ad ad

फोटोफिचर


कमलादीमा एकीकृत समाजवादीको दशौँ महाधिवेशन, शीर्ष नेताहरू को–को पुगे? (तस्बिरहरू)


सरोज बैजु
असार १६, २०८१ आइतबार १५:१५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आजबाट सुरु भएको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ।

महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनमा पार्टीको राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।

महाधिवेशनमा सहभागी हुन काठमाडौँ उपत्यका बाहिरबाट पनि प्रतिनिधि आइसकेका नेकपा एकीकृत समाजवादीले जनाएको छ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ। 

करिब तीन वर्षअघि एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले यो महाधिवेशनलाई दशौँ भनेको छ।

हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानिएको सो पार्टीले जनाएको छ।

महाधिवेशन तयारीबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेज तयार भइसकेको जानकारी दिएका थिए। 

पार्टी विधान अनुसार महाधिवेशनले पार्टीको २९९ सदस्यीय केन्द्रीय समिति, २१ सदस्यीय पदाधिकारी चयन गर्ने छ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राई लगायत उपस्थित भएका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि एकीकृत समाजवादीले निम्ता गरेको थियो। तर, उनी भने कार्यक्रममा पुगेका छैनन्। 

ओलीको सचिवायका अनुसार, एकीकृत समाजवादीको कार्यक्रममा ओलीले अन्य नेताहरूलाई पुग्न आग्रह गरेका छन्। 

‘प्रधानमन्त्रीसँगको भेटपछि अर्को एउटा कार्यक्रम तय भएको छ,’ सचिवालय सदस्य रामशरण बजगाईंले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .