बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन्।
त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन्।
नदीको बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर फेरिएको छ। यहाँको २५ विगाह क्षेत्रफल बगरमा २७ परिवारले खेती गरिरहेका छन्। बालापुरस्थित बबई नदीको किनारमा गुलरिया वडा नम्बर ५ का २७ घर परिवारले हाल तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाको खेती गरिरहेका छन्।
हिउँदमा भने यहाँ किसानले खरबुजा, लौका र करेला खेती गर्ने गरेका छन्। स्थानीय गोपीलाल चौधरीको परिवारले ५ वर्षदेखि बगरमा खेती गरिरहेको छ। बगरखेतीबाट आफूहरूले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्ने गरेको चौधरीको भनाइ छ।
मनसुनको समयमा बबई नदीमा आएको बाढीले नजिकको जमिनलाई बगर बनाइदिएपछि त्यही बगरमा स्थानीय किसानले मौसमी तथा बेमौसमी खेती गरेका हुन्। स्थानीय चौधरीले २ विगाह क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छन्। विगतमा मजदुरी गर्ने आफ्नो परिवारको जीवन बगरखेतीले बदलेको उनको भनाइ छ।
जलवायु उत्थानशील कार्यक्रमअन्तर्गत प्राक्टिकल एक्सनले बगरखेतीको लागि बीउबिजन र कृषि विज्ञको साथै सिँचाइका लागि प्राविधिक सहयोग गरिरहेको छ। समय-समयमा हुने तालिम र बीउबिजनको सहयोगले खेती गर्नमा उत्साहित बनाएको चौधरीले बताए।
त्यसैगरी, कैलालीको धनगढी नगरपालिका र टीकापुर नगरपालिकाका किसानले पनि बगर खेती गरेका छन्।
धनगढी वडा नम्बर १९ पूर्वी ललितपुरका २१ जनाले बगरखेतीबारे तालिम लिएका छन्। उनीहरूले मोहना नदीको किनारमा खेती गरिरहेका छन्।
यस्तै टीकापुर वडा नम्बर ८ वनगाउँका ८ जना किसानले पनि बगरखेती गरिरहेका छन्। कर्णालीको बगरमा खेती गरिरहेका रमेश चौधरी संस्थाले तालिम दिएपछि खेती सहज हुनाका साथै आम्दानी पनि बढेको बताउँछन्।
छोराछोरीको पढाइ र दैनिक खर्च धानेर केही रकम भविष्यलाई बचत पनि गरिरहेको उनको भनाइ छ।






Shares

प्रतिक्रिया