मंगलबार अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास अपर्झट बन्द गर्न आदेश दिएको छ। चीन र अमेरिकाबीच तनाव बढिरहँदा भएको यो सबैभन्दा पछिल्लो घटना हो।
भविष्यमा इतिहासकारहरुले सन् २०२० लाई त्यो विन्दुका रुपमा नियाल्नेछन्, जहाँबाट अमेरिका र चीनबीचको बढ्दो रणनीतिक प्रतिस्पर्धा नयाँ शीतयुद्धमा परिणत भएको थियो।
यी दुई महाशक्ति अहिले भौगोलिक रुपमा विभिन्न ठाउँमा द्वन्द्वरत छन्। दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा उनीहरु भिडिरहेका छन्। त्यस्तै, व्यापार, लगानी, प्रविधि, जासुसी, अन्तर्राष्ट्रिय संघसंस्था, स्वास्थ्य नीति, समुद्र, हवाई शक्ति, क्षेप्यास्त्र र भौगोलिक विवादजस्ता विभिन्न क्षेत्रमा पनि उनीहरु द्वन्द्वरत छन्।
अमेरिका र चीनले एकअर्काप्रति गुनासोका लामो सूची बनाएका छन्। तर, उनीहरुबीच कुनै महत्वपूर्ण साझा स्वार्थ छैन।
दुवैले अन्य मुलुकहरुलाई आआफ्नो गठबन्धनमा सामेल गराउने प्रयास गरिरहेका छन्। जसले विश्वलाई दुई ध्रुवमा विभाजित गर्नेछ। रातोविरुद्ध नीलो। हामीसँग कि हामीविरुद्ध। पूर्ण द्वन्द्व। अर्थात्, शीतयुद्ध।
अमेरिका र चीनको द्वन्द्वलाई शीतयुद्ध भनी परिभाषित गर्न केही नीति निर्माता र रणनीतिकार अझै हिच्किचाइरहेका छन्। अमेरिका–सोभियत संघबीचको दशकौँ लामो द्वन्द्व र त्यसले अन्तर्राष्ट्रिय सम्बन्धमा पारेको प्रभावलाई हेरेर उनीहरुले त्यसो भनिहाल्ने आँट नगरेका हुनसक्छन्।
तर, अमेरिका र चीन दुवैले अहिले आपसी द्वन्द्वलाई अस्तित्वकै प्रश्नका रुप लिइरहेका छन्। यदि हेर्दा पनि शीतयुद्धजस्तो र सुन्दा पनि शीतयुद्धजस्तो लाग्छ भन्ने सम्भवतः यो शीतयुद्ध नै हो।
एकैपटक सुरु भएको होइन टक्कर
अमेरिका र चीन अहिले शीतयुद्धमा आइपुग्नुअघि वर्षौँसम्म उनीहरुबीच तनाव बढिरहेको थियो। जसरी अमेरिका र सोभियत संघबीच शीतयुद्ध सुरु भएको थियो। सामान्यतः अमेरिका र सोभियत संघबीचको शीतयुद्ध सुरु भएको मिति सन् १९४७ लाई मानिन्छ। तर, त्यसको बीऊ दोस्रो विश्वयुद्धकै क्रममा रोपिइसकेको थियो, जुनबेला दुवै देश एउटै गठबन्धनमा थिए र एउटै दुश्मनविरुद्ध लडिरहेका थिए।
अहिले अमेरिका र चीनबीच बौद्धिक सम्पत्ति चोरी, व्यापार असन्तुलन, जासुसी, कूटनीतिक नियन्त्रण र घेराबन्दी तथा भौगोलिक विवादसम्बन्धी गुनासो बढ्न थालेको लगभग एक दशक पूरा भइसकेको छ। तसर्थ, जसरी अमेरिका–सोभियत संघबीचको शीतयुद्ध धेरै पहिले नै सुरु भएको थियो (यसलाई सन् १९४५ मै स्पष्टसँग देख्न सकिन्थ्यो), त्यसैगरी अमेरिका–चीन शीतयुद्ध पनि धेरै पहिले सुरु भइसकेको छ।
तर, बढ्दो रणनीतिक प्रतिस्पर्धा सीधै शीतयुद्धमा परिणत भएको विन्दु खोज्दै जाने हो भने गुणात्मक र परिमाणात्मक दुवै हिसाबले त्यो क्षण सन् २०२० हुने देखिन्छ। अर्थात् अमेरिका र सोभियत संघबीच सन् १९४७ ले जस्तो अर्थ राख्थ्यो, अमेरिका र चीनबीच सन् २०२० ले त्यस्तै अर्थ राख्छ।
कोरोना भाइरस महामारी र शताब्दीकै सबैभन्दा ठूलो आर्थिक मन्दीले अमेरिका–चीन तनावलाई उत्कर्षमा पुर्याएको छ। यो अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनको पनि प्रमुख मुद्दा बन्दैछ। निर्वाचनका दुवै मुख्य उम्मेदवार आफूलाई चीनविरुद्ध कडा रुपमा प्रस्तुत गर्न प्रतिस्पर्धा गरिरहेका छन्।
तथापि, अमेरिका–सोभियत संघ शीतयुद्धजस्तै अमेरिका–चीन शीतयुद्ध पनि लामो समय चल्नेछ। सो अवधिमा अमेरिकामा थुप्रै प्रशासन र चीनमा अनेकौँ पुस्ताका नेता फेरिनेछन्। बीचमा कहिले चर्को द्वन्द्व हुनेछ भने कहिले शान्ति।
यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको व्यक्तिगत द्वन्द्व होइन। यो द्वन्द्वमा दुवै देशका लगभग सबै सम्भ्रान्त समेटिएका छन्।
दुवै देशका उग्रपन्थीहरुले एकअर्काविरुद्ध कडा कदम उठाउनुपर्नेमा जोड दिइरहेका छन्। दुवै देशमा राजनीतिक, कूटनीतिक र बौद्धिक रुपमा आपसी संवाद गर्नुपर्छ भन्नेहरुको स्थान खुम्चिँदै गएको छ।
तसर्थ, कुनै एक वा दुवै पक्षको नेता फेरिँदैमा यो द्वन्द्व अन्त्य हुन्छ भन्न सकिन्न। ट्रुम्यान र स्टालिन हट्दा अमेरिका र सोभियत संघबीचको सम्बन्धमा जति फरक परेको थियो, ट्रम्प वा सी हट्दा अमेरिका र चीनबीच त्योभन्दा बढी फरक पर्ने छैन।
समाधान
अमेरिका र सोभियत संघबीचको शीतयुद्ध जसरी नै अमेरिका र चीनबीचको द्वन्द्व पनि त्यतिन्जेल निरन्तर चल्ने सम्भावना छ, जतिबेलासम्म एक वा दुवै पक्षका लागि द्वन्द्वको मूल्य उठाउनै नसक्नेगरी भारी हुँदैन।
अमेरिका र सोभियत संघबीचको लगभग सबै द्वन्द्व शीतयुद्धमै सिमित रह्यो। दुवै देशका सैनिक बढीमा कोरिया, भियतनाम र अफगानिस्तानजस्ता विकासशील मुलुकका प्रोक्सी युद्धमा सामेल भए। त्यसैले अमेरिका र सोभियत संघबीचको द्वन्द्वलाई अन्तर्राष्ट्रिय तनाव व्यवस्थापनको सफल उदाहरण पनि मान्ने गरिन्छ।
तर, कुनै बेला उनीहरुको द्वन्द्व वास्तविक युद्धमा परिणत हुने स्थिति पनि पैदा भएको थियो। उदाहरणका रुपमा क्युबाको क्षेप्यास्त्र संकटलाई लिन सकिन्छ।
अमेरिका र चीनबीचको अहिलेको द्वन्द्व ‘थुसाइडिडस ट्रयाप’ को शास्त्रीय उदाहरण पनि हो। अर्थात्, उदाउँदो शक्तिले शीर्षमा रहेको शक्तिलाई चुनौती दिँदा यस्तो अवस्था उत्पन्न हुन्छ। प्राचीन एथेन्सको ठाउँमा अहिले चीन देखिन्छ भने स्पार्टाको ठाउँमा अमेरिका।
इतिहासले के सुझाउँछ भने यस्ता द्वन्द्व नचिताइएको तर वास्तविक सैन्य द्वन्द्वमा पुग्न सक्छन्। २० औँ शताब्दीको सुरुवातमा बेलायत र जर्मनी यही कारणले युद्धमा होमिएका थिए।
अमेरिका र चीनबीच आर्थिक द्वन्द्वबाहेक पनि ताइवान र दक्षिण चीन सागरजस्ता साँच्चैको युद्ध सुरु गराउनसक्ने केही विन्दुहरु छन्।
केही शीतयुद्धका पक्षधरहरु अमेरिका र चीन खुल्लमखुल्ला द्वन्द्वमा उत्रिनुपर्छ भन्छन्। उनीहरु यी दुई शक्तिबीच ‘रणनीतिक स्पष्टता’ देख्न चाहन्छन्।
यदि दुई गठबन्धनमा विभाजित अमेरिका र चीन आर्थिक र कूटनीतिक रुपमा विभक्त भएर द्वन्द्वमा उत्रिए भने त्यो २० औँ शताब्दीको उत्तरार्धमा देखिएको शीतयुद्धको पुनरावृत्ति हुनेछ। अघिल्लो शीतयुद्ध अमेरिकाको विजयसँगै टुंगिएको थियो। फलस्वरुप सोभियत संघ छिन्नभिन्न भएको थियो।
तर, त्यो नतिजा अकस्मात देखिएको थिएन। त्यो द्वन्द्वले ४० वर्षसम्म विश्व राजनीतिमा प्रमुख स्थान ओगटेको थियो। सन् १९६० र ७० को दशकमा पनि शीतयुद्धको नतिजा यस्तै हुन्छ भन्ने अनुमान गर्न कठिन थियो।
अमेरिका र चीनबीचको शीतयुद्ध त्यसैगरी अघि बढ्छ र त्यसैगरी अन्त्य हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले दुई महाशक्तिबीच टक्कर चाहनेहरु होसियार हुन आवश्यक छ।
(रोयटर्सबाट)
प्रतिक्रिया