ad ad

राजनीति


देउवा र नेपाल व्यस्त, सत्ता गठनबन्धन बैठक बस्नै सकेन

मधेश प्रदेशका सिटलाई लिएर चर्को मतभेद
देउवा र नेपाल व्यस्त, सत्ता गठनबन्धन बैठक बस्नै सकेन

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १८:२२, काठमाडौँ

आगामी मंसिर ४ गतेको आमनिर्वाचनका लागि सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनको शुक्रबारका लागि डाकिएको बैठक नै स्थगित भएको छ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्यस्त भएको भन्दै शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबारसम्मलाई स्थगित भएको हो।

बिहीबार दिनभर कार्यदल र शीर्ष नेताहरुबीच भएको छलफलमा सहमति हुन नसकेपछि शुक्रबारका लागि बैठक सारिएको थियो

तर गठबन्धनमा गम्भीर मतभेदको समाचार आइरहेका बेला नेताहरु व्यस्त भएको भन्दै पूर्वनिर्धारित बैठक बस्न नसकेको हो। 

जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले शुक्रबार बस्न नसकेको बैठक शनिबारका लागि डाकिएको बताएका छन्। 

'नेताहरु व्यस्त भएको खबर आएको छ', सत्ता कार्यदलका सदस्यसमेत रहेका उनले नेपालखबरसँग भने, 'अब शनिबार बिहान बस्ने खबर हामीलाई आएको छ।'

प्रधानमन्त्री देउवा गृहमन्त्री बालकृष्ण खाँणलाई साथमा लिएर बीपी स्मृति दिवसको कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान चितवन पुगेका थिए।

उनी त्यहाँबाट फर्किन ढिलो भएको छ। उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा पुगेर फर्किएका छन्। 

अर्कातिर एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त भएको भन्दै बैठक बस्न नसकेको हो।

बिहीबारको बैठकमा मधेश प्रदेशका ३२ सिटलाई लिएर दलहरुबीच विवाद भएको थियो।

मधेशका ३२ सिटमध्ये करिब २० वटामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले दाबी गरेको छ। उता कांग्रेसले पनि स्थानीय निर्वाचनमा पहिलो भएको भन्दै धेरै सिटमा दाबी गरेको छ।

यादव नेतृत्वको जसपाले मधेशका ६० प्रतिशतसहित प्रदेश १ का मोरङ ५ र धनकुटामा पनि दाबी गरेको छ।

गठबन्धनमा खासगरी जसपा असन्तुष्ट देखिएको छ। कांग्रेसले पेलेको भन्दै जसपा अध्यक्ष यादवले गठबन्धनबाट बाहिरिएर नयाँ विकल्पमा जाने बताइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .