ad ad

राजनीति


सभामुखको रोहबरमा जबराविरुद्ध महाभियोग समितिको पहिलो बैठक

सभामुखको रोहबरमा जबराविरुद्ध महाभियोग समितिको पहिलो बैठक

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा


नेपालखबर
साउन २५, २०७९ बुधबार ११:४२, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगबारे छानबिन गर्न गठित समितिको बैठक अहिले बस्दै छ। 

सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा महाभियोग सिफारिस समितिको पहिलो बैठक बस्न लागेको हो। 

बैठक दिउँसो १२ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बस्ने समितिका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।

२२ साउनको संसद बैठकले महाभियोग प्रस्ताव बहुमतले पारित गर्दै महाभियोग सिफारिस समितिमा पठाएको थियो। 

महाभियोग सिफारिस समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसदमा पेस गर्ने समयसीमा पाएको छ।

महाभियोग प्रस्ताव प्राप्त भएपछि महाभियोग सिफारिस समितिले यथाशीघ्र कारबाही प्रारम्भ गर्नुपर्ने भएकोले पहिलो बैठक बस्न लागेको ती सदस्यले जानकारी दिए।

आजको बैठकले महाभियोग सिफारिस समितिले संयोजक तोकेर आवश्यक कार्यविधि बनाउन सक्नेछ।

समितिले कारबाही सुरु गरेपछि सात दिनभित्र आरोपितलाई लागेको आरोपको सफाइ पेस गर्ने मौका दिन सक्नेछ।

समितिमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सांसद लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन्। यस्तै, नेपाली कांग्रेसबाट मीनबहादुर बिश्वकर्मा र रामबहादुर बिष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन्।

प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुन २०७८ मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

२०७८ फागुन २२ गते प्रतिनिधि सभाले राणाविरूद्ध महाभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। २९ फागुन २०७८ मा बसेको प्रतिनिधि सभा बैठकमा महाभियोगको प्रस्ताव पेस भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .