ad ad

राजनीति


अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति

फाइल तस्बिर


नेपालखबर
असार २२, २०७९ बुधबार १४:१२, काठमाडौँ

बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरु प्रवेश गराएको आरोप झेलिरहेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति बन्ने भएको छ।

शर्मामाथि छानबिनका लागि संघीय संसदले संसदीय समिति बनाउन दलहरूसँग छलफल अघि बढाएको छ। 

त्यसका लागि अहिले सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफलमा छन्। 

त्यसैगरि उनले प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल र माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसँग पनि छलफल गरिरहेका छन्।  

अर्थमन्त्री तीव्र विवादमा परेपछि सभामुख अग्नि सापकोटाले बुधबार ११ बजे बोलाइएको संसद बैठक नै रोकेर दलका सचेतकसँग छलफल गरेका थिए। 

उक्त छलफलमा सभामुख व्यस्त भएपछि बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले बुधबारको संसद बैंठकमा सम्बोधन गर्ने भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गर्ने बताइसकेको छ।

संसद बैठकमा अर्थमन्त्री शर्माले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन लागेका थिए।

बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति छिराएको भन्दै शर्मा आलोचनाको घेराबन्दीमा परेका थिए।

त्यसपछि मन्त्रालयमा अनधिकृत व्यक्ति छिराएको सीसीटीभी भिडिओ माग गरिएको थियो। तर अर्थले सीसीटीभी फुटेज १३ दिनमै डिलिट भइसकेको जवाफ दिएको थियो।

कानुनअनुसार सरकारी तथा सार्वजनिक स्थानमा जडान गरिएको सीसीटीभी फुटेजको दृश्य तीन महिनासम्म हटाउन पाइँदैन। तर शर्माले १३ दिनमै फुटेज हटेको जवाफ दिएपछि उनको झन् चर्को आलोचना भएको छ।

शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै संरक्षण दिएको आरोप छ। प्रधानमन्त्रीले पनि राजीनामा दिन नभनेपछि शर्मा पद छाड्ने पक्षमा देखिएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .