नेपालका लागि चीनका पूर्वराजदूत ली तपियाओको निधन भएको छ। पूर्व राजदूत लीको गतसाता बेइजिङमा ९१ वर्षको उमेरमा निधन भएको हो।
चीनका लागि नेपालका पूर्वराजदूत लीलामणी पौड्यालले ‘नेपाल र आफूले एक असल चिनियाँ मित्र गुमाएको’ उल्लेख गर्दै भने, ‘नेपाललाई माया गर्ने एक चिनियाँ कुटनीतिज्ञको निधनमा दुखी छु।’
ली २०४३ चैतदेखि २०४८ साउनसम्म पाँच वर्ष काठमाडौंमा चीनका राजदूत थिए। पञ्चायतको उत्तरार्धतिर राजदूतका रुपमा काठमाडौं आएका लीको भूमिका चीन—नेपाल सम्बन्ध स्थिर राख्न महत्वपूर्ण रहेको मानिन्छ।
‘राजदूतको हैसियतमा लीले भारतको आर्थिक नाकाबन्दीका बेला अत्यावश्यक वस्तुको आपूर्तीलाई निरन्तरता दिन र सन् १९९० को राजनीतिक संक्रमणकालमा चीनसँग सुमधुर सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए,’ पूर्व नेपाली राजदूत पौड्यालले लीको निधनमा स्मरण गरेका छन्।
काठमाडौंले बेइजिङसँग सम्बन्ध बढाएको भन्दै भारतले त्यसबेलै नेपालमाथि महिनौं आर्थिक नाकाबन्दी लगायो, जसका कारण मरिचमान सिंह नेतृत्वको तत्कालीन सरकार समस्यामा पर्यो। नेपालले चीनबाट हतियार ल्याएकोमा निकै असन्तुष्ट बनेको भारतको राजीव गान्धी सरकारले नाकाबन्दी लगायो, जसले नेपालमा तेल तथा खाद्यान्नको हाहाकार भयो।
२०४५ सालको भूकम्पले थिल्थिलिएको नेपाल नाकाबन्दीका कारण थप पीडामा परेको थियो। तर तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह भारतसँग झुकेनन्। उनले चीन लगायत अन्य मुलुकबाट तेल र खाद्यान्न ल्याउने निर्णय लिए। त्यहीबेला नेपाल—भारत पारवहन सन्धि नवीकरणको समय नजिकिइरहेको थियो। तर भारतसँगको असमझदारीका कारण नवीकरण भएको थिएन। जसका कारण भारतले नेपाललाई पारवहन सुविधा दिन अनेक बखेडा झिक्यो। नेपालको तेस्रो देशसँग व्यापारमा समस्या आयो।
यस्तो संकटपूर्ण अवस्थामा राजदूत रहेका ली तपियाओेले नेपालमै तेल भण्डारण केन्द्र स्थापनाका लागि चीनको सहयोग रहने आश्वासन चीन सरकारका तर्फबाट दिएका थिए। त्यसअनुसार नेपाल र चीन सरकारले तिब्बतबाट नेपालतर्फ दीर्घकालीन रुपमा तेल आपूर्तिका लागि पाइपलाइन निर्माणको योजना बनाए। योजनाअनुसार पहिलो चरणमा तिब्बतको ल्हासासम्म तेल पाइपलाइन बिछ्याउने, दोस्रो चरणमा त्यसलाई सिगात्सेसम्म ल्याउने र तेस्रो चरणमा काभ्रेको पाँचखालमा तेलको पाइपलाइन ल्याइपुर्याउने र त्यहीँ तेल भण्डारण गर्ने सल्लाह भयो।
चीनले पाँचखालसम्म तेल पाइपलाइन ल्याउने कुरा गोप्य राख्ने सहमति भएको थियो। तर त्यो कुरा भारतले तत्कालै थाहा पायो अनि भारतले अमलेखगन्जसम्म तेल पाइपलाइन निर्माणको प्रस्ताव राख्यो। त्यो प्रस्ताव नेपालले त्यसबेला नमानेको तत्कालीन वाणिज्यमन्त्री नरबहादुर बुढाथोकीले एक अन्तर्वार्तामा खुलाएका छन्। जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारले पूर्ववर्ती सरकारले सुरु गरेका कतिपय काम अघि बढाएन, बरु भारतसँग नै सम्बन्ध बढायो।
नेपालीसँग निरन्तर सम्पर्कमा थिए ली
पूर्वराजदूत ली तपियाओे सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएपछिका पहिलो ब्याचका थुप्रै चिनियाँ कुटनीतिज्ञ मध्ये एक थिए। एक अन्र्तवार्तामा लीले आफूले कुटनीतिज्ञ भएर सेवा गरेका थुप्रै मुलुकमध्ये नेपालप्रति सबैभन्दा बढी आत्मियता महशुश गरेको बताएका थिए।
राजदूतबाट हटेपछि पनि उनले अन्य हिसाबले नेपाल–चीन सम्बन्ध प्रवद्र्धन गर्न काम गरेको पूर्वराजदूत पौड्याल बताउँछन्। ली नेपाल—चीन अन्तर्राष्ट्रिय बुद्धिस्ट कल्चर फाउन्डेशन र नेपाल—चीन इकोनोमिक एन्ड टे«ड एसोसिएसनमा चीनतर्फबाट अध्यक्ष भएर सक्रिय थिए।
राजा वीरेन्द्र र पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लगायत केही नेपालीसँग पूर्वराजदूत ली निरन्तर सम्पर्कमा थिए र, बेइजिङस्थित नेपाली दूतावासमा हुने कार्यक्रमहरूमा आइरहन्थे।
पूर्वराजदूत पौड्यालले बेइजिङस्थित दूतावासमा चिनियाँ लगानी नेपाल भित्र्याउने उद्देश्यले आयोजना गरेको एक कार्यक्रममा लीले चिनियाँ लगानीकर्तालाई नेपाल जान प्रोत्साहित गरेका थिए। त्यो प्रयास अन्तर्गत नेपाल सरकारले २०७३ मा आयोजना गरेको लगानी सम्मेलनमा उल्लेख्य चिनियाँ लगानीकर्ता सहभागी भएको पौड्याल स्मरण गर्छन्।
Shares
प्रतिक्रिया