इतिहासमा सिञ्जा साम्राज्यको केन्द्रका रुपमा चिनिने जुम्ला दुर्गमभित्रको सुगम जिल्ला मानिन्छ। साविक कर्णालीको अरु जिल्लाको तुलनामा मिलेको भूगोल छ। स्याउ र ओखरको उत्पादन बढ्दो छ, भेडा–घोडापालन चाहिँ घट्दो छ। जडीबुटीप्रति आकर्षण छ। उत्पादनमा लगानी बढेको छ। बजारहरु क्रमशः फैलिँदैछन्। संघीयताले जुम्लाका मानिसहरुको काठमाडौँसँगको निर्भरता घटाउँदै लगेको छ।
तेह्रौँ शताब्दीमा नागराजले सुरु गरेको सिञ्जा राज्य जितारी मल्लसम्म आउँदा काठमाडौँमाथि आक्रमण गर्न सक्ने हैसियतमा विकास भएको पाइन्छ। समयक्रममा आफ्ना भाइ, छोरा र भतिजाहरुलाई बाँड्ने क्रममा वरपर ससाना राज्यमा विभाजित हुँदै गएको सिञ्जा राज्य विक्रम सम्बत् १९४६ मा बहादुर शाहका गोर्खाली फौजले जुम्लामा आक्रमण गरेर एकीकरण गर्दासम्म सानो आकारमा खुम्चिसकेको थियो। झट्ट सुन्दा कुनै पौराणिक कथा जस्तो लाग्ने साँचो इतिहास गर्भमा बोकेर सुस्ताइरहेको यही जुम्लामा डेढ महिना बिताउँदा त्यससँग आफैँ साक्षात्कार भएर जुम्लालाई अनुभूत गर्ने अवसर प्राप्त भएको छ।
हाम्रो पार्टी नेकपा (एमाले) ले २०७९ फागुन ५ गतेबाट मिसन ग्रासरुटको नाम दिएर दुई महिने पार्टी सदृढीकरण तथा संगठन विस्तार अभियान सुरु गरेसँगै मेरो कार्यक्षेत्र यही जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका तोकिएको थियो। मसँगै जुम्लामा केन्द्रीय कमिटी सदस्यहरु नगेन्द्र शाही (नेशनल) लाई पातारासी र गुठीचौर गाउँपालिका, दक्षिणा शाहीलाई हिमा र तिला गाउँपालिका र केन्द्रीय स्कुल विभागका सदस्य गेहेन्द्र दाहाललाई सिञ्जा र कनकासुन्दरी गाउँपालिकाको जिम्मेवारी थियो। सुरुमा दुई पालिकाको जिम्मा भए पनि पछि तिला गाउँपालिका पनि थपिएपछि मेरो जिम्मामा जुम्लाका ६० मध्ये २७ वडा परेका थिए। पहिल्यै योजना बनेका कारण चन्दननाथ र तातोपानीका १८ वटै वडामा म आफैँ पुगेँ भने तिलाका वडाहरुमा प्रदेशबाट खटिनुभएका धीरेन्द्रराज गिरी र नारायणी चौलागाईंले मसिनो गरी गरेको कामलाई मैले पालिकास्तरबाट सहयोग पुर्याएँ।
हामीले २०७९ फागुन १४ गते पार्टीका केन्द्रीय सचिव तथा अभियानका कर्णाली प्रदेश संयोजक योगेश भट्टराई, कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र सहइन्चार्ज गोरखबहादुर बोगटीको उपस्थितिमा जुम्लाको सदरमुकाम खलंगामा जिल्लास्तरीय अभिमूखीकरण कार्यक्रम आयोजना गरेर अभियान सुरु गरेका थियौँ। अभियानका क्रममा जिल्ला, पालिका र वडास्तरीय प्रशिक्षणहरु आयोजना गर्यौँ। पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, कार्यदिशा, नेतृत्व र अभिभाराका बारेमा पहिलो चरणमा कार्यकर्तालाई प्रशिक्षित गर्यौँ भने दोस्रो चरणमा पार्टी सदस्यता नवीकरण र विस्तारलाई अभियानका रुपमा अघि बढायौँ। विगतमा पार्टीभित्र गुटगत प्रतिस्पर्धा हुँदा अरुलाई जित्न होइन, एमालेलाई एमालेले नै जित्ने प्रयोजनका लागि फर्म भरिएका नामहरुको काटछाँट गरी वास्तविक सदस्यहरुको नवीकरण गराउनु चुनौतीपूर्ण काम थियो। दुर्गम जिल्ला, रोजगारीको सर्वथा अभाव र हिमपात रोकी नसकेको अवस्थामा सबै सदस्यहरुलाई घरगाउँमै भेट्न सजिलो थिएन। धेरैलाई दोहोर्याई–तेहर्याई भेटेर भए पनि नवीकरण गर्न लगायौँ भने कतिपयसँग फोनमा कुरा गरेर, कतिपयका परिवारसँग कुरा गरेर र कतिपयलाई भिडिओ कलमा कुरा गरेर समेत पार्टीसँगको सम्बन्ध जीवित बनाउने कोसिस गर्यौँ।
३ हजार २ सय ३ पार्टी सदस्य रहेको जुम्लामा ५० प्रतिशतले नवीकरण गराएका छन् भने झण्डै ६० प्रतिशतले नयाँ सदस्यताका लागि आवेदन दिएका छन्। कुल मिलाएर पहिलेभन्दा पार्टी सदस्यहरुको संख्या बढ्नु हाम्रा लागि सुखद् छ।
२०७९ फागुन १२ गते जुम्ला पुग्दा दोस्रो पटक यस ऐतिहासिक भूमिमा पाइला टकेको मैले डेढ महिनापछि २०७९ चैत २६ गते जुम्ला छाड्दासम्म पार्टी कामलाई अलिकति भए पनि टेवा पुग्ने गरी जुम्लाका साथीहरुलाई मद्दत गर्न पाएँ भने व्यक्तिगत रुपमा पनि यहाँको जनजीवन, भूगोल, संस्कृति, संस्कार, परम्परा र राजनीतिसँग परिचित हुने मौका पाएँ।
म दैलेख दुल्लूको मान्छे। दुल्लू र सिञ्जाका बीचमा ऐतिहासिक सम्बन्ध छ। सिञ्जा राज्यको ग्रीष्मकालीन राजधानी सिञ्जा थियो भने शीतकालीन राजधानी थियो, दुल्लू। सिञ्जामा नेपाली भाषाको उत्पति भएको मानिन्छ भने त्यसको लिखित प्रमाण दुल्लूको कीर्तिस्तम्भमा मात्र छ। नागराज हुँदै विकास भएको सिञ्जा राज्य दुल्लू पुग्दा पृथ्वी मल्लका पालासम्म पुगेको देखिन्छ।
चन्दननाथ नगरपालिकाका १० वडा र तातोपानी गाउँपालिकाका ८ वटा वडामा पर्ने गाउँवस्ती त भइहाले नै, तिला, हिमा, सिञ्जा र पातारासी गाउँपालिकामा आयोजित कार्यक्रमहरुमा भाग लिन पाउँदा त्यहाँको पार्टीको अवस्था र समग्र राजनीतिक परिवेशका बारेमा जानकारी प्राप्त गर्ने मौका मिल्यो।
चन्दनाथका आचार्यबाडा, भण्डारीबाडा, बुत्थबाडा, खोलिकोट, सिंहाचौण, छिना, महत्तबाडा, मिचा, उमगाड, तलिओम, पिलगाउँलगायतका ठाउँमा भएका भेलाहरुमा देखिएको कार्यकर्ताको सन्तोषजनक उपस्थिति र प्रतिबद्धताले एमाले बलियो बनिरहेको देखिन्छ भने तातोपानीका लाम्रा, धौलापानी, बाइराँका, लिताकोट, हाँकु, ताम्ती, टोप्ला जस्ता गाउँमा पनि अवस्था त्यस्तै छ। पातारासी गाउँपालिकाको लास्सी, तिला गाउँपालिकाको कुडारी, हिमा गाउँपालिकाको बाँजागाड र सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित कार्यक्रममा पनि कार्यकर्ताको उत्साहजनक उपस्थिति देखिन्थ्यो। कनकासुन्दरी र गुठीचौरका दुर्गम बस्तीमा पनि समेत मिसन ग्रासरुटका क्रममा सघन कामहरु भए।
यस अभियानबाट जिल्लाका नेता–कार्यकर्तामा उत्साह आएको छ भने जनतामा एमालेप्रति चासो बढेको छ। अभियानलाई अभियानकै रुपमा सीमित नगरी नियमित कामको अंग बनाउँदा संगठनले गति लिनेमा कुनै शंका छैन।
जुम्लाको राजनीतिक शक्ति सन्तुलन फेरबदल भइरहन्छ। २०४८ यता कुनै पनि पार्टी र व्यक्तिले दोहोर्याएर चुनाव जितेका छैनन्। अझ यसपटक त चुनावमा होहल्ला मच्चाएका भरमा जितेको देखिन्छ भने स्थानीय र प्रदेश चुनावमा बागीले जितेका छन्। यसबाट पनि जुम्लाको राजनीति तरल छ र पार्टीले राम्रोसँग काम गर्न सक्दा बलियो बनाउन सकिन्छ भन्ने नै देखिन्छ।
जुम्लामा नेकपा (एमाले) कमजोर छैन। समाजमा सम्मानित र असल मानिसका रुपमा एमालेका नेताहरुको नाम लिइन्छ। कार्यकर्ताको पंक्ति पनि भरोसिलो छ। ६० वटा वडामै संगठनको सञ्जाल छ। डेढ महिनाको अनुभवबाट मैले के पाएँ भने त्यसलाई सक्रिय बनाउने हो भने अर्को चुनावमा एमालेलाई विजयी शक्तिमा रुपान्तरण गर्न सकिन्छ।
पार्टी विभाजनको गहिरो पीडा भोगेको जिल्ला हो जुम्ला। विगतमा पार्टीभित्र गुटबन्दी झाँगिदा त्यसको केन्द्र जस्तै थियो जुम्ला। र, विभाजनका बेला बहुमत साथीहरु पार्टीबाट बाहिरिएका थिए। अहिले परिस्थिति फेरिएको छ। चुनावका बेला प्रायः मुख्य साथीहरु पार्टीमै समायोजन भइसक्नुभएको छ। यसबाट एमालेका नेता–कार्यकर्तामा आशा पलाएको छ। यस आशालाई कार्यरुप दिनका लागि सबै कमिटीहरुलाई क्रियाशील बनाउन मिसन ग्रासरुटले आधार तयार गरेको छ। अब यसलाई नियमित कामका रुपमा अघि बढाएमा पुनः एमाले बौरिएर आउँछ।
गाउँ–गाउँ पुग्दा कठ्याग्रिने चिसोमा खाली खुट्टा कायक्रममा आएका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु देख्दा उनीहरुप्रति नतमस्तक हुनुबाहेक केही गर्न सकिन्न। उनीहरुका लागि नेकपा (एमाले) को नाम पनि शुद्ध भन्न गाह्रो छ। सिद्धान्त र विचार त परको कुरा भइहाल्यो। एमाले भए वापत उनीहरु कतिपय सेवा–सुविधाबाट बञ्चित छन्। तर पनि, उनीहरुमा एमालेप्रतिको विश्वास र दृढता हामी कसैको भन्दा कम छैन। आफ्नो पार्टी र नेतृत्वप्रति गर्व छ। नेकपा (एमाले) को जगका ढुंगा भनेका यिनै निस्वार्थ कार्यकर्ता हुन्, निर्मल मन भएका मानिसहरु हुन्। त्यसैले यस्ता मानिसहरुप्रति हामीलाई गर्व छ। तिनको जीवनमा अलिकति मात्रै भए पनि परिवर्तन ल्याउन सक्दा मात्रै हाम्रो सिद्धान्तको सार्थकता प्रमाणित हुन्छ।
अभियानकै अवसर पारेर २०७९ चैत २३ गते हामीले नेकपा (एमाले) कर्णाली प्रदेशस्तरीय प्रचार भेला जुम्लामै आयोजना गर्न सक्नुलाई मैले एउटा सुखद संयोग मानेको छु। म आफू केन्द्रीय प्रचार विभागको उपप्रमुख भएको र कार्यक्षेत्र जुम्ला परेको बेला प्रदेशस्तरकै कार्यक्रम जुम्लामा गरौँ भन्ने प्रस्तावलाई जुम्ला जिल्ला कमिटीका अध्यक्ष शान्तिलाल महतलगायतका कमरेडहरुले सहजतापूर्वक लिएर पहिलो पटक जुम्लामा प्रदेशस्तरको कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सकिएको छ। नेकपा (एमाले) का उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ स्वयम् उपस्थिति भएर कर्णालीको दुर्गम बस्तीहरुबाट पार्टीको प्रचार काममा जोडिनुभएका अगुवा कार्यकर्तालाई उत्साहित पारिदिनुभएको अनुभूति भएको छ।
जुम्ला इतिहासका स्वर्णिम पानाहरु सिरानी हालेर सुतिरहेको भान हुन्छ। हाम्रो इतिहास पनि हामीले आफ्नो हातले लेख्न सकेका छैनौँ, विदेशीले लेखिदिएको इतिहास पढिरहेका छौँ। सत्यमोहन जोशीको समूहले २०२८ सालमा गरेजस्ता अनुसन्धान यहाँका प्रत्येक गाउँमा गर्न सकिन्छ। किनभने, यहाँका प्रत्येक ऐतिहासिक तथ्यसँग हाम्रो इतिहास जोडिएको छ। नेपाली भाषाको उद्गमस्थल सिञ्जा हो भनेर दिमागमा राखेको मानिस उत्साहित भएर त्यहाँ पुग्दा खिस्रिक्क पर्ने अवस्था आउन दिनुहुन्न।
नेपाली भाषाको उद्गमस्थल, सभ्यताको केन्द्र, संस्कृतिको खानी र परम्पराको आरम्भकर्ता जुम्लालाई सलाम। अन्त्यमा जुम्लाबाट फर्किंदा सबैलाई धन्यवाद दिएर मैले उल्लेख गरेको गीत फेरि उल्लेख गर्न चाहन्छुः
शिल्तो राजा मंगलसैन्या, चुकिलो दर्नाली
आउना जाना पानी पिउँला, नसुकेई कर्नाली।
Shares
प्रतिक्रिया