विभिन्न दलका नेताहरु चुनावमा टिकट पाउनका लागि संघर्ष गरिरहेका बेला एउमाले उपमहासचिव विष्णु रिमाल भने चुनाव नलड्ने भएका छन्।
विगतमै समानुपातिक सांसद बनिसकेका कारण उनी यसपालि समानुपातिकको सूचीमा समेत बसेनन्। नुवाकोट निवासी नेता रिमाल प्रत्यक्षतर्फ पनि चुनावव नलड्ने एमालेका एक नेताले जानकारी दिए।
रिमाल आगामी प्रतिनिधिसभामा जान नचाहेको बताउँदै एमाले स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँले म चुनावमा लड्ने होइन चुनाव गराउने र अरुलाई जिताउने भूमिकामा रहन्छु भन्दै आउनुभएको छ।’
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)बाट एमालेको राजनीतिमा उदाएका उपमहासचिव रिमाल केपी ओलीलाई दाहिने हात मानिन्छन्। ओली प्रधानमन्त्री भएका बेला रिमाल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा थिए ।
इञ्जिनियरिङ पृष्ठभूमिका रिमाललाई एमालेभित्र राजनीतिक इञ्जिनियरिङकर्ताका रुपमा समेत लिइन्छ। प्राविधिक काम एवं व्यवस्थापकीय पक्षमा उपमहासचिव रिमालको विशेष दख्खल रहेको एमाले नेताहरु बताउँछन्।
रिमालले चुनावमा भाग नलिएर पार्टीलाई जिताउनुका लागि रणनीतिक भूमिका खेल्ने एउमाले स्रोतले बतायो।
यसैबीच, नेकपा एमालेले पहिले समानुपातिक सांसद बनिसकेकालाई यसपालि बन्दसूचीमा समावेश नगर्ने नीति बनाएको छ ।
सोमबार निर्वाचन आयोगमा बन्दसूची बुझाएपछि पत्रकारसँग बोल्दै नेकपा एमालेका नेता निरज आचार्यले पहिल्यै समानुपातिक सांसद बनेकाहरुलाई यसपालि नदोहोर्याएको बताए।
साथै, उनले समानुपातिक पुराना नेताहरु नपरेको र नयाँ अनुहारहरु रहेको बताए।
Shares
प्रतिक्रिया