नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षीय समूहले पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ।
पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोईराला पक्षधर नेता कार्यकर्ताहरुले बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएका हुन्।
धर्नामा सहभागी नेताहरुले आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्नुपरेको बताएका छन्।
कांग्रेस नेता जगदीश नरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरुको मनशाय रहेको बताए। उनले डा. शेखर कोइराला पक्षका नेताहरुको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुनेगरी बन्द सूचीमा राखिएको बताए।
उनले समानुपातिक बन्द सूचीमा रहेका नामहरु सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरुको माग रहेको उल्लेख गरे।
‘समान न्याय र अवसरका लागि, पार्टी भित्र सबैलाई न्याय होस्। सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनशाय हो। जुन परिस्थिति सिर्जना भयो। समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति सशंकित बनायो। किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ। निर्वाचित नहुनेगरी केही साथीहरुको नाम छ। त्यसको अर्थ नाम झुन्डियाइदिएको छ, तर त्यो नाम निर्वाचित हुन सक्दैन। त्यसको अर्थ के हो भने शेखर समूहको अथवा पार्टीको इतर समूहको समानुपातिकमा पनि कोही पनि निर्वाचित नहोस् र भोली प्रत्यक्ष टिकट दिँदा पनि हरेक ठाउँमा त्यही ढंगले अन्यायपूर्वक निर्णय हुन थाल्यो भने त्यसलाई हामीले पार्टीका नेताहरुलाई सचेत गराएका हौँ', उनले भने, 'पार्टीभित्र त्याग, तपस्या, बलिदानी, निष्ठा, आदर्श, लोकप्रियता, जनप्रियता, जनताबीच रहेका, टिकट दिँदा त्यस्ता मान्छेले पाउनुपर्छ। टिकट दिँदा समूहका नाममा, आफ्नो मान्छेका नाममा बलजफ्ती गर्नु हुन्न। टिकट दिदाँ जनप्रिय मान्छे, चुनाव जित्न सक्ने मान्छे चाहिन्छ। समानुपातिक सूची नसच्याउने संस्थापन पक्षको एक भए हाम्रो दुई हुनुपर्यो। उहाँहरुको तीन भए हाम्रो चार हुनुपर्यो। यसरी सच्याउनुपर्छ भन्ने हाम्रो पार्टीलाई आग्रह हो।’
नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताए। उनले बन्द सूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने बताए।
‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयास जस्तो देखियो। समानुपातिकको बन्दसूचीबाट', उनले भने, 'यसमा आमकार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ। सच्याइएन भने यसले पार्टीलाई सकाउने बाटोमा लान्छ।’
कांग्रेस नेता भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टिप्पणी गरे। उनले पार्टीको अधिवेशनमा अरुलाई भोट दिएको आधारमा नेताहरुको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताए।
‘समान अवसर र न्यायको खाँचो छ। यो कसैको व्यक्तिगत पार्टी होइन। यो पार्टीमा लाग्ने हरेकको यो पार्टीमा उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्यांकन हुन जरुरी छ। मापदण्ड बनाउनु जरुरी छ', उनले भने, 'हिजो त्याग गरेकाहरुले अधिवेशनमा कसलाई भोट दिए, कसलाई भोट दिएनन् भन्ने आधारमा उनीहरुको राजनीति सक्न खोज्ने, उनीहरुको राजनीतिक हत्या गर्न खोज्ने, उनीहरुलाई किनारामा लाउन खोज्ने काम भइरहेको छ। यसले कांग्रेसलाई थप कमजोर बनाउँछ। पार्टीलाई बलियो बनाउन सक्दैन भन्ने हाम्रो कुरा हो।’
उनले पार्टी भित्र हरेक कार्यकर्ताहरुको मूल्यांकन गर्ने मापदण्ड बनाउनु जरुरी रहेको बताएका छन्।
Shares
प्रतिक्रिया