डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले सत्ता गठबन्धनमा आफ्नो पनि हक लाग्ने दाबी गरेको छ।
मंगलबार (२४ साउन) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवले गठबन्धन बनाउन आफ्नो पनि भूमिका रहेकाले गठबन्धनमै सहभागी गराउन माग गरेका हुन्।
जसपा पुनर्गठन गरेर भट्टराईले नेसपा दल बनाएका छन्। उनको नयाँ दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
प्रधानमन्त्री देउवासँग आफूहरुलाई पनि गठबन्धनमा सहभागी गराउन आग्रह गरेको अध्यक्ष यादवले नेपालखबरलाई बताए।
‘हामीले यहीँ गठबन्धनमा रहेको बतायौं,’ यादवले नेपालखबरसँग भने, ‘हाम्रो भूमिका यो गठबन्धन बनाउन रहेकोले हाम्रो पनि हक लाग्छ भन्यौं, त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुभयो।’
प्रधानमन्त्री देउवाले नेसपालाई पाँचदलीय गठबन्धनमा सहभागी गराउन पहल गर्ने आश्वासन दिएका छन्।
‘म गठबन्धन बैठकमा छलफल गर्छु,’ प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै यादवले भने, ‘मैले पनि तपाईँहरुलाई गठबन्धनमा सहभागी गराउनेबारे सोचिरहेको थिएँ।’
प्रधानमन्त्री देउवा, अध्यक्षद्वय भट्टराई र यादवबीच आधा घण्टा छलफल भएको थियो।
देउवा–भट्टराईबीचको सम्वाद
देउवा–मैले पनि सोचिरहेको थिएँ, गठबन्धनमा तपाईँहरुलाई पनि सहभागी गराएर जानुपर्छ भनेर, म सकारात्मक छु। एकपटक गठबन्धनका अन्य दलका नेताहरुसँग पनि सल्लाह गरेर तपाईँहरुलाई खबर गर्छु।
बाबुराम–यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ। त्यसकारण गठबन्धनमा हाम्रो पनि हक र दाबी लाग्छ।
नेसपाका अध्यक्ष यादवले केही दिनमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी गरेर निस्किएको बताए।
Shares
प्रतिक्रिया