ad ad

विचार


जनस्तरबाट हाकाहाकी ‘अग्नि’ ले ओकलेको आगो

जनस्तरबाट हाकाहाकी ‘अग्नि’ ले ओकलेको आगो

जेवी पुन मगर
असोज १८, २०७९ मंगलबार १६:१०, काठमाडौँ

यसपालिको मदन पुरस्कारसहित देशभरका थप चार साहित्य पुरस्कारबाट विभूषित महाकाव्य ‘अग्नि’ का रचयिता नवराज लम्सालले आफ्ना चर्चित कृतिहरू कर्ण, धरा र अग्निबारे आयोजित विमर्श सत्रहरूमा घरिघरि एउटा दुखेसो गरिरहन्छन्।

उनले स्मरण गराइरहेको ‘वरिष्ठ साहित्यकारहरूले मेरो कृतिलाई टिप्पणीयोग्य नै सम्झिएनन्। कृतिले जे जति चर्चा बटुलेको छ, ती सबै नयाँ पुस्ताका कलमजीवीहरूले चलाएको बहसका कारण बटुलेको छ’ भन्ने टिप्पणीले अक्षरलोकमा पनि संकीर्ण मानसहरूको निकै ठूलो ‘सिन्डिकेट’ रहेछ भन्ने लागिरहेको थियो।

जीवनको उर्वरकाल साहित्यलोकमा ‘नारद’ को भूमिका निर्वाह गर्दैमा समय खर्चिएका श्रमजीवी नवराजलाई ‘वरिष्ठ साहित्यकारहरू’ ले किन अछूत बनाए होलान्? उनको अभिभाषणको अन्तर्य मलाई निकै चिन्तनयोग्य लाग्यो र जिज्ञासा मेट्न एक बसाइमै अग्नि पढिसकाएँ। त्यसको जवाफ अग्निको कथावस्तु र लम्सालभित्र अंकुरण भइरहेको चेतमा पाइँदो रहेछ।

महाभारतकालीन सत्ताको छडी समात्न छाडी सीमान्त पात्र कर्ण (महाकाव्य २०६६) लाई नायकत्व प्रदान गर्न पटुका कसेर लागेका लेखक ततक्षणै धरा (महाकाव्य २०७३) मार्फत नेपाली समाजको बहुसांस्कृतिक जटिलता खोतल्ने प्रयत्न गर्छन् र धरा (धरती) को चरित्रचित्रण यसरी गर्छन् –

लार्के मै हुँ किसान हुँ मगर हुँ माली हुँ घर्ती म हुँ
थारू पश्चिम दाङ वा धनगढी सौका र डोट्याल हुँ

गुप्ता, यादव, झा र राजपुत हुँ डोल्पो र ताङ्वे म हुँ
मै छन्त्याल कुमाल झाँगड दुरा बोटे र भोटे म हुँ
(देशको अनुहार)

साहित्यलोकमा आवाजले चर्चित उनै श्रष्टा ठूलो जनघनत्व ओगट्ने सीमान्त समुदायको वाणी बन्दै २०७८ मा पुनः आरन (अग्नि, महाकाव्य) को दमदार कथावाचनसहित पाठकसमक्ष आइपुग्छन्। आफूलाई सिर्जनशीलताको प्राधिकार ठान्ने परम्परागत मठाधीशहरूका निम्ति नवराजको यो स्वरूप स्वागतयोग्य किन थिएन होला भने विचार निर्माणको मुक्त आकाशमा उडान भर्न खोजिरहेका, जनस्तरमा जोडिन खोजिरहेका यी स्रष्टा परम्पराको भारीले थिचिएका थिएनन्। मठाधीशहरूको पारो तताउनेगरी नवराजले ‘अग्नि’को प्रस्तावनामै दिएको यस्तो हाँकले त्यसको पुष्टि गर्छ। नपत्याए तलका वाक्यांश गम्नोस् त –

कहीँ कतै कुनै भ्रम नहोस्
म बाहुन हुँ
यो जन्मजात आएको जातीय कोट हो
मलाई मान्छे हुन रोकेको दिन
यो कोट फुकाल्न सक्छु, फुकाल्छु

निष्ठापूर्वक भन्छु,
म पुरेतको रगत हुँ
यो संस्कारगत पेसा हो
मलाई मान्छे हुन रोकेको दिन
यो पेसा बदल्न सक्छु, बदल्छु

व्यक्तिको व्यक्तित्वले यत्रो विराट वाणी प्रशोधन गर्ने क्षमता रातारात बनाउन सम्भव हुँदैन। त्यसमाथि बोधगम्य ज्ञानको आलोकमा सीमान्तको साथ लागि तिनको मुक्ति गीत गाउनु त झन् सानोतिनो आँटले पुग्दैन। लेखकले त्यही दुस्साहस गरेका कारण नै उनलाई साहित्यलोकमा अपृश्य (शूद्र, अछुत) बनाइएको हुनुपर्छ। किनकि उनी हाकाहाकी बोल्छन् –

म हिन्दू हुँ
यो विश्वास हो, आस्था हो
मलाई मान्छे हुन रोकेको दिन
यो विश्वास बदल्न सक्छु, बदल्छु

वेदान्त अभ्यास 
संस्कृत पाठशालाबाट दीक्षित र सनातन धर्म ग्रन्थहरूका पाठबाट ज्ञानको दायरा फराकिलो बनाइरहेका लेखक नवराज लम्साल जात, धर्म, लिंग, वर्ग र भूगोलको परिधि फड्किएर मानव बन्न उत्प्रेरित गर्ने वेदान्त दर्शनबाट निकै प्रभावित देखिन्छन्। कुनै समय भारतीय उपमहाद्विप हुँदै विश्वभर फैलिएको वेदान्त दर्शनको मूलभूत शिक्षा हिन्दुत्व राजनीतिको संकीर्ण व्यूहमा फस्दै गएपछि कालान्तरमा त्यसले मानव मुक्ति नभई समाज विभाजन गराउनतर्फ जोडबल गर्न थाल्यो। धर्मका नाममा विषाक्त शिक्षा बाँड्न थालियो र एउटा निश्चित जाति र वर्गको पक्षपोषण गर्न लेखिएका वेदले नचिन्ने स्मृति र पुराणका कथावाचन भट्याउन थालियो। 

त्यस कर्ममा लोभी र अर्धशिक्षित पण्डा पुरोहितहरू खुलेरै संलग्न भए। वेदान्त दर्शनले ब्रह्मत्व अभ्यास गर्ने कर्मयोगी मानसलाई ससम्मान पुकार्ने ‘ब्राह्मण’ पदवीलाई समेत केही चतुर गोत्रधारीले जन्म र धर्मसँग जोडेर अन्य जातिमाथि शासन गर्ने स्वार्थी राजनीतिको सुरुआत गरे। धर्मग्रन्थका खास्टो ओढाई शूद्रका नाममा मान्छेलाई छोइन नहुने जातमा वर्गीकरण गर्दै पशुवत् व्यवहार गर्न थाले। राज्य र सामाजिक डण्डा लगाई तिनलाई वेद पढ्न कडाइका साथ नियमन गर्न थालियो।

यो विचारको उद्भवथलो भारतमा यस्तो राजनीति ४० को दशकदेखि राष्ट्रिय स्वंयसेवक संघको ‘पुणे केन्द्र’बाट उत्पादित नरेन्द्र मोदी र आदित्यनाथहरू जस्ता पात्रहरूमार्फत राज्यस्तरबाटै समाजको तहतहमा फैलाइँदै छ। अहिले त्यहाँ हिन्दुत्व वैचारिकीको आरनबाट निस्किएको तथाकथित धर्मराज्यले ठूलो त्रासदी फैलाइरहेको छ र त्यस्तो विषाक्त हावा बिस्तारै देवभूमि हिमवतखण्डतर्फ पनि उक्लन सुरु भइसकेको छ।  

लेखक यस्तो भ्रष्टीकरणलाई चिर्दै वैदिक ज्ञान पुर्नर्जीवित गराउने अभियानमा बौद्धिक योगदान दिन प्रयत्नशील देखिन्छन्। त्यसैले नवराज चर्तुवर्ण–व्यवस्थाका नाममा लादिएको जातीय उचनिच सनातन धर्मको मूल ग्रन्थ वेदमा नरहेको दृष्टान्टसहित छूवाछूतविरुद्ध प्रहार गर्दै लेख्छन् – 

वेदले कहाँ भन्यो छूत, अछूत?
कुन भगवानले कहिले भने
कसको घरमा आउँछु, कसको घरमा आउन्न?
कहिले भने कसको पूजा खान्छु, कसको खान्न?
को हो त्यो सुन्ने? सप्रमाण लेख्नुस्

वैदिक ज्ञानको सर्वाेच्च शिखर वेदान्त अर्थात् उपनिषदहरू नभई पुराण र स्मृतिका टीकाहरू घोकेर दीक्षित धर्मगुरुकै कारण तिनले समाजलाई पनि विषाक्त शिक्षामा अल्झाइरहेका छन्। त्यस्तो शिक्षादीक्षाले उत्पादन गरेको जातीय छूवाछूतजस्तो अमानवीय प्रथाले वैधानिकता पाएकोमा लेखक रुष्ट देखिन्छन्। उनी तर्क दिन्छन् –

रत्नाकर डाँकु हुन् 
उनी वाल्मीकि भए, आदिकवि भए संस्कृतका
वाल्मीकिलाई अर्ध चढाउनु र पुज्नुअघि सम्झनू
रत्नाकर शुद्र थिए,
तर ती शुद्र कसरी पृश्य भए? 
कसरी आदरणीय भए? पूज्य भए? 
लेख्नुस, जात ठूलो कि कर्म ठूलो? 
....
एक साधारण माझी पुत्री हुन्
वेदका रचयिता व्यासकी आमा–मत्स्यगन्धा 
नदी किनारमा 
यही हो अपृश्यहरूको नियति
ऋषि पराशरले उनलाई सुटुक्क सम्भोग गरेका हुन्
व्यासको जात के हो? लेख्नुस्
र लेख्नुस् वेदका ऋचा छूत कि अछूत?

अमानवीयताविरुद्ध प्रतिरोध
सिरानमा उल्लेख गरिएझैँ आधुनिक युगका इन्जिनियर, फेसन डिजाइनर, वैज्ञानिक ज्ञान र सीप धारण गरेका एउटा ठूलो वर्गलाई स्वार्थी पण्डाहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका निम्ति अपृश्य (अछूत) घोषणा गर्दै सीमान्तकरण गर्न थालेपछि भारतीय उपमहाद्वीपमा ‘हिन्दूधर्म’ एउटा ठूलो धन्दा हुन गयो। त्यो स्वार्थी धन्दाले समाजको उर्वर श्रम र सीपलाई पक्षाघात गराउने काम गर्यो। यस्तो विषाक्त हावामा निसासिएको भारतखण्ड लामो कालखण्डसम्म मानसिक र भौतिक दासताको जञ्जालमा फसिरह्यो। त्यो समाज अझै त्यसबाट उम्किन सकिरहेको छैन। उपनिषदका पानामा घोत्लिन थालेका लेखकलाई विभेद प्राधान्य यस्तो वातावरणले निकै उकुसमुकुस पारेको महसुस हुन्छ । उनी भन्छन् –

कसले बनायो 
शिवको डमरु? शिवकै त्रिशूल? 
कसले बनायो 
कृष्णको सुदर्शन?

कसले बनायो 
शंख, चक्र, गदा र पद्य?
कसले बनायो
गदा, त्रिशूल र धनुषकाण?

कसले सिँगार्‍यो – देउताको स्वर्ग?
कसले बनायो विष्णुको बैकुण्ठ?
कसले बनायो रावणको स्वर्णलंका?
कसले बनायो कृष्णको द्वारिका?

कसले बनायो 
चोकचोकमा चर्च
मैदानमैदानमा मस्जिद
र घण्टाघरको ट्वाङट्वाङ गर्ने घण्ट 

कलम हातमा हुनेहरूले यसरी सभ्यता निर्माण गरिरहेका कथित अपृश्य समुदायका कथावाचन इतिहासको चिहानघाटमा दबाइदिएपछि कसरी बोध गर्छ समाजले श्रमको मूल्य? कसरी आर्जन गर्छ राष्ट्रले उन्नत सभ्यता? अनि त्यस्तो राज्यले कसरी कोर्छ वैज्ञानिक शिक्षा–नीति? आरनबाट खारिएर आउनुपर्ने शिक्षा–नीति घोकन्ते कण्ठबाट आएपछि कस्तो जनशक्ति उत्पादन होला? लेखकका यथार्थपरक कटाक्ष बोधगम्य छन् – 

फलाम विज्ञ आरन बुझ्दैन
कृषि विज्ञ धान बुझ्दैन
शिक्षाविज्ञ स्कुल चिन्दैन
वनस्पतिविज्ञ रुख चिन्दैन
माटोविज्ञ माटो छुँदैन
यो कागजी बाघहरू जो छन्
उनीहरू आफैँ विज्ञ, आफैँ योजनाविद् 

श्रमको अवमूल्यन हुनेगरी उत्पादन गरिएका इतिहास लेखनका पोथाबाट वाक्क–दिक्क लेखक आफ्नो आस्थालाई बिग्रन नदिईकन शास्त्रबाटै त्यसलाई सच्याउन आग्रह गर्छन्। उनका कतिपय आग्रह भावातीत लागे पनि ती तर्कयोग्य मात्र नभई न्यायोचितसमेत छन्। किनकि उनको तर्कभित्र सयौं वर्षदेखि दलनमा पारिएका बहुसंख्यक शिल्पीहरूको पक्षधरता छ, तिनका वाणी अन्तर्निहित छन्। त्यसैले इतिहासमा नियोजित रूपमा गरिएको गल्ती सच्याउन लेखकले गरेको गम्भीर प्रश्न चेतपूर्ण लाग्छ –

इतिहास कसको पोल्टामा छ?
ककसको नाममा छ?
र, को हो खाँटी लेखक, खाँटी इतिहासकार?
इतिहासमै सच्याउनु छ इतिहासको गल्ती
र, नयाँ इतिहास लेख्नु छ समयको 

इतिहासको रफु भराई
इतिहासको पानाबाट गोरखा राज्य विस्तारमा लाग्ने खर्च जोहो गर्न बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई दिएको सल्लाह, सहयोग र जसवीर कामीहरूको आरनबाट निस्किएका राज्यहरू जित्ने शस्त्रगानलाई इतिहासको पानाबाट मेटाइदिएपछि नेपाल एकीकरणको वीरगाथा अपूर्ण हुन गयो। यो संयोग मात्र नभई इतिहासकै पुनरावृति थियो। अहिलेको नेपाली भूगोलले यो स्वरूप धारण गर्न पृथ्वीनारायणहरूको नेतृत्वमा निरन्तर सवा सय वर्ष सशस्त्र युद्धको मोर्चामा केही ‘लडाकु जाति’ देखिए होलान्, तर तिनको हातहातमा अस्त्र पुर्याउने जसवीर कामी र अग्निका नायक ठूले कामीहरू नै थिए। खै तिनका गौरवगाथा?

जसवीरहरूका आरनमा उत्पादित शस्त्रले नपुगेपछि २००७ सालमा मुक्ति सेनालाई दक्षिणी सीमाबाट हतियार बोकी ल्याइदिने भारतीय स्वतन्त्रता सेनानीसमेत रहेका डीबी परियारहरू इतिहासको पानामा च्यापिएर छटपटाइरहेका होलान्।

कांग्रेसको जनकपुर महाधिवेशनबाट निर्वाचित सभापति बीपी कोइरालासँगै महामन्त्री छानिएका धनमानसिंह परियारको गर्विलो इतिहास मनुस्मृतिकृत चतुर्वर्णे व्यवस्थाभित्र विलुप्त बनाइदिनेहरूसँग तिनका सन्ततिले हिसाबकिताब मागे के दिने? 

प्रचण्ड र बाबुरामहरूलाई सिंहदरबार छिराउन हतियारयुक्त सुरक्षाकर्मीहरूसँग भिड्न जाँदा मारिने कक्षा ४ मा अध्ययनरत गोरखाका दिलबहादुर रम्तेललाई माओवादी जनयुद्धको पहिलो सहिदको दर्जा हासिल छ। त्यो युद्धका नायकमध्येका एक तिलक परियारकै नोटमा जनयुद्धको उद्भवथलो रोल्पामा ६१ र रुकुममा ७० जना दलितले क्रान्तिका नाममा देह उत्सर्ग गरे। त्यसैगरी माओवादी प्रभाव क्षेत्र कालिकोटमा १०४, दाङमा ३४, जाजरकोटमा ५०, बाजुरामा ५६ र बाग्लुङमा ३८ जना सीमान्त दलित एउटा खास लक्ष्यका लागि मारिएका छन्।

माओवादीले दलितलाई संगठित गर्न बनाएको दलित मुक्ति मोर्चाका योजनाकार तथा नेता परियारको तथ्यांकमा देशका ७३ वटा जिल्लामा १ हजार १ सय ५ जना दलित युवाको ज्यान हरण भएको छ। अस्तित्वबोधसहितको प्रतिरोधी संघर्षमा सदा अग्रणी भूमिकामा देखिएका इतिहासका शूद्र र आजका दलितहरू कहिल्यै कलमजीवीहरूका विषयसूचीभित्र समेटिँदैनन्। लेखक त्यही त्रुटि सच्याउने प्रयत्नमा छन्। माओवादी युद्धको कथा उनी यसरी लेख्छन्–

जीवनको 
अमर अस्तित्व खोज्न हिँडेकाहरू पनि
कोही मारिएको सुन्छु
कोही हराएको
समयको नदी तरेर 
मुक्तिको मुहान खोज्न गएकाहरू पनि 
कोही बगाइएको सुन्छु
कोही डुबाइएको

कलम हातमा हुने मुठ्ठीभर पात्र र तिनको मगजलाई निर्देशन र नियन्त्रण गर्ने सत्ताले अहिलेसम्म पढाइरहेको अपूर्ण कथावाचनलाई सच्याउन चाहन्छन् – कवि मनका लेखक नवराज। त्यसैले इतिहासको पानाभित्र प्रविष्ट भई छिपाइएका–दबाइएका पात्रहरूका सत्यतथ्य कथा वाचन गर्न आतुर लेखक कथाका पात्र छेलाङी विश्वकर्मासामु यसरी जिरह गर्छन् –

हिँड्नु हिँड्यौँ तर कहीँ पुगिएन
अब तपार्ईंकै गोडाले हिँड्न चाहन्छु
आजसम्म नहिँडिएको अक्षरबाटो
र दिलको दियालो बनाउन चाहन्छु दाजै,
यै आरनको उज्यालो

शताब्दियौंदेखि परम्परागत ज्ञान र कौशलले उन्नत समाज निर्माण गर्न योगदान दिइरहेका ‘सोसल इन्जिनियर’हरूलाई बदलामा धर्मको नाममा सामाजिक बहिष्करणमा पारी शुद्र (अछूत÷दलित) बनाइराख्ने सत्ता–राजनीतिबाट आहत छेलाङी विश्वकर्माको मुखारबिन्दबाट निस्कने जवाफ पनि मुखभरिको हुन्छ। उनी जवाफ फर्काउँछन् –

छिनाउनुस् वा नछिनाउनुस्
जातमा बाँधिएको छ तपार्ईंको कलम 
उधार्नुस् वा नउधार्नुस्
धर्ममा ढाकिएको छ तपार्ईंको कलम 
लेख्नुस् वा नलेख्नुस्
स्वार्थमा समेटिएको छ तपाईंको कलम
सच्चिनुस् वा नसच्चिनुस्
सत्तासँग सौदाबाजी गर्छ तपाईंको कलम 
मान्नुस् वा नमान्नुस्
दलसँग लेनदेन र व्यापारीसँग विनियम गर्छ तपाईंको कलम
भन्नुस् कविजी,
आफैँ पराधीनहरू कसरी गर्छन् स्वतन्त्रताको वकालत? 

प्रायश्चितको वर्णविन्यास
हेमकर्ण, पृथ्वीनारायण, बीपी, प्रचण्ड, ओली र बाबुराम, उपेन्द्रहरूलाई सिंहासनमा चढाउने आरन अहिलेसम्म गुनासो मात्र गरिबस्दो छ, तर त्यसको अर्थ त्यो खरानीमा परिणत भएको छ भन्ने होइन। त्यो भुंग्रोले शनैः शनैः रंगीन आकार लिँदो छ – जसलाई नवराजले देख्न भ्याएकाले उनले अग्निमा यसरी शब्द दिएका छन् –

हरेक पुस्ताको लडाइँमा 
विजयीश्री शासककै हातमा परेको छ
हामी हतियार बनाउँछौं
र हतियारै भइरहन्छौं सत्ताको
आवश्यक परे सम्झन्छन्, नपरे बिर्सन्छन्

हेमकर्ण सेन र पृथ्वीनारायण शाहको राज्य विस्तारमा उपयोग भएका ठूले कामीको आरनबाट निस्किएको एकजोर ‘जेठी तरबार’ को सौर्य इतिहासले वर्णन गरिसकेको छ। हजारौं वर्षदेखि ती तरबार पाक्ने आरनका भुंग्रोमा अझै पनि जसवीर र ठूले कामीहरू कालो फलाम रातो बनाइरहेका छन्। सहभोज, पशुपति, गोरखकाली, सिद्धकाली मन्दिर प्रवेश, सिनो बहिष्कार, दूध भराउ संघर्ष, सिंहदरबार घेराउजस्ता सामाजिक–राजनीतिक आरनमा तिनले कालो फलाम (सत्ता) लाई रातो (अधिकार र समानता) बनाउन अहोरात्र खटिरहेका छन्। सदा सत्ता पल्टाउन उपयोग हुने ठूले कामीहरू आधुनिक नेपालमा पनि डीबी परियारकै स्वरूपमा फेरिए पनि पुरानै नियति भोगिरहेका छन्। २००७ सालको क्रान्तिका नायकद्वय डीबी परियार र धनमानसिंह परियारहरू २०१६ सालसम्म आइपुग्दा नेपाली कांग्रेसको दुईतिहाइ सरकारमा कतै भेटिँदैनन्। 

एघार सय जनाको सहादतपछि बनेको संविधानसभामा पुगेका ५१ जना ठूले कामीहरू दोस्रो संविधानसभामा आइपुग्दा ४० जनामा झरिसकेका थिए। अहिले त्यो संख्या झन् संकुचन (प्रतिनिधिसभामा १९ र प्रदेशसभामा ३३ जना) भएको छ। तिनै बढी बलात्कारमा पर्ने, राज्यको गोलीले तिनै बढी मारिने र तिनैलाई बोक्सीको नाममा मलमूत्र कोच्याइने – यही हो अपृश्यहरूको साझा नियति। ब्रह्म–चेत अंकुरण हुँदै गइरहेको नवराजकै लयमा ‘पहाडे पुरुष बाहुन लेखक’ ले सत्तासीन आफ्ना सगोत्री समुदायलाई समाजको ऐनामा धमिलो गरी देखिने यही पाटोलाई पुछपाछ गरेर देखाउन अग्नि लेखेका हुन्। 

यो लेखन उनको आफ्नो समुदायलाई कुनै बेला डोरबहादुर विष्टले देखाएझैँ आगोसँग नखेल्न दिइएको गतिलो खबरदारी पनि हो। साथै इतिहासको निर्मम आत्मसमीक्षासहितको भूलसुधारको प्रायश्चित पनि हो। 

हो, अहिले आरनमा ठूले कामीहरूको नियन्त्रण छैन तर अंकुरण हुँदै गइरहेको चेतले तिनलाई आरनको स्वामित्व लिन उद्वेलित गराइरहेको देखिन्छ। आरन अर्थात् आगोको स्वामित्व। त्यसैले ठूले कामीका सन्तति छेलाङी विश्वकर्मा आरनबाटै मृदुभाषामा कठोर चेतावनी दिँदै बोल्छन्–

अधिकारको झण्डा
मूल बाटोमा परेको दिन
हामी आफैँ लेख्छौँ आफ्नो कथा
र टाढा–टाढासम्म सुनिने गरी
हामी आफैँ गाउँछौ आफ्नो मुक्तिको गीत 

सायद छेलाङीले सुदूर भविष्यको सत्ता–परिणति भाँपेर हो वा अर्के कुनै कारण उनको मुखारबिन्दबाट यस्तो चिन्ता निस्कन्छ – 

मान्छेले किन नबुझेको? आगो हो सर्वाेच्च सत्ता! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .