि राजधानी अस्पतालले उनको शल्यक्रिया नगरी शनिबार दिउँसो पाटन अस्पताल रेफर गरेको थियो ।
एम्बुलेन्समा पाटन पुगेका उनीसँगै दुईजना कुरुवा पनि थिए । अस्पताल प्रशासनले बेड खाली नभएको भन्दै बाहिरै कुर्न आग्रह गरेपछि बिरामी सात घन्टा अस्पतालको पार्किङमा एम्बुलेन्सभित्र बस्न बाध्य भए । राति १० बजे मात्रै पाटन अस्पतालले बिरामीलाई केएमसी अस्पतालमा रेफर गर्यो ।
सरकारले काठमाडौं उपत्यकामा कोरोनाको उपचारका लागि पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । यी अस्पतालमा एक सय ८७ आइसोलेसन बेड छन् ।
राजधानी अस्पतालले समन्वय नगरी संक्रमितलाई पठाउँदा घन्टौँ एम्बुलेन्समै बस्नुपरेको स्पष्टीकरण पाटन अस्पतालले दिएको छ । ‘उताबाट समन्वय नै नगरी पठायो । हामीकहाँ आइसोलेसन बेड ६ वटा मात्रै छन्, ती सबै भरिएका कारण संक्रमितलाई तत्काल भर्ना गर्न सकिएन,’ अस्पतालका निर्देशक डा.विष्णु शर्माले भने ।
संक्रमितसँगै दुई कुरुवा पनि सात घन्टासम्म एम्बुलेन्समै बस्न बाध्य भएका छन् । अस्पतालको लापरबाहीले उनीहरू पनि जोखिममा परेको एम्बुलेन्सचालकले बताए।
प्रतिक्रिया