नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इतर पक्षले आरोप लगाएजस्तो समानुपातिक उम्मेदवारको सूचीमा पक्षपात नगरेको बताएका छन्।
मंगलबार पत्रकार सम्मेलन गरी उनले समानुपातिक सूची तयार पार्दा छलफल भएन भन्ने कुरामा पनि सत्यता नरहेको दाब गरे।
डा. शेखर कोइराला पक्षधरले समानुपातिक उम्मेदवारको सूचीमा आफूहरुलाई पाखा लगाएको भन्दै असन्तुष्टि जनाइरहेका बेला कांग्रेस संस्थापन पक्षको यस्तो धारणा आएको हो।
‘यसमा कुनै सत्यता छैन। निर्णय आम सहमतिमा भएको हो’ महतले भने, ‘पदाधिकारी, पूर्वपदाधिकारी लगायत प्रदेश सभापति, अग्रणी नेता सामेल भएर पेस भएको छ। त्रुटि छ तर पक्षपात भएको छैन।’
उनले बन्दसूची तयार पार्दा छलफल भएन भन्ने कुरामा सत्यता नभएको दाबी पनि गरेका छन्। महतले अहिले प्रतिशतमा भाग खोज्ने र यस्तो गर्छौं, उस्तो गर्छौं भन्नु बान्छनीय नहुने धारणा राखे।
उनले बन्दसूची तयार पार्दा त्रुटि भएको भने स्वीकार गरे। तर, गठबन्धनका कारण कतिपय नेतालाई बन्दसूचीमै समेट्नुपर्ने अवस्था आएको स्पष्टीकरण दिए।
‘त्रुटि भएका छन्। तर पक्ष विपक्षमा गरिएको हैन। प्राविधिक कुरा हो। गठबन्धनका कारण कतिपय नेता समेट्नु पर्नेछ। यो सबैलाई थाहा छ’ उनले थपे, ‘निर्णय केके न भयो भनेर केही साथीहरू प्रस्तुत भएको उपयुक्त हैन। सबै साथीहरू दुविधामा नपर्नु होला। विरोधमा भएका नेताहरूलाई अनुरोध गर्दछु।’
उनले समानान्तर उम्मेदवारी दिने भन्ने कतिपय नेताहरुलाई अनुशासन मान्न चेतावनीसमेत दिए।
डा. महतले भने, ‘समानान्तर उमेदवारी अनुशासन भित्रको कुरा हैन। जे भइरहेको छ अनावश्यक हो। साथीहरू पार्टीको हितमा यो कदम छैन।’
कांग्रेसले बन्दसूची निर्वाचन आयोगमा पठाएको छ। आयोगले सच्याउन दिएको समयभित्र त्यसलाई सबैलाई समेट्नेगरी आवश्यक परिमार्जन गर्ने पनि उनले बताए। उनले गठबन्धनबाट भागबण्डाको टुंगो एक दुई दिनमै लाग्ने र लगत्तै प्रत्यक्षतर्फका उम्मेदवारबारे निर्णय गर्ने बताए।
‘आजभोलि नै गठबन्धनको बाँडफाँड टुंगो लगाँउछौँ। त्यसपछि प्रत्यक्ष तर्फको टुंगो लगाउनेछौँ। प्रत्यक्षमा जनतामा लोकप्रियलाई नै ध्यान दिन्छौँ’ महतले भने।
फरक प्रशंगमा उनले नागरिकता विधेयक २ पटकसम्म संसदबाट पास भएको अवस्थामा राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान उल्लंघन भएको बताए।
Shares
प्रतिक्रिया