सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै गठबन्धन हुने भएको छ।
स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच सहमति नहुँदा एमालेले लाभ लिएको निष्कर्षसहित माओवादी र कांग्रेसको गठबन्धन पक्का गरिएको स्रोतले जनाएको छ।
केन्द्रको सहमतिअनुसार कांग्रेसले दुई प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य लिने भएको छ।
अर्कातिर माओवादी दुई प्रदेश सभा सदस्यमा चुनाव लड्ने गरि भागबण्डा मिलेको स्रोतले उल्लेख गरेको छ।
पूर्णबहादुर खड्काको नाम सुर्खेत १ बाट सर्वसम्मत, यस्तो छ चुनावी हिसाब
उक्त सहमतिअनुसार कांग्रेस र माओवादीले गठबन्धनबाट एकीकृत समाजवादीलाई नमिसाउने भएका छन्।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो। त्यसबेला पनि समाजवादीलाई गठबन्धनबाट बाहिरै राखिएको थियो।
कसले कुन लिने?
सहमति अनुसार माओवादीको भागमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ र २ को ‘ख’ भाग परेको छ।
माओवादी स्रोतका अनुसार निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्य कृष्ण जिसी ‘जितेन्द्र’ र २ ‘ख’बाट विन्दमान विष्टले टिकट पाउने निश्चित भएको हो।
यस्तै, प्रतिनिधि सभातर्फ पनि कांग्रेसका उम्मेदवार पक्का भएका छन्। निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का चुनाव लड्ने भएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ बाट हृदयराम थानी लड्ने निश्चित भएको स्रोतले जनाएको छ।
गएराति सत्तारुढ गठबन्धनका दुई दलबीच भएको सहमतिअनुसार निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ २ ‘क’ पनि कांग्रेसले नै पाउने निश्चित भएको छ।
Shares
प्रतिक्रिया