ad ad

राजनीति


दसैंमा नाच्दै बिदा हुने तरखरमा राजदूत : जो एक विशेष मिसनमा सफल भए, अर्कोमा विफल

दसैंमा नाच्दै बिदा हुने तरखरमा राजदूत : जो एक विशेष मिसनमा सफल भए, अर्कोमा विफल

दसैंको अवसरमा शनिबार अमेरिकी दूतावास लाजिम्पाटमा रमाउँदै विदा हुन लागेका राजदूत र्‍यान्डी बेरी (सबै तस्बिर बेरीको ट्विटरबाट)


सन्तोष घिमिरे
असोज १६, २०७९ आइतबार ८:१४, काठमाडौँ

‘काठमाडौंमा उल्लासपूर्वक मनाइने दसैँ म मिस गरिरहनेछु। यो यहाँको विशेष बेला हो। दसैँं मनाइरहेका सबैको रमाइलोसँग समय बितोस् भन्न चाहन्छु। दसैँंको धेरै धेरै शुभकामना।’

नेपालमा राजदूतको कार्यकाल सकेर अमेरिका फर्किन लागेका र्‍यान्डी बेरीले दसैँंको शुभकामना दिँदै यस्तो सन्देश लेखेका थिए घटस्थापनाका दिन। यो सन्देशसँगै उनले कमलादीस्थित आफ्नो निवास परिसरमा चङ्गा उडाउँदै गरेको तस्वीर पनि राखे। दसैँंका बेला काठमाडौंमा चङ्गा उडाइन्छ भन्ने राम्रो बुझेका राजदूत बेरीले जाँदाजाँदै नेपालीको मन जित्न त्यसरी तस्वीर सहित शुभकामना दिए।

भनिन्छ, एउटा राजदूतले अर्को देशसँग सम्बन्ध विस्तारका लागि राजनीतिक तहसँग मात्र नजिक रहेर पुग्दैन, जनसम्पर्क पनि राम्रो बनाउनु पर्छ। उसले जनताको तहमा पनि आफूलाई उत्तिकै भिजाउन सक्नुपर्छ। अमेरिकी राजदूत बेरीले काठमाडौंमा त्यसै गरे।

काठमाडौंमै राजदूत भन्दा तल्लो तहमा रहेर विगतमा काम गरिसकेको अनुभवले हुनुपर्छ बेरीले यसपटक राजदूतका रुपमा काम गर्दा नेपाली नागरिकको मन जित्ने गतिविधिमा पनि आफूलाई संलग्न गराए सुरुदेखि नै। सामाजिक संजालमा उनका तस्वीरहरू हेर्दा मात्रै पनि थाहा हुन्छ– उनी जनकपुरको छठ पर्वदेखि काठमाडौंको ल्होसारमा प्रत्यक्ष सहभागी भए।

नेपालीले मनाउने चाडपर्वमा सहभागी हुनु ‘पब्लिक र कल्चरल डिप्लोमेसी’ को एउटा पाटो हो, जसले हँसिला राजदूत बेरीलाई नागरिकमाझ बढी परिचित गरायो।

राजदूत बेरी नेपालको सुन्दरताको वर्णन गरेर कहिल्यै थाकेनन्। काठमाडौंको नेवारीदेखि तराईका खानाको स्वाद लिए। हिमालदेखि तराईसम्म धेरै ठाउँ घुमेका बेरीलाई हाम्रो प्राकृतिक सुन्दरताले लोभ्याइरह्यो। नेपालीको आतिथ्य सत्कारले उनलाई सधैं तानिरह्यो।

‘पब्लिक डिप्लोमेसी’ अन्तर्गत बेरीको एउटा काम चाहिँ विवादित बन्यो। बेरीले सन् २०१९ मे महिनामा ‘राजदूतसँग गफगाफ’ साप्ताहिक अनलाइन कार्यक्रम अघि सारे, जसअन्तर्गत उनले हरेक हप्ता सार्वजनिक विषयमा नेपाली नागरिकका प्रश्नको जवाफ भिडियोबाट दिन्थे।

परराष्ट्र मन्त्रालयले आपत्ति जनाएपछि उनको त्यो कार्यक्रम रोकियो।

अमेरिकी राजदूतहरुले विगतमा नेपालको घरेलु मामिलामा सार्वजनिक रुपमै टिप्पणी गरेका उदाहरण छन्। जस्तो २०६२/६३ को जनआन्दोलन ताका राजदूत रहेका जेम्स एफ मोरियार्टी सार्वजनिक रुपमा तत्कालीन विद्रोही माओवादीलाई ‘आतंककारी’ भन्दै खरो विरोधमा उत्रिन्थे। उनीपछिका अमेरिकी राजदूत न्यान्सी पावेल, स्कट एच डेलिसि, पिटर बोडी र एलाइना टेप्लिज नेपालको शान्ति प्रक्रियाप्रति टिप्पणी गरिरहन्थे।

सायद फरक परिस्थिति भएर पनि होला, बेरी आफ्ना पूर्ववर्तिका ती कुरा अनुसरण गर्नतिर लागेनन्। बरु नेपालमा अमेरिकी ‘सफ्ट पावर’ अभिवृद्दि गर्नमै बढी केन्द्रित भए।

नेपालमा राजदूत बेरी कति सफल भए, अमेरिकी दूतावास र स्टेट डिपार्टमेन्टले मूल्यांकन गरेकै होला।

बेरीकै कार्यकालमा नेपाल र अमेरिकाबीच भेनेजुएलामा सिर्जित राजनीतिक संकटबारे मतान्तर छरपस्ट भयो। तत्कालीन सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले भेनेजुएला संकटमा लिएको नीतिको आलोचना गर्दा राजदूत बेरीले आपत्ति जनाए। नेपाल सरकारले भेनेजुएला संकटबारे वक्तव्य नै निकाल्नु पर्ने परिस्थिति बन्यो। अमेरिका त्यसपछि पनि सन्तुष्ट भएन। राजदूत बेरीले असन्तुष्टी प्रकट गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीले काठमाडौंस्थित राजदूतहरुका लागि आयोजना गरेको कुटनीतिक ब्रिफिङ नै बहिस्कार गरे।

भेनेजुएला प्रकरणपछि प्रचण्ड र अमेरिकाबीचको सम्बन्ध चिसिएको भनिएपनि एमसीसी प्रकरणमा प्रचण्डले अन्ततः अमेरिकालाई खुसी पारे, एमसीसी संसदबाट अनुमोदन गराएर। यद्यपी भेनेजुएला प्रकरण सेलाउन नपाउँदै प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका गए, जसको सबै प्रबन्ध उनै बेरीले मिलाइदिए।

नेपालको राजनीतिक मामिलामा सार्वजनिक टिप्पणी नगरेपनि अमेरिकाको रणनीतिक स्वार्थ जोडिएका विषयमा बेरीले छिटफुट मन्तव्य दिइरहे। त्यसमध्ये एक थियो– २०१९ अक्टोबरमा एमसीसी सम्झौता र सैन्य कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे उनले दिएको अभिव्यक्ति। काठमाडौंस्थित एक थिंक ट्यांकले गरेको छलफलमा उनले नेपालमा एमसीसी सम्झौता र एसपीपीबारे मिथ्या सूचना फैलाउने काम भएको वक्तव्य दिए। बेरीको त्यस्तो टिप्पणी आउँदा नेपालमा एकातिर तत्कालीन सत्तारुढ दल नेकपाभित्र एमसीसी सम्झौतालाई लिएर आन्तरिक विवाद बढ्दै थियो भने अर्कोतिर जनमानसमा अमेरिकी सेना आउने र त्यो नेपालको सार्वभौमसत्ताका लागि घातक हुने भाष्य निर्माण भइरहेको थियो।

राजदूत बेरीले अमेरिकी दूतावासका सोसल मिडिया अकाउन्ट र सार्वजनिक छलफलका माध्यमबाट त्यो भ्रम चिर्न अभियान नै छेडे। केही मिडियामा एमसीसी र दूतावासले विज्ञापन नै दिएर एमसीसी सैन्य कार्यक्रम नरहेको भनेर बुझाउन निकै मेहनत गर्नुपर्यो। अझै पनि ‘एमसीसी सम्झौता अमेरिकी सेना नेपाल छिर्ने माध्यम हो’ भन्ने भान सर्वसाधारणमा परिरहेकै छ। नेपाली नागरिकमा जे बुझाई रहेपनि एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन भई अहिले कार्यान्वयनको चरणमा छ, जुन राजदूत बेरीको नेपाल कार्यकालको सबैभन्दा सफल काम मान्न सकिन्छ।

केही नेताहरू राजदूत बेरीले काठमाडौं आएदेखि नै एसपीपीबारे उच्च तहमा कुराकानी गर्ने गरेको सम्झिन्छन्। शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेपछि बेरीले सायद सहज अवस्था देखे र एसपीपी अघि बढाउन छलफल तीब्र बनाए। खासगरी देउवा सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालसँग एसपीपी सम्झौता टुंग्याउन बेरी अनौपचारिक छलफलमा थिए। रिजालले नेपालखबरलाई त्यसबेला बताएअनुसार, बेरी र उनीबीच संसदबाट एमसीसी सम्झौता अनुमोदन भए लगत्तै एसपीपी सम्झौतामा सही गर्ने तयारी अगाडि बढेको थियो। त्यसैअन्तर्गत बेरीले २०२१ फेब्रुअरीमा रिजाललाई अमेरिकाको औपचारिक भ्रमण गराउने तयारी गरिरहेका थिए। छोटै समयमा रक्षामन्त्री पदबाट राजीनामा दिएकाले रिजाल अमेरिका भ्रमणमा जान पाएनन्। रक्षा मन्त्रालयका एक अधिकारीका भनाइमा यदि रक्षामन्त्री रिजाल अमेरिका भ्रमणमा जान पाएका भए संभवतः त्यसबेलै एसपीपी सम्झौता हुने थियो।

भिडिओ : बेरीको विदाई सन्देश

रिजाल पदबाट हटेपछि रक्षामन्त्रीको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री देउवा र सत्ताधारी दलका प्रमुख नेतालाई बेरीले एसपीपी सम्झौताका लागि ‘नरम दबाब’ दिइरहे। तर जब गत असारमा एसपीपी सम्बन्धि सम्झौताको मस्यौदा सार्वजनिक भयो, परिस्थिति फेरियो। एसपीपी सम्झौताबाट अमेरिकाले नेपाललाई हिन्द प्रशान्त रणनीति अन्तर्गत अमेरिकी सैन्य छातामा लैजान खोजेको भनेर तीव्र विवाद र राष्ट्रिय बहस भयो। अनि देउवा सरकारले एसपीपी अघि नबढाउने भन्दै अमेरिकालाई औपचारिक पत्र लेखिदियो। जुन राजदूत बेरीका लागि आफ्नो नेपाल कार्यकालको उत्तरार्धतिरको तीतो घटना बन्यो। एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन विशेष भूमिका खेलेका बेरीको यो मिसन भने असफल भयो।

बेरी आफू नेपालमै रहँदा प्रधानमन्त्री देउवालाई अमेरिकाको औपचारिक भ्रमण गराउन चाहन्थे। तर, एसपीपी अघि नबढाउने निर्णयपछि देउवाको अमेरिका भ्रमण पनि रोकियो। देउवालाई ह्वाइट हाउसमा रेड कार्पेट बिछ्याउन राजदूत बेरीले थालेको प्रयास असफल सावित भयो।

राष्ट्रपति बाइडेनको लोकतन्त्रसन्बन्धि विशेष पहलमा नेपाललाई सहभागी गराउनु राजदूत बेरीको अर्को एउटा सफलता हो। २०२१ डिसेम्बरमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको लोकतन्त्रसम्बन्धि शिखर सम्मेलनमा भर्चुअल रुपमा प्रधानमन्त्री देउवालाई सहभागी गराउन सफल भए बेरी। विश्वका निश्चित मुलुकलाई लोकतन्त्रको नारामा अमेरिकासँग जोडेर चीन र रुसजस्ता शक्ति राष्ट्रलाई रणनीतिक सन्देश दिन बाइडेनको लोकतन्त्रसम्बन्धि सम्मेलन सफल रह्यो। लोकतन्त्र प्रवद्र्धन गर्ने अमेरिकी पहलमा देउवा यस क्षेत्रबाट सारथी हुनु बेरीको सफलता थियो।

बाइडेनले अर्को तीन महिनाभित्रै लोकतन्त्रसम्बन्धि दोस्रो शिखर सम्मेलन गर्दैछन्, जसमा देउवाले फेरि भाग लिने अपेक्षा छ।

यसवर्ष नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ हो। त्यसै अवसरमा राजदूत बेरीले नेपाल र अमेरिका दुवैतिरबाट उच्चस्तरीय भ्रमणका लागि कोशिश गरे। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस वा विदेशमन्त्री एन्टोनी ब्लिंकनले नेपाल भ्रमण गर्ने तयारी भइरहेका बेला नेपालले एसपीपी सम्झौता ‘नो’ भनेपछि उच्च भ्रमणको त्यो संभावना एकाएक हराएर गयो। तर अमेरिकाबाट विभिन्न डिपार्टमेन्टका अधिकारीहरुको नेपाल भ्रमण भने झन् बढेकै छ।

नेपालसँग कुटनीतिक सम्बन्ध स्थापित भएको ७५ औं वर्षगाँठका अवसरमा अमेरिकी दूतावासले काठमाडौंमा विविध कार्यक्रम गरिनै रहेको छ। गत अप्रिलमा राजदूत बेरीले त्यही अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि बने प्रधानमन्त्री देउवा। अमेरिकी दूतावासले आयोजना गरेका कार्यक्रममा नेपालका प्रधानमन्त्री विरलै सहभागी हुने गरेका छन्। देउवा यसपाली बेरीको निम्तो मान्न गए।

राजदूत बेरीले आफ्नो कार्यकालमा अमेरिकाका रणनीतिक साझेदार मुलुकका नेपालस्थित राजदूतहरुसँग पनि छलफल बढाए। जसले अमेरिका र ती मुलुकका साझा रणनीतिक स्वार्थ पुरा गर्न योगदान दिएको देखियो। जस्तो गतवर्ष नोभेम्बरमा राजदूत बेरी, अष्ट्रेलियाकी राजदूत फेलोसिटी भल्क र बेलायती राजदूत निकोला पोलिट रारा क्षेत्रको भ्रमणमा गए। अष्ट्रेलिया र बेलायत अमेरिकाका भरपर्दा रणनीतिक साझेदार मानिन्छन्। अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच नयाँ रणनीतिक गठबन्धन ‘अकस’ बनेको केही समयपछि चीनसँग सीमा जोडिएको नेपालको मुगुको रारा क्षेत्रको भ्रमणमा यी तीन देशका राजदूत निस्कनुलाई संयोग मात्रै मान्न सकिन्न।

नेपालमा चीनको बढ्दो चासो र प्रभावबीच राजदूत बेरीको अर्को सफलता नेपाल र अमेरिकाबीचको सम्बन्ध गतिशील बनाउनु हो। तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया, पाँच प्रभावशाली सांसदको भ्रमण र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका प्रभावशाली जनरल चाल्र्स ए फ्लिनको नेपाल यात्रा यही बीचमा भयो।

नेपालमा आफ्नो विशेष छाप छाड्न सफल राजदूत बेरी केही दिनमै काठमाडौंबाट विदा हुँदैछन्। सामाजिक संजालमा सक्रिय राजदूत बेरीले शनिबार अर्को तस्वीर ट्विटमा राखेका छन्, जहाँ उनी सयपत्री फूलको माला, टिका, जमरा र ढाका टोपीमा सजिएर नेपालीसँग छमछमी नाचिरहेका देखिन्छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .