ad ad

विचार


सूर्यबहादुर थापाको निष्कर्ष : ज्ञानेन्द्रको तीन आत्मघाती कदमले गयो राजतन्त्र

सूर्यबहादुर थापाको निष्कर्ष : ज्ञानेन्द्रको तीन आत्मघाती कदमले गयो राजतन्त्र

विष्णु रिजाल
असोज २०, २०७९ बिहिबार १८:१७, काठमाडौँ

नेपालको राजनाीतिमा सबभन्दा लामो समय सत्ता र चर्चाको वरपर रहेका सूर्यबहादुर थापा राजाको प्रत्यक्ष शासनदेखि गणतन्त्रसम्मका अनेक घटनाक्रमका साक्षी मात्र रहेनन्, त्यसका एक सक्रिय पात्रका रुपमा जीवन बिताएर सात बर्षअघि विदा भए। उनका बारेमा सुनिएका, भनिएका र देखिएका कुराबाहेक उनी आफैँ चाहिँ के कसरी सोच्दा र बुझ्दा रहेछन् भन्ने विवरणसहित हालै ‘मेरा नौ दशक’ पुस्तक प्रकाशित भएको छ।

कहिलेकाहीँ आफ्ना मन्तव्य मस्यौदा गर्नुबाहेक अरु लेखनमा आफ्नो रुचि नभएको नराख्ने थापाले बोलेका कुरालाई लेखन र सम्पादन गरेर पुस्तकका रुपमा प्रकाशित गरिएकाले निजात्मक लेखन जस्तो मिठास नभए पनि कतिपय सुनिएका र जानिएका कुराहरुसमेत एक भुक्तभोगी र आधिकारिक पात्रका मुखबाट आएका कारण स्वाभाविक रुपमा तिनले महत्व राख्दछन्।

दरबारलाई राम्ररी बुझेका र रिझाउन सक्ने खुबी भएका सूर्यबहादुर थापा अरु दरबारिया राजनीतिज्ञभन्दा एक अर्थमा फरक थिए र त्यो फरकलाई उनले महत्वका साथ सार्वजनिक गर्न चाहेका छन्। किनभने, उनी बेलाबेलामा दरबारलाई घुक्र्याउन र धम्क्याउन सक्दथे। त्यसभन्दा थप उनले निर्दलीय व्यवस्था पनि जनताका बीचमा बलियो राजनीतिकर्मीको रुपमा पकड बनाएका थिए र पञ्चायतभित्रै आफ्नो बलियो समूह बनाएका थिए।

२० को दशकको आरम्भमा दरबारले आफूलाई डा. तुल्सी गिरीको विकल्पका रुपमा विकास गरेको कुरा पछि मात्र थाहा पाएका थापाले ४० को दशकमा आफ्नो विकल्पका रुपमा लोकेन्द्रबहादुर चन्दलाई विकास गरिएको कुरा चाहिँ तत्कालै थाहा पाएका रहेछन्। आफैँले अघि सारेको भए पनि दरबारले एउटै व्यक्तिलाई बलियो हुन नदिने, आफैँले विकास गरेका पात्रसँग पनि त्रस्त हुने र एउटाका विकल्पमा एकपछि अर्को मानिस तयार गरेर प्रयोग गर्ने गरेको आफ्नो अनुभव उनले बाँडेका छन्। सायद, पञ्चायतकालीन अरु राजनीतिज्ञहरुका अनुभवहरु पनि यसभन्दा भिन्न नहोलान्।

पाँच व्यवस्था देखेका, पाँच राजासँग काम गरेका र पाँच पटक प्रधानमन्त्री भएका थापाले आफ्नो जीवनलाई सामान्य र सरल तरिकाले व्याख्या गर्न चाहेका छन्। पुस्तकमा मूल रुपमा अनुभवहरु भएकाले तिनको सम्बन्ध स्वाभाविक रुपमा व्यक्तिको भोगाइसँग हुन्छ नै तथापि कतिपय राष्ट्रिय सन्दर्भहरुमा आफूमाथि लागेका आरोपहरुको खण्डन गर्नमा समय खर्चेका छन्।

जनमतसंग्रहमा पञ्चायतलाई जिताउनका लागि सर्पको छाला तस्करी खुल्ला गरेको र नेपालको वन फँडानी गरेको कुरालाई उनले पूर्ण रुपमा अस्वीकार गर्न सकेका छैनन् र त्यसका बारेमा आफ्नो तर्फबाट सफाइ दिने कोसिस गरेका छन्। पञ्चायतलाई जिताउनका लागि पैसा आवश्यक रहेको र राज्यकोषबाट एक पैसा पनि खर्च नगरेको उल्लेख गर्दै उनले आवश्यक पैसा उद्योगी–व्यापारीबाट असुल गरेको उल्लेख गरिरहँदा त्यसका पछाडि उनीहरुले के कस्तो सहुलियत पाए भन्ने कुरा पनि स्वाभाविक रुपमा आउँछ।

सूर्यबहादुर थापाको सबभन्दा जटिल सम्बन्ध वीपी कोइरालासँग रहेको देखिन्छ। वीपी कोइराला र सूर्यबहादुर थापाको राजनीति सधैँ दुई धारमा हिँडिरह्यो र वीपीले माग गरेको बहुदललाई जनमतसंग्रहका माध्यमबाट परास्त गर्नका लागि नै सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइएको तथ्य इतिहासमा सुरक्षित छ। यसका बावजुद पुस्तकमा चाहिँ वीपीप्रति सूर्यबहादुर थापा ज्यादै नरम, प्रशंसक र सहयोगी भेटिन्छन्। वीपीलाई जेलबाट छुटाउनका लागि आफूले राजालाई सहमत गराएको र प्रजातन्त्र घोषणा गर्नका लागि राजालाई बारम्बार भनेको कुरा थापाले थुप्रै प्रसंगमा दोहोर्याए पनि इतिहासको अभिलेखले त्यस्तो स्वीकार गर्दैन। ‘वीपीलाई फासी दिनुपर्छ‘ भन्ने धारणाबाट वीपीको प्रशंसाका शब्द सार्वजनिक गर्दासम्म आइपुग्नुका पछाडि त्यतिबेलाको तथ्यले होइन, अहिलेको राजनीतिक वातावरणले बढी काम गरेको हो कि भन्ने प्रतीत हुन्छ।

निःसन्देह सूर्यबहादुर थापा दरबारले हुर्काएका र दरबारले अघि बढाएका पात्र हुन्। तर, दरबारसँग नै उनका अनेक गुनासा देखिन्छन्। राजालाई भन्दा पनि राजाका वरिपरि रहेका भाइभारदार, सचिव र संयन्त्रप्रति उनले लगातार रुपमा आलोचना गरेका छन्। राजाले प्रधानमन्त्री नियुक्त गरेपछि कतिबेला हटाउँछन् भन्ने त्रासमा काम गर्नुपरेको अनुभव विभिन्न प्रसंगमा बाँड्दै थापाले आफ्नो व्यक्तित्व माथि उठ्छ भनेर राजाको कान भरिएका कारण आफूलाई बेलाबेलामा दरबारले ‘साइज’मा राखेको उल्लेख गरेका छन्।

जनमतसंग्रहलाई जिताएर पुनः प्रधानमन्त्री भएको दुई बर्षमै २०४० सालमा राजाले हटाउन खोज्दा दरबारको यही शैलीलाई चुनौती दिनका लागि आफूले राष्ट्रिय पञ्चायतबाट अविश्वास प्रस्तावमार्फत् हट्न चाहेको प्रसंगलाई उनले विशेष महत्वका साथ उल्लेख गरेका छन्। आफूले राजालाई भनेको वाक्य उनी सम्झिन्छन्, ‘सरकार, म त क्षेत्रीको बच्चा हुँ। अविश्वासको प्रस्ताव दर्ता भएको हुँदा मैले राजीनामा गरेँ भने त डराएर भागेको ठहर्छ। ... म हार्दिन्छु तर जस्केलाबाट निस्किन चाहन्न। म मूल ढोकाबाट पस्या हुँ, मूल ढोकाबाटै निस्किन्छु।’

राजाको एकल शासनकालमा समेत कुनै प्रधानमन्त्रीले पाँच बर्षको पूरा कार्यकाल काम गर्न नपाएको अवस्था हेर्दा नेपालमा राजनीतिक स्थिरता किन हुँदैन भन्ने प्रश्न उठ्छ। सूर्यबहादुर थापालाई हटाउन खोज्ने बेलामा राजाले भनेको कुरालाई उनले यसरी सम्झेका छन्ः ‘पीएम, सरकार बनेको दुई बर्षसम्म मन पराउँदारहेछन्। दुई बर्षपछि रुचाउँदा रहेनछन्, हैन?’

सम्भवतः यही मानसिकताले अहिलेसम्म पनि काम गरेको छ र कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न पाएको छैन।

पञ्चायती व्यवस्थाको संस्थापक, सञ्चालक र पालकमध्येका मुख्य एक पात्र हुँदाहुँदै पनि दरबारसँगको मनमुटावका कारण आफूलाई थुनामा राखिएको र १० बर्षसम्म सत्ताबाहिर रहनुपरेको विषय पुस्तकमा उल्लेख छ। पञ्चायतकालमा राजालाई सीधै होइन, उनका वरिपरि बस्नेहरुको आलोचना गरेर चित्त बुझाउने चलन पछ्याउँदै उनले तिनीहरुको आलोचना गरेका छन् र आफूले किन ‘भूमिगत गिरोह’ भनेँ भन्ने विवरण पनि उल्लेख गरेका छन्।

२०१७ सालमा संसदीय प्रजातन्त्रको अन्त्य गरी राजाको निरंकुश शासन लागू गर्न निर्णायक भूमिका निर्वाह गर्नेमध्येका एक सूर्यबहादुर थापाले पञ्चायत व्यवस्थाभित्रका आफ्ना सहकर्मीहरुका बारेमा मुख खोलेर मूल्यांकन गरेका छन्। दुई राजाको तुलनात्मक टिप्पणी गरेका छन् भने पञ्चायतकी आमा उपनामबाट चिनिने डा. तुल्सी गिरीलाई सुरुदेखि अन्त्यसम्म अनुदारवादी पञ्चका रुपमा चित्रण गर्दै विभिन्न प्रकरणमा आलोचना गरेका छन्। उनका बारेमा सूर्यबहादुर लेख्छन्, ‘तर्कशक्तिका मामिलामा डा. गिरी निकै अगाडि थिए। तर्ककै आधारमा एकैछिनमा कालोलाई सेतो र सेतोलाई कालोमा परिणत गर्न सक्ने खुबी उनमा थियो। ... उनको सामुन्ने दह्रो मुटु भएको मानिस मात्र अड्न सक्थ्यो, नत्र सहमत हुन बाध्य हुन्थ्यो। व्यक्तिगत रुपमा असल साथी हुँदाहुँदै पनि उनीसँग मेरो सधैँभरि राजनाीतिक रुपले मतभेद रह्यो।’

कीर्तिनिधि विष्टलाई मनका सफा मानिस भए पनि आफ्नो बचन तुरुन्तै फेर्न सक्ने र अन्ततः अनुदारवादीहरुकै योजनामा काम गर्ने पात्रका रुपमा चित्रित गरेका छन् भने विश्ववन्धु थापालाई चाहिँ पञ्चायतभित्र प्रवेश गरे पनि बहुदलको वकालत गरिरहने अस्थिर राजनाीतिज्ञका रुपमा विश्लेषण गरेका छन्।

सूर्यबहादुर थापाले पञ्चहरुलाई उदार र अनुदार कित्तामा विभाजन गरेर आफूलाई पञ्चायतको सुधार गर्नुपर्ने पक्षमा उभ्याउँदै उदारवादी पञ्चका रुपमा व्याख्या गरेका छन्। नेपाली कांग्रेससँग निकट सम्बन्ध राख्नुपर्छ र वीपी कोइरालासँगको सम्बन्ध सुधार गर्नुपर्छ भनेर आफूले सधैँभरि राजालाई सल्लाह दिएका अनेक दलील पेस गर्दै उनले कम्युनिस्टहरुप्रति चाहिँ आफू सुरुदेखि नै नकारात्मक रहेको र कम्युनिस्टहरुकै कारण नेपालमा राजतन्त्र समाप्त भएको विश्लेषण गरेका छन्।

आफ्नै पहलमा गिरिजाप्रसाद कोइरालालाई राजासँग भेटाएको, सुवर्ण शमशेरलाई स्वदेश फर्काएको र राजासँग सहकार्यका लागि तयार पारेको, वीपीलाई उपचारका लागि अमेरिका जाने व्यवस्था मिलाएको, परशुनारायण चौधरीलाई पञ्चायतमा प्रवेश गराएको जस्ता विषयहरुबाट आफूलाई उनले उदारवादी र कांग्रेससँग सहानुभूति राख्ने पञ्चका रुपमा प्रस्तुत गर्न खोजेका छन्। यसमा कति सत्यता छ, त्यतिबेला पार्टीमा काम गर्ने कांग्रेसका नेताहरुले बढी बताउन सक्लान्। तर, एउटा यथार्थ के हो भने सूर्यबहादुर थापाबाहेक अर्को कुनै प्रधानमन्त्री भएको भए सम्भवतः २०३७ सालको जनमतसंग्रहमा चार लाख मत कम पारेर बहुदललाई हराउन सक्ने थिएन।

राजा महेन्द्र र वीरेन्द्र दुबैले चीन र भारतलाई सन्तुलनमा राख्न वा खुसी पार्न पञ्चायती नेताहरुलाई कार्डका रुपमा प्रयोग गर्दथे भन्ने कुरा नयाँ भएन। दक्षिणलाई खुसी पार्नका लागि प्रयोग हुने पात्रका रुपमा परिचित सूर्यबहादुर थापाले भारतसँगको सम्बन्धलाई सधैँभरि उच्च प्राथमिकतामा राखेको पाइन्छ। इन्दिरा गान्धीसँगको व्यक्तिगत सम्बन्धदेखि राजाले अनावश्यक रुपमा भारतलाई चिढ्याएका प्रसंगहरु थापाले अघि सारेका छन्। तर, अरु प्रसंगहरुमा झैँ यस प्रसंगमा उनी त्यति धेरै खुलेको पाइँदैन।

नेपालबाट राजतन्त्र विदा हुनुमा राजा ज्ञानेन्द्रका आत्मघाती कदमहरुलाई सूर्यबहादुर थापाले मुख्य जिम्मेवार ठहर्याएका छन्। एकपछि अर्को गर्दै ज्ञानेन्द्रले चालेका गलत कदमहरुका कारण संसदवादी दल र माओवादीहरु एक ठाउँमा उभिन पुगेको, विना सोचविचार चीनलाई सार्कमा सामेल गर्ने प्रस्ताव गर्दा भारत चिढिएको र प्रजातन्त्र अपहरण गर्दा पश्चिमा शक्तिहरु पनि अप्रसन्न रहेको अवस्थालाई विश्लेषण गर्दै यी सबै काम ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष उनले निकालेका छन्। यदि राजा संविधानको परिधिभित्र मात्रै बसेको भए कुनै न कुनै रुपमा उनको स्थान सुरक्षित रहन्थ्यो भन्नेमा सम्भवतः धेरैको फरक मत छैन। दरबारले हुर्काएका र विश्वास गरेका राजनीतिज्ञहरुले नै यस्तो भन्ने अवस्थासम्म आइपुग्दा पनि ज्ञानेन्द्रले नचेत्नुका पछाडि कुन मनोविज्ञान र विश्लेषणले काम गरेको होला भन्ने प्रश्न उठ्छ।

२०४६ सालको परिवर्तनपछि अपमान महसुस गरेका र राजनीति नै छाडिदिऊँ कि भन्ने मनस्थितिमा पुगेका सूर्यबहादुर थापाले बहुदलीय व्यवस्थामा २०५४ मा प्रधानमन्त्री हुनुलाई आफ्नो ठूलो सफलता ठानेका छन्। वास्तवमा परिवर्तन पक्षधर शक्तिहरुको यो ठूलो असफलता थियो र नेपालमा बहुदलीय व्यवस्था असफल हुने एउटा कारक थियो। सात–आठ वर्षअघि भएको परिवर्तनलाई बिर्सेर नेकपा (एमाले) र नेपाली कांग्रेसजस्ता परिवर्तनको नेतृत्व गरेका दलहरुले क्रमशः लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा जस्ता पञ्चहरुलाई पालैपालो प्रधानमन्त्री बनाए। यो व्यक्तिगत रुपमा उनीहरुको सफलता थियो भने दलहरुको घोर असफलता। त्यसका प्रभावहरु केही पछि देखिन थालिहाले र अन्ततः राजनीतिक अस्थिरताका बीचमा माओवादीहरुले हिंसात्मक राजनीति अघि बढाउने मौका पाए।

आत्मकथा स्वयम् पात्रकै वरिपरि घुम्दछ, उसको आँखाबाट संसारलाई चियाउँछ। सूर्यबहादुर थापा पनि अपवाद छैनन्। उनको एउटा विशेषता पाँच पटक प्रधानमन्त्री भएका पात्रले आफूलाई सामान्य रुपमा प्रस्तुत गर्न खोजेका छन्। पुस्तकमार्फत् पखाल्न खोजिएको पञ्चायतको पाप कति पखालिएला, आफ्नो ठाउँमा छ तर नयाँ पुस्ताका लागि पुराना भइसकेका कुराहरु पनि एउटा कोणबाट सतहमा आउनुलाई उपलब्धि नै मान्नुपर्छ। आफैँले नलेखेको, छोरा सुनील थापाले पार्टी परिवर्तन गरी कांग्रेस प्रवेश गरिसकेको परिवेशमा प्रकाशित भएको र मूल पात्रको निधनपछि निस्किएको हुनाले यस पुस्तकका सीमाहरुलाई पाठक आफैँले बुझ्नुपर्ने हुन्छ।

तर पनि राजनीतिभित्रको राजनीति र कूटनीति, सत्ता र शक्ति, दरबार र दरबारिया, अनुदार पञ्च र उदार पञ्च, निर्दल र बहुदल, चीन र भारत जस्ता विषयलाई पुरानो आँखीझ्यालबाट बुझ्नका लागि सूर्यबहादुर थापाको ‘मेरा नौ दशक’ एउटा उपयुक्त सन्दर्भ सामग्री चाहिँ पक्कै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .