सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू बारा क्षेत्र नम्बर ४ बाट उठ्न तयार रहेको बताएका छन्।
पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका उनले सत्तारुढ गठबन्धनमा सहमति भए साझा उम्मेदवारका रुपमा बारा-४ बाट चुनाव लड्ने बताएका हुन्।
मंगलवार सिमरामा पार्टी कार्यकर्ता तथा स्थानीयसँग कुरा गर्दै उनले आफू आवश्यकताअनुसार बारा-४ बाट चुनाव लड्नसक्ने बताए।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफू आवश्यकता अनुसार बारा-४ बाट पनि उठ्न तयार रहेको बताए।
‘मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताहरुले बारा-४ मा उम्मेदवार बन्न निर्देशन दिए म यहाँ पनि आउन तयार छु’, नेता श्रेष्ठले भने।
यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ, त्यही दलले पाउने समझदारी भएको थियो। तर सत्ता गठबन्धनबीच सहमति भए आफू तनहुँ १ छोडेर बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको उनले बताए।
बारामा ठूला उद्योगमा लगानी गर्दै आएका श्रेष्ठलाई गठबन्धनका नेता-कार्यकर्ता र स्थानीय जनताले पनि बारा-४ मा आउन आग्रह गरेका छन्।
२०७४ सालको निर्वाचनमा श्रेष्ठले तनहुँ–१ बाट ३४ हजार ४ सय ९२ मत ल्याएका थिए। उनीसँग पराजित कांग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ९० मत मात्रै ल्याएका थिए।
Shares
प्रतिक्रिया