ad ad

विचार


माधव नेपाललाई पनि नस्वीकार्नुले देखाउँछ– अर्कै थियो राष्ट्रपतिको खेल

माधव नेपाललाई पनि नस्वीकार्नुले देखाउँछ– अर्कै थियो राष्ट्रपतिको खेल

विष्णु रिजाल
फागुन २६, २०७९ शुक्रबार १६:२८, जुम्ला

राष्ट्रपति निर्वाचन सकिएको छ। नाटकीय घटनाहरुको एउटा चक्र पूरा भएको छ। बेइमानी र धोकाधडीले क्षणिक सफलता पाएको छ। २०७९ पुस १० गते पराजित भित्री तथा बाहिरी शक्तिहरु खुसी भएका छन्। नेकपा (एमाले) लाई एक्लो पारियो भनेर विजयोत्सव जारी छ। विडम्बनाको कुरा, यथार्थमा पुनः एकपटक हामीले आफ्नो निर्णय आफैँ गर्ने क्षमता गुमाएका छौँ। दृश्य/अदृश्य खेलले सफलता पाएका छन्। महाभारतको युद्धमा चक्रब्युहमा पस्न जाने पनि निस्किन नजानेर अभिमन्यु भित्रै मारिनुपरेझैँँ सत्ताको खेलमा एमाले बिनाकारण सत्तामा रहँदारहँदै दण्डित भएको छ।

राष्ट्रपति निर्वाचनको मुख्य एजेन्डा रामचन्द्र पौडेल थिएनन्। १७ पटक हारे, उनलाई न्याय दिऔँ भनेर यो नाटक मञ्चन गरिएको थिएन। मुख्य कुरा, वामपन्थीलाई राष्ट्रपति हुन नदिने योजनाबाट खेल अघि बढेको थियो। आफैँ मूली रहेको गुट छाडेर पदकै लागि शेरबहादुर देउवाका शरणमा पुगेका पौडेल निमित्त पात्र मात्र हुन्। उनी कसैका लागि खतरा नभएका कारण स्वीकार्य पात्र हुनु एउटा कुरा हो, खास कुरा चाहिँ वामपन्थीलाई राष्ट्रपति हुनबाट रोक्नका लागि भएको खेलमा उनले लाभ प्राप्त गरेका छन्।

वामपन्थीलाई राष्ट्रपति हुनबाट रोक्नका लागि मोहराका लागि पुष्पकमल दाहाल प्रयोग भएका छन्। आफ्नो खुट्टामा उभिन नसक्ने, अवाञ्छित सम्झौताहरुबाट थिचिएका र आफ्नो आकार घटाउँदै गएका दाहालका लागि कुनै ठूलै संकटबाट पार पाएझैँ राहत भएको छ। वामपन्थीलाई राष्ट्रपति हुन नदिनका लागि जोजो शक्ति लागिपरेका थिए, तिनका लागि दाहाल आँखामा राख्दा पनि नबिझाउने ‘वामपन्थी‘ सावित भएका छन्। विश्वमा जति पनि मुलुकमा कम्युनिस्टहरु धराशायी भएका छन्, कार्यकर्ता र जनताका कारण होइन, पुष्पकमल दाहाल जस्तै कम्युनिस्ट आन्दोलनका भष्मासुरका कारण भएका छन्।

माछाको तेलमा माछा नै फ्राइ गर्ने सूत्र यसटक नेपालका कम्युनिस्टका हकमा प्रयोग भएको छ। बेलामौकामा बृहद् कम्युनिस्ट एकताको कुरा गर्ने कम्युनिस्ट पार्टीका नेताहरु नै कम्युनिस्टलाई राष्ट्रपति हुन नदिन शिखण्डीका रुपमा प्रयोग भएका छन्। एमालेले पाउने निश्चित भएको राष्ट्रपति पद एमालेलाई नदिने खेल राजनीतिलाई विशृंखल बनाउने योजना अन्तर्गत सुरु भएको थियो भन्ने कुरा माधवकुमार नेपाललाई पनि नस्वीकार्नुले देखाउँछ। कांग्रेसको विजयमा आफूलाई कम्युनिस्ट भन्नेहरु नै चार हात उफ्रेर खुसी भएको कुरुप दृश्य देख्नुपरेको छ। लयमा फर्किसकेको राजनीतिलाई पछाडि फर्काउने, अलिकति भए पनि विचारधारामा आधारित गठबन्धन हुन नदिने र वामपन्थीहरुलाई साइजमा राख्ने अभियानले सफलता पाएको छ। यतिसम्मकि, आफ्ना दस्तावेजमा कांग्रेसलाई दक्षिणपन्थी, बुर्जुवा र अझ प्रतिक्रियावादीसमेत भन्न पछि नपर्ने ती कम्युनिस्टहरुले अब कुन मुखले आफ्ना कार्यकर्तालाई सिद्धान्तका कुरा बढाउँछन् होला? अब कुन नैतिकताका आधारमा कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्ने कुरा गर्छन् होला?

नेपालमा कम्युनिस्ट प्रभाव बढेको खुबै चिन्ता छ। अलग–अलग पार्टी भए पनि वामपन्थीको जनमत कायम छ। यसलाई नतोडेसम्म दक्षिणपन्थी शक्तिहरुलाई मजबुत बनाउन सकिँदैन भन्ने योजनाकारहरुलाई राम्रोसँग थाहा छ। त्यही भएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन कम्युनिस्ट नामधारीहरुलाई नै प्रयोग गर्नु आवश्यक हुन्छ भन्ने उनीहरुको बुझाइ हुन सक्छ। आजको सन्दर्भमा नेपालमा एमालेलाई कमजोर बनाउनुको अर्थ कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउनु हुन्छ। त्यसैले झिँझाले मुढा बाल्न सकिन्छ भन्ने प्रयोग गर्न खोजिएको छ।

सवाल एमालेले राष्ट्रपति पायो वा भएन भन्ने होइन। एमालेको जनधार कायम छ, मत सुरक्षित छ, पार्टीभित्र सुदृढ एकता छ, नेतृत्वप्रति दृढ विश्वास छ, इमानदार कार्यकर्ता पंक्ति छ, बलियो संगठन छ। सत्ताको खेल चलिरहँदा पनि एमाले संगठनमै जुटिसकेको थियो। मिसन ग्रासरुट अन्तर्गत सबै केन्द्रीय नेताहरु गाउँमा छन्। म अहिले जुम्लाका गाउँमा छु। कार्यकर्ता पंक्तिमा सरकारबाट हटेको वा राष्ट्रपतिमा हारेको कुराबाट त्यस्तो कुनै विस्मात देखिँदैन। तर, एउटा कुरामा चिन्ता छ, आखिर एमालेलाई किन यसरी घेराबन्दी गरिएको होला? यसरी घेराबन्दी हुनुपर्ने गरी एमालेले के चाहिँ अपराध गरेको छ होला?

एमालेले कुनै अपराध गरेको छैन, शीर निहुर्याउनुपर्ने कुनै काम गरेको छैन। देश सानो हुँदैमा स्वाभिमान सानो हुँदैन भन्नु कुनै अपराध होइन। नाकाबन्दीको दृढतापूर्वक सामना गर्नु कुनै कायरता होइन। आफ्नो गुमेको भूमि नक्सामा राख्न राष्ट्रिय सहमति कायम गर्नु कुनै कमजोरी होइन। दक्षिणतिरको निर्भरता घटाउन उत्तरतिर नाका खोल्ने सम्झौता गर्नु अयोग्यता होइन। र, बुझ्नुपर्ने कुरा के छ भने यी सबै कामहरुकै कारण एमाले आज घेराबन्दीमा पर्दै आएको छ। कम्तीमा एमाले पंक्ति आफ्नो नीति र नेतृत्वप्रति दृढ रहँदासम्म बीचमा आइपर्ने सानातिना कुराले असर गर्दैनन्।

जनताका बीचमा हुर्केर र जनताकै बीचमा बढेको पार्टी भएका कारण एमालेलाई सत्ताका खेलहरुले खासै असर गर्दैनन्। किनभने, दलीय व्यवस्थामा सत्ता र प्रतिपक्ष एउटै सिक्काका दुईटा पाटा हुन् भन्ने कुरा हाम्रो कार्यकर्ता पंक्तिलाई थाहै छ। जसरी हामी सत्तामा हुँदा कुन दिन प्रतिपक्षमा हुन्छौँ भनेर मानसिक रुपमा तयारै हुन्छौँ, त्यसैगरी प्रतिपक्षमा रहँदा पनि कुन दिन सत्तामा पुग्छौँ भनेर तयारै रहनुपर्छ।

निर्वाचनमा बहुमत नपाएपछि बलियो सरकार बन्दैन र पार्टी सरकारमा रहने कुरा सुनिश्चित हुँदैन। यदि एमालेले बहुमत पाएको भए अर्कै स्थिति हुन्थ्यो। तर, हामीले चाहेजस्तो नतिजा आएन, जसको प्रतिफल हामीले मात्र होइन, सिंगो राष्ट्रले भोगिरहेको छ। स्पष्ट कार्यकर्ता पंक्तिले मात्रै बलियो पार्टी निर्माण गर्छ। एमाले दस्तावेजमा बाँचेको पार्टी होइन, जनताको मनमा बाँचेको छ। अहिले मुलुकमा के भइरहेको छ र किन भइरहेको छ भनेर हामीले राम्ररी बुझाउन सक्यौँ भने २०८४ को चुनाव धेरै टाढा छैन।

एमालेबाट राष्ट्रपति हुने कुरा एमालेका नेताका मुखबाट होइन, पुष्पकमल दाहालको मुखबाट निस्किएको थियो। हुन त ती सबै साक्षीहरुले समेत झगडियाकै पक्ष लिएपछि भनिरहनुको सान्दर्भिकता कति होला? तर पनि, राजनीतिमा इमान हुँदैन र पदका लागि जे पनि गर्न सकिन्छ भन्ने दर्शनका अनुयायी पुष्पकमल दाहालका लागि कुनै दिन आफ्नै बचन भारी पर्नेछ। किनभने, अदालतमा दायर भएको मुद्दा आजको मात्र विषय होइन। जुन दिन कांग्रेसका लागि दाहालको उपयादेयता सकिनेछ, कम्तीमा त्यस दिन लमजुङमा मारिएका मुक्तिनाथ अधिकारीहरुको सम्झना झल्झली आउने नै छ।

नेपाल भूराजनीतिक महत्वको स्थानमा छ। उत्तर र दक्षिण दुबैतिर शक्ति राष्ट्र छन्। ती दुबै ठूला छन्, तिनका स्वार्थ पनि ठूला छन्। तिनको तुलनामा नेपाल जस्तो सानो राष्ट्रले आफ्नो अलग पहिचान र स्वाभिमान बचाइराख्नु निकै महत्वको कुरा हुन्छ। आजको युगमा भौतिक रुपमा थिचोमिचो गर्न त्यति सम्भव नहुने हुँदा नरम शक्ति (सफ्ट पावर) का माध्यमबाट आफ्ना स्वार्थहरु कार्यान्वयन गराउँछन्। यस कार्यमा वर्तमान सत्तारुढ गठबन्धन उपयोगी माध्यम बनेको छ। यसो हेर्दा नेपालमै छ, नेपालमै बनेको छ, अनुहार नेपाली नै छन्। तर, काम चाहिँ अरुकै भइरहेको छ, योजना अरुकै कार्यान्वयन भइरहेको छ, खुसी अरु नै छन्।

कुतीको बाटो हिँडेर काशी पुगिँदैन। अहिले कथित कम्युनिस्टहरु कुती भन्दै काशीको यात्रातिर हिँडिरहेका छन्। झिँगाको सरापले डिँगा नमरेझैँ यिनको सरापले एमाले कमजोर हुने होइन। वस्तुतः यिनीहरु आफैँ नांगिएका छन्, कमजोर भएका छन्। आफूलाई कम्युनिस्ट आन्दोलनका खलपात्र र दक्षिणपन्थीहरुका प्रिय पात्र सावित गरेका छन्। त्यसैले रामचन्द्र पौडेलेको विजयमा पुष्पमकमल दाहालहरु नाचिरहेका छन्।

(विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्) 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .