नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतम कम्युनिस्ट नेताहरु भेटघाटका लागि निस्किएका छन्।
गौतम अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
वामदेवले घोषणा गरेको पार्टीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार अहिले बालकोटमा वार्ता जारी छ।
‘वामदेव कमरेड सबै कम्युनिस्ट नेतासँगको भेटघाटमा निस्कन थाल्नुभएको हो,’ पाण्डेले नेपालखबरसँग भने, ‘हिजो पनि केही नेतासँग गृहकार्य भएको थियो। अहिले एमाले अध्यक्ष ओलीसँग भेट्न बालकोट जानुभएको छ। वार्ता जारी छ।’
सबै कम्युनिस्ट नेतासँग आगामी ३ महिनासम्म भेटघाट र वार्ताका कार्यक्रम राखिएको उनले जानकारी दिए। नयाँ दल घोषणा गरेलगत्तै गौतमले आगामी ३ महिना एकताका लागि गृहकार्य गर्ने बताएका थिए।
सोहीअनुसार भेटघाट अघि बढाइएको उनले बताए। ‘वार्ता सकारात्मक भयो भने अरु कुराहरु पनि अघि बढ्छ,’ पाण्डेले भने, ‘समय मिलाएर हामी सबै कम्युनिस्ट नेतासँग ३ महिनासम्म भेट्ने कार्यक्रममा छौं।’
३ महिनासम्म पनि कम्युनिस्ट पार्टी एक हुने सम्भावना नभएका खण्डमा घोषित नयाँ दल दर्ताको प्रक्रियामा अघि बढ्ने उनले बताए।
Shares
प्रतिक्रिया