ad ad

छापा खबर


चार मन्त्रीलाई १९ मन्त्रालयको भार : प्रधानमन्त्री ओली र मन्त्रीहरु धपेडीमा

 चार मन्त्रीलाई १९ मन्त्रालयको भार : प्रधानमन्त्री ओली र मन्त्रीहरु धपेडीमा

नेपालखबर
असार १८, २०७८ शुक्रबार ०:४७,

सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदर गरेपछि बाँकी चार मन्त्री धपेडीमा परेका छन् । एक मन्त्रीको काँधमा पाँच मन्त्रालयसम्मको जिम्मेवारी छ।

जसका कारण नियमित कामसमेत प्रभावित भइरहेका छन्, सचिवहरू फाइल बोकेर मन्त्री खोज्दै हिँड्नुपरेको खबर आजको नयाँ पत्रिका दैनिकमा यम बमले लेखेका छन्।

प्रधानमन्त्री ओलीले गत २१ र २७ जेठमा मन्त्रिपरिषद् विस्तार गर्दै २५ सदस्यीय बनाएका थिए । तर, १० असारमा सर्वोच्चले कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न नसक्ने अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई पदमुक्त गरेको थियो । अहिले प्रधानमन्त्री ओलीसहित पाँच मन्त्रीले २१ मन्त्रालय हाँकिरहेका छन् ।

ओली स्वयंले रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि लिएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेलको काँधमा अर्थसँगै गृह, ऊर्जा र उद्योग मन्त्रालय पनि छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य, वन, युवा तथा खेलकुद र श्रम मन्त्रालय पनि हेरिरहेका छन् ।

त्यस्तै, वसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार, खानेपानी, सञ्चार, सहरी विकास र कृषि मन्त्रालय र लीलानाथ श्रेष्ठले कानुनसँगै संघीय मामिला, भूमि व्यवस्था, पर्यटन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पनि धानिरहेका छन् ।

सिंहदरबार पाँच सदस्यीय मन्त्रिपरिषद्को भरमा चल्न थालेपछि नियमित काम पनि प्रभावित बन्न थालेको एक सचिवले बताए । ‘राजनीतिक अस्थिरताको सिकार सिंहदरबार पनि बनेको छ । सरकार कामचलाउ अवस्थामा पुगेपछि त्यसै पनि दीर्घकालीन निर्णयबारे विवाद उठ्न थालेको थियो । त्यसैमा २१ मन्त्रालय प्रधानमन्त्रीज्यूसहित पाँच मन्त्रीको काँधमा पुगेपछि नियमित काम पनि प्रभावित भइरहेका छन् । स–साना निर्णयका लागि पनि मन्त्रीज्यूलाई खोज्दै हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने ।

अर्का एक सचिवका अनुसार मन्त्रीहरूले सामान्य फाइल पनि हेर्न खोज्छन्, जसका कारण नियमित काममा पनि समस्या देखिएको छ । ‘खासमा उहाँ (मन्त्री)हरूले नीतिगत निर्णय गर्नुपर्ने हो । तर, उहाँहरूमा कार्यकारी हुन खोज्ने हुटहुटी देखिन्छ । यो पहिलादेखि नै चलिरहेको छ,’ उनले भने।

अति जरुरीबाहेकका काम अघि बढाउन समस्या भएको ती सचिवको भनाइ छ । ‘अहिले एकै मन्त्रीले पाँच मन्त्रालय सम्हाल्दा के–के नपुगेजस्तो हुने रहेछ । एक मन्त्रालय र एक मन्त्री भएको भए कार्ययोजना बन्थ्यो, काम पनि हुन्थे,’ उनले भने, ‘तर, मन्त्री नहुँदा सामान्य प्रशासनिक र अति जरुरीबाहेकका काम नहुने रहेछन् । यसरी धेरै अगाडि बढाउन गाह्रो देखिन्छ।’

पूर्वमुख्यसचिव विमल कोइरालाले प्रशासनिक नेतृत्वलाई अख्तियारी कसरी दिइएको छ भन्ने कुराले काम प्रभावित हुने–नहुने बताए । ‘सबैभन्दा ठूलो कुरा अख्तियारीको प्रसारण कसरी हुन्छ भन्ने हो । सचिवहरूलाई यथेस्ट अधिकार दिने हो भने समस्या हुँदैन । तर, हाम्रोमा त कतिपय नियमित काम पनि मन्त्रीले गर्ने गरेका छन्, अरू काममा हस्तक्षेप गर्ने गरेका छन्,’ उनले भने ।

प्रशासनलाई अख्तियारी नदिएर अधिकार आफूमा केन्द्रीकृत गर्ने राजनीतिक नेतृत्वको प्रवृत्तिले निर्णय ढिलो हुनुका साथै काम रोकिने गरेको उनले बताए ।

रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेका प्रधानमन्त्री ओली बालुवाटारमै बसेर देश हाँकिरहेका छन् । नीतिगत निर्णयका लागि सचिवहरू फाइल बोकेर बालुवाटार पुग्ने गरेका छन् । ‘सचिवज्यूहरू आउनुहुन्छ । समयका कारणले समस्या त परेको छैन, तर धपेडी त हुने नै भयो,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले भने ।

अन्य तीन मन्त्री पनि समयतालिका बनाएर एक मन्त्रालयदेखि अर्को मन्त्रालय कुदिरहेका छन् । उपप्रधानमन्त्री पौडेलले अर्थपछि गृह मन्त्रालयलाई प्राथमिकतामा राखेका छन् । ‘उपप्रधानमन्त्रीज्यू सातामा सबै मन्त्रालय पुग्नुहुन्छ । तर, अर्थ नियमित छ,’ उपप्रधानमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले भने, ‘बाढीपहिरोका घटना बढ्न थालेपछि गृहमा पनि चाप छ, त्यसैले त्यता पनि ध्यान केन्द्रित गर्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .