प्रतिनिधि सभा सदस्य सांसद डा. डिला संग्रौलाले राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा मूल मुद्दाहरुमा राष्ट्रिय सहमति कायम गरी परराष्ट्र नीति सञ्चालन गर्न माग गरेकी छन्।
नेपाल कुनै शक्ति राष्ट्रसँग नजिक बन्न खोजि रहेको हो कि भन्ने आशंका बढिरहेका बेला सांसद संग्रौलाले नेपाल जस्तो मुलुकको स्वाधीनता र सार्वभौमसत्ता मात्रै हैन, आर्थिक उन्नतिको लागि पनि सन्तुलित र परिपक्व विदेश नीति आवश्यक भएको बताइन्।
शुक्रबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयका लागि गरिएको बजेट विनियोजन सम्बन्धी छलफलमा भाग लिँदै सांसद संग्रौलाले नेपालका सबै कूटनीतिक नियोगहरुको ‘पर्फर्मेन्स अडिट’ गर्न, अनावश्यक नियोगहरुलाई बन्द गर्न र भर्चुएल कूटनीति सञ्चालन गर्ने तर्फ जोड दिनु पर्ने बताइन्।
अन्वेषक देवराज दाहालले लेखेको ‘भूमण्डलीकरण भएको वर्तमान विश्वमा साना राज्यहरु’ नामको अंग्रेजी पुस्तकको चर्चा गर्दै सांसद संग्रौलाले परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई उक्त पुस्तक पढ्न सुझाव दिइन्।
उर्जा मन्त्रालयको बारेमा बोल्दै सांसद संग्रौलाले बजेटमा आगामी दुइ वर्ष भित्र सबै नागरिकहरुलाई विद्युत सुविधा उपलब्ध गराउने प्रतिबद्धता स्वागतयोग्य भएको बताइन्।
उनले सौर्य, वायु लगायत नवीकरणीय उर्जाको विकासका लागि ठोस कार्य योजना ल्याउन पनि माग गरिन्।
Shares
प्रतिक्रिया