ad ad

राजनीति


प्रधानमन्त्री देउवा बेलायतमा, बिहानैदेखि भेटघाटमा व्यस्त

प्रधानमन्त्री देउवा बेलायतमा, बिहानैदेखि भेटघाटमा व्यस्त

लन्डनमा देउवा


प्रजय शुक्ल
कात्तिक १३, २०७८ शनिबार ७:२, लन्डन

लन्डन। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार राति ८ बजे लन्डन आइपुगेका छन्। स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६) मा सहभागी हुन देउवा बेलायत आएका हुन्।

पाँचौँपटक प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो विदेश भ्रमण हो।

लन्डनको हिथ्रो विमानस्थलमा प्रधानमन्त्री देउवालाई बेलायती संसदमा नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष एवम् सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल लगायतले कक्षमा स्वागत गरेका थिए।

प्रधानमन्त्री देउवाले स्कटल्यान्डमा यूएनएफसीसीसीको सम्मेलनमा नोभेम्बर २ बिहान बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि भेटवार्ता गर्ने छन्।  

स्कटल्यान्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा सो भेटवार्ता हुने भएको हो। र, सम्मेलनकै क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत उच्च अधिकारी सहभागी छन्।

बेलायतका लागि पूर्वराजदूत डा. दुर्गाबहादुर सुवेदी पनि परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालका रुपमा  भ्रमण टोलीमा छन्। यस्तै वन मन्त्रालयका सहसचिव राधा वाग्ले, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि टोलीमा छन्।

यसपटक पनि नेपालले पर्वतीय क्षेत्र, देशको जनजीविकामा जलवायु परिवर्तनको असर, हानी र नोक्सानीलाई अनुकूलन भन्दा थप अलग्गै कार्यक्रमबाट सम्बोधन गर्नुपर्ने सवाल तथा सुदृढ र दिगो वित्तीय व्यवस्था सुनिश्चित गर्न विश्व समुदायको ध्यान आकृष्ट गर्ने वन मन्त्रालयले जनाएको छ।

सम्मेलनका दौरान आयोजना हुने दक्षिण एसिया सहयोग वातावरण कार्यक्रमको बैठक, हिमचितुवा संरक्षणसम्बन्धी स्टेरिङ कमिटीको बैठक, आईएफएडीको बैठक, रेड फरेस्ट्री कार्यक्रमसम्बन्धी छलफल, पर्वतीय क्षेत्रसम्बन्धी प्रदर्शनी तथा अन्य उच्चस्तरीय र प्राविधिक सत्रमा समेत नेपालले सहभागिता जनाउनेछ।

प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका
प्रधानमन्त्री देउवा शनिबार बिहानदेखि नै लन्डन दूतावासमा विभिन्न भेटघाटमा व्यस्त हुने भएका छन्। उनले बेलायती लर्ड, बेलायतका पूर्वमन्त्री, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलका पदाधिकारीलाई पनि भेट्ने कार्यक्रम छ। 

प्रधानमन्त्री देउवाको सम्मानमा शनिबार साँझ बेलायती संसदको नेपाल मामिला हेर्ने अन्तरपार्टी संसदीय समितिका तर्फबाट रिसेप्सन आयोजना हुँदै छ।  देउवाले सो दिन लन्डनको ‘द नाभेल एन्ड मिलिटरी क्लब‘ मा आयोजना हुने  उक्त रिसेप्सनमा बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधिलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने छन्।

आइतबार बिहान प्रधानमन्त्री देउवा वर्ल्ड इनर्जी काउन्सिलका अधिकारीहरुका साथै सोही दिन भूतपूर्व गोर्खाका प्रतिनिधि समेतलाई भेट्ने प्रधानमन्त्रीको कार्यक्रम छ । सोही दिन लण्डन दूतावासले प्रधानमन्त्रीको सम्मानमा दूतावासले आयोजना गरेको रिसेप्सन उनले बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरुस“ग पनि भेट गर्ने भएका छन् ।  

आइतबार बेलुका प्रधानमन्त्री देउवा कोप २६ मा भाग लिन स्कटल्यान्डतर्फ लाग्नेछन् । सोमबार र मंगलबार उनी विश्व नेताहरुको सम्मेलनमा भाग लिनेछन् । मंगलबारका दिन उनले सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .