ad ad

विचार


एमसीसी प्रकरणः देउवा–दाहालको कच्चा कूटनीति

एमसीसी प्रकरणः देउवा–दाहालको कच्चा कूटनीति

विष्णु रिजाल
माघ २४, २०७८ सोमबार २०:५५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘चार–पाँच महिनाभित्र एमसीसी पारित गर्छौं’ भनेर अमेरिकालाई लेखेको पत्र राजनीतिक इमान र कूटनीतिक मर्यादा दुबै हिसाबले त्रुटिपूर्ण र घातक छ। देशभित्र एमसीसीका विरुद्धमा जनमत भड्काएर सस्तो राजनीति गरिरहेका दाहाललाई साथमा लिएर एमसीसी मुख्यालयलाई पत्र लेख्दा आफूलाई सजिलो होला भन्ने लागे पनि वस्तुतः यो प्रधानमन्त्री देउवाको कूटनीतिक अज्ञान र मर्यादाहीन काम हो। किनभने, कुनै पनि विदेशी मुलुक वा निकायसँग पत्राचार गर्ने दायित्व नेपाल सरकारसँग मात्र रहन्छ र कुन निकायले कुन निकायसँग पत्राचार गर्ने भन्ने मर्यादा निर्धारित हुन्छ। एकातिर यस सामान्य मर्यादालाई पनि नाघेर प्रधानमन्त्री देउवाले देशकै हुर्मत लिएका छन् भने अर्कातिर विदेशीसँग पत्राचार गर्दा नेपाल सरकारको कार्यकारी प्रमुखले नपुगेर अर्को पार्टीको अध्यक्षको सहारा लिएका छन्। यसबाट प्रधानमन्त्री देउवा कति निरीह छन् भन्ने उदाहरण आफैँ देखाएका छन्। 

देशभित्र सुल्झाउनुपर्ने र सुल्झिने विषयहरुमा विदेशीलाई निवेदन गर्नु आफैँमा लज्जास्पद विषय छ। अमेरिकी सहयोग परियोजनामा अमेरिकाका तर्फबाट कुनै समस्या छैन, समस्या नेपालमा छ। सन् २०१७ मा कांग्रेस र माओवादीको सरकार भएको बेलामा हस्ताक्षर भएको उक्त परियोजना संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेमा विवाद खडा गरेर गिजोलिएको छ। त्यसैले यसमा अमेरिकालाई केही भनिरहन आवश्यक छैन। परियोजना चाहिन्छ वा चाहिँदैन? नेपालले निर्णय लिनुपर्छ, नेपालको संसद्ले फैसला गर्नुपर्छ। यसका लागि कुनै देशसमक्ष रोइकराई गर्न वा विन्ति बिसाउन विल्कुलै आवश्यक छैन।

एमसीसी विकास परियोजना हो र विकास परियोजना भएकै कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला प्रतिनिधिसभाबाट अनुमोदनका लागि मन्त्रिपरिषदबाट निर्णय भएर संसद् सचिवालयसम्म पुगेको थियो। तर, त्यतिबेला नेकपाभित्र चर्किरहेको शक्ति संघर्षका कारण पुष्पकमल दाहालको नेतृत्वमा संगठित भएका नेताहरुले यसलाई अघि बढ्न दिएनन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दी गर्ने अस्त्र र अवसरको पर्खाइमा रहेका नेताहरु त्यही निहुँमा एक ठाउँमा उभिए र सभामुख कृष्णबहादुर महरालाई प्रयोग गरेर उक्त प्रस्तावलाई रोक्ने काम गरे। त्यस कामको अगुवाइ गर्ने दाहाल र उनका सहयोगी नेताहरु स्वयम् अहिले सत्तारुढ गठबन्धनका प्रमुख हिस्सेदार छन्। त्यसैले एमसीसीमा के गर्ने भन्नेबारेमा उनीहरुले दोहोरो चरित्र देखाउने होइन, अविलम्ब आफ्नो धारणा स्पष्ट गर्नुपर्छ। 

एमसीसी प्रकरणमा दाहालको दोहोरो चरित्र उदांगो भएको छ। देशभित्र आन्तरिक खपतका लागि उनले एमसीसीलाई राष्ट्रवादसँग जोडेका छन् भने अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध बिग्रिन्छ कि भनेर लिखित रुपमै विन्ति बिसाएका छन्। अरुका लागि अत्यन्त आपत्तिजनक र लज्जास्पद काम भए पनि हुन त दाहालका लागि यो कुनै नयाँ काम होइन। यहाँनेर स्मरण गर्नुपर्ने हुन्छ, सन् २००२ मा माओवादीले भारतका विरुद्धमा सुरुङ युद्ध गर्ने भनेर गाउँका आली–गह्राहरुमा खाल्डा खनाइरहेको थियो। ठीक त्यही बेला एसडी मुनिमार्फत भारतीय आन्तरिक गुप्तचर संस्था आइबीको सहयोगमा भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीसमक्ष ‘हामी भारतको खास स्वार्थका विरुद्धमा जाँदैनौँ’ भनेर कबुलियतनामा बुझाएको थियो। दाहालले निर्वाह गरेको यस दोहोरो भूमिकाको उद्घाटन त्यसमा संलग्न प्राध्यापक मुनिले सन् २०१२ मा ‘नेपाल इन ट्रान्जिसन’ पुस्तकमा ‘ब्रिंगिङ द माओइस्ट डाउन फ्रम द हिल्सः इन्डियाज रोल’ शीर्षकबाट गरेका थिए।

यसपटक पनि एमसीसी मुख्यालयलाई शेरबहादुर देउवासँग मिलेर पत्र लेखेको कुरा दाहालले सार्वजनिक गरेका थिएनन्। सुरुमा देउवा स्वयंले संक्षिप्त रुपमा र पछि उनकै सचिवालयले गोप्य रुपमा पत्र सार्वजनिक गरिदिएपछि दाहालको दोहोरो रुपको पटाक्षेप भएको छ। पत्र सार्वजनिक भइसकेपछि त्यसका बारेमा जिम्मेवारी लिनु र आफ्नो दोहोरो चरित्रमा अलिकति भए पनि सुधार ल्याउने कोसिस गर्नुको साटो उल्टै दाहालले देउवालाई फोन गरेर ‘यतिबेलै पत्र किन सार्वजनिक गर्नुपर्यो’ भनेर झगडा गरेका समाचारहरु सार्वजनिक भएका छन्। आफ्ना गलत कामहरुलाई ढाकछोप गर्नका लागि जे पनि गर्न सक्ने चरित्रको अर्को नमुनाका लागि रुपमा यसलाई लिन सकिन्छ।

शेरबहादुर देउवा र पुष्पमकल दाहाल जस्ता अयोग्य नेताहरुको शिकार नेपाल राष्ट्र र नेपाली जनता त भएकै थिए, अन्तर्राष्ट्रिय समुदाय पनि भएको छ। राष्ट्र–राष्ट्रका बीचमा भएका सहमतिहरुको स्वामित्व पनि लिन नसक्ने, त्यसलाई अगाडि नबढाउने भए प्रस्ट रुपमा भन्न पनि नसक्ने अनि अनन्तकालसम्म अल्झाइरहनका लागि दोहोरो चरित्र निर्वाह गर्ने उनीहरुको भूमिकाका बारेमा अन्तर्राष्ट्रिय शक्तिहरु अब त स्पष्ट हुनुपर्ने हो। राष्ट्रपति र संसदबाट होइन, अदालतको परमादेशबाट बनेको सरकार भएका हुनाले जनताप्रति सीधै उत्तरदायित्व नहुने भए पनि नेपालको बैधानिक प्रतिनिधित्व गर्ने भएका कारण राष्ट्रमाथि यति धेरै खेलबाड नगरिदिए हुन्थ्यो।

स्वार्थको गठजोड भएका कारण गठबन्धनमा रहेका दलहरुका बीचमा न मुद्दा मिल्छन् न त उद्देश्य नै मिल्छ। केपी ओलीलाई जसरी पनि हटाउने र एमालेलाई जसरी पनि विभाजन गर्ने मुद्दाबाहेक कांग्रेस र माओवादीका बीचमा कुनै कुरामा पनि मेल देखिँदैन। कुनै बेला टाउकोका मूल्य तोक्ने र तोकिनेहरुबीचको यो साँठगाँठ आफैँमा रहस्यमय र अवसरवादको चरम नमुना त छँदैछ, अन्तर्राष्ट्रिय समुदायका नजरमा नेपाललाई बदनाम गर्नका लागि पनि अतुलनीय बनेको छ। देशभित्र यिनीहरुले निर्लज्ज भएर आँखा चिम्ले पनि अरुले चाहिँ आफ्ना आँखा खुल्लै राखेका हुन्छन् भन्ने हेक्का सम्भवतः यिनीहरुलाई छैन।

प्रधानमन्त्री शेरबहादुर देउवा सुरुदेखि नै एमसीसीका पक्षमा छन् र विपक्षमा रहँदा पनि उनले एमसीसी पारित गराउनका लागि पहल गरेका थिए। र, उनलाई थाहा हुनुपर्ने हो– त्यतिबेला एमसीसीलाई अड्काउने मुख्य पात्र दाहाल नै थिए। तिनै दाहालको निर्णायक सहयोगमा प्रधानमन्त्री भएका देउवाका लागि एमसीसी ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ भएको छ। किनभने, एकातिर उनी जसरी पनि एमसीसी पारित गराउने कसरतमा देखिन्छन् र त्यसका लागि प्रमुख विपक्षी दलसँग समेत सहयोगको आशामा छन् भने अर्कातिर अलिकति जोड गर्ने हो भने आफ्नै सरकार ढल्ला कि भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ। दिशा हराएको जहाज जस्ता प्रधानमन्त्रीको नेतृत्व देशमा जति दिन रहन्छ, त्यति दिन देशको महत्वपूर्ण समय मात्र बर्बाद हुन्छ भन्ने कुरा देउवाले दिनप्रतिदिन प्रमाणित गरिरहेका छन्।

सत्तारुढ गठबन्धन देशका लागि बोझ बनिरहेको एउटा ज्वलन्त प्रकरण एमसीसी पनि हो। सत्तापक्षले आफूले कुनै निर्णय लिन सकेको छैन अनि प्रमुख प्रतिपक्षले एमसीसीमा के गर्छ भन्नेबारेमा सत्तापक्षका नेताहरु प्रश्न गरिरहेका भेटिन्छन्। जबकि, सत्तापक्षसँग प्रतिनिधिसभामा १ सय ६५ मत छ र एमसीसी पारित हुनका लागि १ सय ३६ मत भए पुग्छ। जब सत्तारुढ गठबन्धन कायम छ भने ऊसँग सजिलै एमसीसी पारित गर्ने मत हुन्छ। होइन, प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा बहुमत गुमाइसकेका छन् र उनी आफ्नो प्रस्ताव प्रतिनिधिसभाबाट पारित गराउन सक्दैनन् भने पदमा बसिरहन मिल्दैन।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .