राजनीति


गुल्मी २ मा गोकर्ण विष्ट कि रामकुमारी झाँक्री?

तालमेलका लागि वार्ता गर्दै एमाले-समाजवादी
गुल्मी २ मा गोकर्ण विष्ट कि रामकुमारी झाँक्री?

फाइल तस्बिर


सुदीप भण्डारी
भदौ १७, २०७९ शुक्रबार ११:५९, बुटवल

आगामी मंसिरमा संसदीय निर्वाचन हुने भएपछि  गुल्मीमा दलहहरुबीच रस्साकस्सी सुरु भएको छ। 

गुल्मी एमाले र कांग्रेस दुवैका चर्चित नेताहरुबीच हुने प्रतिस्पर्धाका कारण चर्चामा रहिरहन्छ। 

एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, कांग्रेस नेता चन्द्र भण्डारी र एकीकृत समाजवादीसचिव रामकुमारी झाँक्रीको गृह जिल्ला हो गुल्मी। 

२०७४ मा प्रत्यक्षबाट निर्वाचित ज्ञवाली र विष्ट अहिले पनि संघीय सांसद छन्। भण्डारी एक पटक गुल्मीबाट संविधान सभामा पुगिसकेका छन्। एमालेबाटै समानुपातिक सांसद भएकी झाँक्री नयाँ पार्टीबाट अनुमोदित हुने दाउमा छिन्। 

यसपटक उनले गुल्मीबाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छन्। केही दिनअघि फेसबुकमा तस्वीरसहित लेख्दै झाँक्रीले आफू गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेद्वार बन्ने बताएकी थिइन्। उनले एमालेको विरासत तोडेरै देखाउने चुनौती पनि सार्वजनिक गरिन्। 

पछि उनले स्टाटस मेट्दै उनले कसैको विरासत भत्काउँछु भनेर नभनेको भन्दै खण्डन गरेकी थिइन। झाँक्रीले गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने कुरा सत्य भए पनि कहाँबाट कसरी भन्ने प्रक्रिया बल्ल सुरु हुने बताएकी थिइन्। 

तर, उनी केही समययता गुल्मीबाट प्रत्यक्ष चुनाव लड्ने गरी गाउँ गउँमा पुगिरहेकी छन्। 

झाँक्रीको पार्टी एकिकृत समाजवादीले कांग्रेससँग गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको छ। तर, गुल्मीमा गठबन्धन गर्दा झाँक्रीले टिकट पाउने नपाउने टुंगिएको छैन। 

गठबन्धनको तर्फबाट गुल्मी क्षेत्र नम्बर २ मा उमेद्वार बनेमा झाँक्री र एमाले सचिव गोकर्ण विष्ट आमने सामने हुनेछन्। 

एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले गुल्मी एउटा संघीय निर्वाचन क्षेत्र र २ वटा प्रदेश निर्वाचन क्षेत्रमा आफूहरुको दाबी रहको बताए। 

‘एउटा संघमा र दुई वटा प्रदेश सभामा हाम्रो दाबी छ। संघमा हाम्रो पार्टीबाट रामकुमारी झाँक्री नै उम्मेद्वार बन्नुहुन्छ,’ उनले भने। 

गुल्मीको एक सांस्कृतिक कार्यक्रममा रामकुमारी झाँक्री

एमालेसँग वार्ता
अध्यक्ष भण्डारीले कांग्रेससँगै एमालेसँग पनि तालमेलका लागि छलफल भइरहेको बताए। 

केन्द्रमा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले तालमेल निर्णय गरेका छन्। तर गुल्मीमा स्थानीयस्तरमा एकीकृत समाजवादी र एमालेबीच तालमेल वार्ता भइरहेको हो। 

भण्डारीले गठबन्धनतर्फ गुल्मीमा प्रतिनिधि सभाको सिट नपाएमा एमालेसँग मिल्ने संकेत गरे।

‘सकभर गठबन्धनमा टुंगियोस्। हामी दोहोरो छलफलमा छौं। कांग्रेससँग पनि तालमेल हुन सक्छ, एमालेसँग पनि हुन सक्छ,’ उनले भने ‘केन्द्रले जसरी निर्णय गरे पनि हाम्रो जिल्लाको निर्णय हामीले गर्न सक्छौं। एमालेसँग वार्ता मिले गोकर्ण पनि व्याक हुन सक्नुभयो, रामकुमारी पनि पछि हट्न सक्नुहुन्छ।’  

एमालेका गुल्मी अध्यक्ष बालसिंह काउछाले पनि गुल्मीमा समाजवादीसँग वार्ता भइरहेको स्वीकार गरे। 

‘वास्तविक वामपन्थीहरुसँग छलफल चल्ने नै भयो। समाजवादीका साथीहरुसँगको वार्ता अहिलेसम्म सकारात्मक छ,’ उनले भने ‘तर गुल्मी २ मा हाम्रो उम्मेदवार गोकर्ण विष्ट नै हो।’

काउछाले जिल्लास्तरमा दुई पार्टीबीच छलफल भए पनि झाँक्री एमालेको तर्फबाट गुल्मी २ मा उम्मेद्वार भइहाल्ने अवस्था नभएको बताए। 

‘झाँक्री तत्काल हामीतिर आइहाल्नुहुन्छ जस्तो लाग्दैन,’ उनले भने ‘हाम्रो छलफल भनेको जिल्ला कमिटीका एकीकृत समाजवादीका साथीहरुलाई घर फर्काउने हो, त्यो सकारात्मक छ।’ 

गत वैशाखमा भएको स्थानीय चुनावमा गुल्मी क्षेत्र नम्बर २ मा समाजवादी वडाध्यक्षहरुको कुल मत ६५८ आएको थियो। कांग्रेसको २९ हजार ८२१, माओवादी केन्द्रको १ हजार ८४१ आएको थियो। 

गुल्मी २ एकीकृत समाजवादीलाई दिएमा कांग्रेसले ठूलो संख्याको मत खन्याउनुपर्ने हुन्छ।

त्यसैले एकीकृत समाजवादीलाई यो क्षेत्र छोडिहाल्न पनि कांग्रेसलाई गाह्रो छ। यहाँ एमालेका वडाध्यक्षहरुले कुल ३१ हजार २५३ मत ल्याएका थिए। 

कांग्रेसले नछोडेमा यो क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य नै चन्द्र केसी उम्मेदवारमा दोहोरिन खोजेका छन्। केसीसँगै हाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य रहेका दामोदर भुसालले पनि दाबी गरेका छन्। 

गठबन्धन भएर क्षेत्र नम्बर २ नपाएमा आफ्नो दाबी क्षेत्र नम्बर १ रहेको चन्द्र केसीले बताए।

‘२ मा गठबन्धन भयो भने मेरो दाबी १ मा हुन्छ। साथीहरुले पनि १ बाट लड्नुस भन्नुभएको छ। पार्टीले के निर्णय गर्छ त्यसलाई मान्नै पर्छ,’ उनले भने। 

ज्ञवाली र भण्डारीको भिडन्त
तर गुल्मी १ चन्द्र भण्डारीको क्षेत्र हो। यो क्षेत्रमा भण्डारी र प्रदीप ज्ञवाली चिरपरिचित प्रतिद्वन्द्वी हुन्। 

ज्ञवाली एमालेको तर्फबाट यो क्षेत्रमा उम्मेद्वार हुने निश्चित जस्तै छ। केही समयअघि भण्डारी बुटवलबाट उठ्ने चर्चा चलेको थियो। 

तर भण्डारी गुल्मी १ बाटै उम्मेद्वार बन्ने कांग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले बताए। ‘उहाँ गुल्मी १ बाटै उठ्नुहुन्छ। अनौपचारिक रुपमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरिसक्नुभएको छ,’ उनले भने।

२ नम्बर क्षेत्रमा गठबन्धन हुने या नहुनेबारे केन्द्रले निर्णय गर्ने उनले बताए। तर धेरै मत रहेको गुल्मीमा गठबन्धन गरेर अरु पार्टीलाई दिँदा सोचे जस्तो परिणाम नआउने डर कांग्रेसलाई छ। 

मतको अंकगणित
२०७४ सालको चुनावमा एमालेका प्रदीप ज्ञवाली गुल्मी १ बाट ३७ हजार ८१४ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए। 

गत वैशाखमा भएको स्थानिय चुनावमा गुल्मी १ मा एमालेका वडाध्यक्षहरुको कुल मत ३५ हजार ७०१ थियो। 

कांग्रेसका वडाध्यक्षको ३१ हजार २९२, माओवादी केन्द्रको ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाको १ हजार ६०० र एकीकृत समाजवादीको ४९७ रहेका छ। एमालेको भन्दा गठबन्धनका वडाध्यक्षका उम्मेद्वारको मत साढे २ हजारले बढी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .