मोरङ क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले वर्तमान सांसद अमनलाल मोदीलाई फेरि उम्मेदवारका रुपमा सिफारिस गर्ने निर्णय गर्यो।
यही क्षेत्रबाट प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेता विनोद ढकाललाई प्रतिनिधिसभामा उठाउने सर्वसम्मत निर्णय गरेर जिल्लामा सिफारिस पठाएको छ।
यस्तोमा माओवादीकै एकजना पोलिटब्युरो सदस्य गोपी अछामीले एमाले नेता विनोद ढकाललाई बधाई तथा जितको शुभकामना दिएपछि विवाद भएको छ।
पोलिट्ब्युरो सदस्य गोपी अछामीले एमाले उम्मेदवारका रुपमा अघि सारिएका ढकाललाई सघाएको भन्दै माओवादीको एउटा पंक्तिले आलोचना गरिरहेको छ।
स्मरणीय के छ भने नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँग मिलेर एमालेविरुद्ध मोर्चाबन्दीमा छ। तर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने एमाले र माओवादीले कांग्रेसविरुद्ध गठबन्धन गरेका थिए।
राष्ट्रियसभा सदस्यसमेत रहेका अछामीले मोरङ–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस ढकाललाई सहयोग पुग्ने गरी फेसबुक पोष्ट लेखेपछि दुईथरी कोणबाट विवाद भएको छ।
एकथरीले राजनीतिक नेतामा हुनुपर्ने चरित्र भनेका छन् भने अर्काथरीले माओवादी नेता भएर एमाले नेताको पक्षमा वकालत गरेको भन्दै विरोध गरेका छन्।
ढकालसँग माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् हालका सांसद अमनलाल मोदी पनि सर्वसम्मत सिफारिस भएका छन्।
ढकाललाई बधाई र जितको शुभकामना दिएका अछामीमाथि मोदीबारे मौन रहेको भन्दै विरोध भएको छ। एमालेलाई सघाउने गरी लेखिएको पोस्टलाई लिएर अछामीमाथि कारबाहीको आवाज पनि उठेको छ।
अछामीले एमाले-माओवादी मिलेर बनेको नेकपा हुँदाका एक सहयात्रीलाई पार्टी फरक भए पनि उनको सफलतामा बेखुसी नहुने भनेका छन्।
‘पार्टी फरक भए पनि तपाईंको सफलतामा म कहिल्यै बेखुस हुने छैन, हार्दिक बधाई छ कमरेड’, ढकालसँगैको तस्बिर राखेर अछामीले लेखेका छन्।
अछामीले ढकालबारे अर्को पनि पोष्ट पनि आएको छ। ‘नेकपा एमाले मोरङ क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएकोमा मित्र विनोद ढकालज्यूलाई हार्दिक बधाई तथा विजयको लागि शुभकामना!', उनले भनेका छन्।
माओवादीको प्रदेश–१ का नेता ताजिम अन्सारीले विपक्षीको चुनाव प्रचार गरेकाले कारबाही गर्न पार्टीमा सिफारिस गरिने जवाफ दिएका छन्।
Shares
प्रतिक्रिया