चुनावी तालमेलमा आफूलाई फाइदा नहुने भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पाँच दलीय गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । यद्यपि जसपालाई पनि साथैमा राखेर सिटको भागबण्डा मिलाउन अहिले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुले अन्तिम कसरत गरिरहेका छन् ।
गठबन्धनले मागेको सिट कांग्रेसले दिन नसक्ने र तराईमा कांग्रेसले जसपाका लागि त्याग गर्न नसक्ने भएपछि उपेन्द्र यादवले गठबन्धनबाटै बाहिरिने चेतावनी दिएको पाँच दलीय कार्यदलका एक सदस्यले नेपालखबरलाई जानकारी दिए ।
पाँच दलले गठन गरेको सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक बुधबार बालुवाटारमा बोलाइएको छ । आजको यो बैठक निर्णायक हुने बताइएको छ । बैठकमा जसपाले २५ सिटको दाबी गरेको नेताहरुले बताएका छन् ।
कार्यदलको सदस्यसमेत रहेका कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘उपेन्द्र यादवजीले तराईमा २० र पहाडमा ५ गरी कुल २५ सिट माग्नुभएको छ, १० सिट मात्रै पाउने हो भने एक्लै जित्ने र १६५ स्थानमै उम्मेदवार उठाउन पाउँदा समानुपातिकमा बढी भोट आउने उहाँको तर्क छ ।’
उपेन्द्र यादवको पकड रहेको प्रदेश मधेस हो । मधेसका ३२ मध्ये उपेन्द्र यादवले २० सिट मागेका छन् । तर, कांग्रेस १६ सिटभन्दा तल झर्ने पक्षमा छैन । कांग्रेसले पनि मधेसबाट सिट बढाउन चाहेको छ ।
‘मधेसमा जसपालाई २० सिट दिन सकिँदैन,’‘ कांग्रेस नेता भन्छन्, १६ भन्दा तल कांग्रेस झर्न सक्दैन, ३२ बाटै माओवादीलाई पनि दिनै पर्यो।’
कार्यदलमा सहभागी कांग्रेस नेता भन्छन्, ‘एक्लै लड्दा फाइदा हुने देखेर जसपा आज गठबन्धनबाट बाहिरियो भने अचम्म नमाने हुन्छ।’
माधव नेपालमा एमालेकै धङधङी देखियो : कांग्रेस
सत्ता गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ३० सिट दाबी गरेको भन्दै कांग्रेस नेताहरु चिढिएका छन् ।
कांग्रेस नेता नेपालखबरसँग भन्छन्, ‘माधवजीहरुमा आफूहरु एमालेमै छु जस्तो गरी दम्भ देखियो, उहाँहरु ३० सिटभन्दा तल नझर्ने बताइरहनुभएको छ । जबकि उहाँहरुको हैसियत सबैलाई थाहा छ।’
ती नेताका अनुसार बैठकमा माओवादीको प्रस्तुति सन्तुलित देखिएको छ । माओवादीले कांग्रेसलाई ८५ देखि ९० सिट दिएर बाँकीमा अरुलाई समेट्न चाहेको कांग्रेसका ती नेताले बताए ।
उनले भने, ‘माओवादी ६० बाट झरेर ५० सिट लिन तयार देखिएको छ । कांग्रेस पनि १ सय सिटमा अडान राखे पनि ९० मा झर्न तयार छ । तर, जसपा र एकीकृत समाजवादीको अस्वाभाविक मागका कारण समस्या देखियो।’
कांग्रेसले दम्भ देखाएको साना दलको आरोप
सत्तारुढ पाँच दलबीच मंसिर ४ को चुनावमा गठबन्धन हुने नहुने निर्णय निर्णायक आज हुने भएको छ।
प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३ सय ३० सिटको बाँडफाँटमा सहमति जुटे गठबन्धन बन्नेछ। यदि सहमति नजुटेको अवस्थामा राजनीतिले फरक मोड लिने नेताहरु बताउँछन्।
सिट बाँडफाँटको सहमति जुटाएर मस्यौदा पेश गर्न गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलको बैठक अहिले पनि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बुधबार बेलुका बसेको कार्यदल बैठकमा चारै दलको आ-अडान कायम रहेपछि सहमति जुटाउन सकेको थिएन।
नेताहरुका अनुसार लचक भएको कांग्रेसले फेरि आफ्नो अडान कायम गरेपछि समस्या भएको हो। कांग्रेसले अडान राखेपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी जसपाले पनि अडान कायम राखेका छन्।
अहिले बसिरहेको बैठकमा निर्वाचन क्षेत्र अनुसार सहमति जुटाउने प्रयास भइरहेको छ। यसअघि बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई निर्वाचन क्षेत्रको विश्लेषण गरेर सिट बाँडफाँट गर्न सुझाव दिएका थिए।
सोही निर्देशन अनुसार कार्यदलले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३ सय ३० क्षेत्रकै विश्लेषण गरेको थियो। विश्लेषणमा बैशाख ३० को स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मत र २०७४ को प्रतिनिधि सभा चुनावमा प्राप्त गरेको मतसंख्यालाई आधार बनाएर छलफल भइरहेको नेताहरुले बताएका छन्।
Shares
प्रतिक्रिया