ad ad

राजनीति


एमाले छाडेपछि घनश्याम भुसालको भाषण : माओवादी फौज अब जाग्यो, मंसिर ४ सम्म विश्राम लिँदैन (भिडिओ)

भोट फकाउन कार्यकर्तादेखि प्रचण्ड र देउवाको पनि प्रशंसा
एमाले छाडेपछि घनश्याम भुसालको भाषण : माओवादी फौज अब जाग्यो, मंसिर ४ सम्म विश्राम लिँदैन (भिडिओ)

माओवादीको प्रशिक्षणमा सम्बोधनका क्रममा नेता घनश्याम भुसाल


ज्ञानेन्द्र खड्का
असोज ३०, २०७९ आइतबार १३:५०, काठमाडौँ

नेपालको कम्युनिष्ट आन्दोलनबारे राम्रो ज्ञान भएका र बौद्धिक नेताका रुपमा परिचित छन् घनश्याम भुसाल। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् अर्थ तथा योजना विभागका प्रमुख रहेका भुसालले मंसिर ४ को प्रतिनिधिसभा चुनावको टिकट पाएनन्।

अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको भन्दै असन्तुष्ट बनेका उनले लगत्तै असोज २२ मा एमाले छाडेर स्वतन्त्र भएको घोषणा गरे। 

उनले अध्यक्ष ओलीमाथि एमालेका तत्कालीन १० भाइलाई प्रताडित गरेको आरोप पनि लगाए। एमाले छाडिसकेपछि भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्ने चर्चा चल्यो। 

भुसाल आफैं २०७४ को निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित भएका थिए। तर, यस पटककको चुनावमा उनको नाम रुपन्देही क्षेत्र १ र ३ दुवै क्षेत्रबाट उम्मेदवारका रुपमा क्षेत्रीय कमिटीबाट सिफारिस भएको थियो। 

तर दुई ठाउँबाट सिफारिस हुँदा पनि पार्टीले टिकट नदिएपछि उनले रुपन्देही १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरे।

स्वतन्त्र भएको बताएका उनी रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उठ्ने निर्णयमा पुगे। जबिक त्यही क्षेत्रबाट एमालेकै सचिव छविलाल विश्वकर्मा उम्मेदवार छन्। 

भुसालले रणनीतिक रुपमा रुपन्देही क्षेत्र नम्बर १ रोजेपछि त्यसले एमालेमा हलचल ल्यायो भने कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धन हौसियो। 

त्यसपछि माओवादीले आफ्नो कोटामा परेको त्यही क्षेत्र भुसाललाई दिन छलफल अघि बढायो।  

विश्वकर्माविरुद्ध उठ्ने निर्णय गरेका उनलाई तत्कालै नेकपा माओवादी केन्द्रले सघाउने निर्णय गर्‍यो। माओवादीले गठबन्धनबाट आफ्नो भागमा परेको क्षेत्र भुसाललाई दियो। 

माओवादीले देशभर पाएका ४७ सिटमध्ये भुसालका लागि रुपन्देही-१ छाड्यो। त्यहाँ उठ्न तयार नेतालाई माओवादी अध्यक्ष प्रचण्डले कन्भिन्स गरेर ब्याक गराए। 

उता एमाले छाडेका अर्का नेता प्रभु साहका लागि माओवादीले रौतहट-३ मा आफ्नो उम्मेदवारी निष्क्रिय गरायो। निर्वाचन आयोगले दिएको उम्मेदवारी फिर्ता लिने समय सकिएपछि माओवादीले उक्त निर्णय लिएको थियो। 

चुनावी माहोल बढेसँगै भुसालले साता नबित्दै आफूलाई माओवादीकै नेताका रुपमा उभ्याउन थालेका छन्। गठबन्धनका चुनावी कार्यक्रममा उपस्थित भएर बोल्न थालेका उनका भाषणका शब्द माओवादी नेताका भन्दा गहकिला छन्। 

आफ्नै पूर्वपार्टी एमालेविरुद्ध चुनाव जित्ने योजनासहित सत्ता गठबन्धनको साथ लिएका भुसालले शनिबार रुपन्देही १ मा माओवादीले आयोजना गरेको कार्यकर्ता लक्षित चुनावी कार्यक्रमलाई सम्बोधन गरे।

माथि हँसिया हथौडा र तल त्रिभुज चुनाव चिह्न टाँगिएको ब्यानरसहितको पोडियमअगाडि उभिएर उनले कांग्रेस र माओवादीको खुलेर प्रशंसा गरे।

भिडिओ :

एमाले छाडेपछि स्वतन्त्र उठेको आफूलाई सघाएका कांग्रेस र माओवादीको प्रशंसामा उनले कुनै कञ्जुस्याइँ नगरेको भिडिओमा सुन्न सकिन्छ।

सत्ता गठबन्धनका अन्य नेताले जस्तै देश विकासका लागि कांग्रेस-माओवादीसहितको वाम-लोकतान्त्रिक गठबन्धन लामो समय चल्नुपर्नेसम्म उनले वकालत गर्न पछि परेनन्। 

भुसाल नेकपा हुँदा तीन शीर्ष नेताको विवाद हुँदा पनि प्रचण्ड र माधव नेपाल समूहमा उभिएका थिए। २०७७ फागुन २३ मा नेकपा भंग भएपछि उनले वाम एकताको पक्षमा विभिन्न लेख रचना र अभिव्यक्ति दिँदै आएका थिए।  

एक पटक फेरि भुसालले शनिबार गरेको भाषणबारे चर्चा गरौँ।

'हामीले सानदार जित्नुपर्ने छ। त्यो सानदार भनेको अत्यन्त अनुशासित भएर हो। यो एउटा लडाइँ हो। यसलाई उच्च स्पिरिटसहित जित्नुपर्नेछ', उनले रुपन्देही १ का माओवादी र कांग्रेस कार्यकर्तालाई फुर्क्याउँदै शनिबार भने, 'वामपन्थीहरु मिल्दा देशमा ठूलो ठूलो परिवर्तन भयो। क्रान्तिकारी शक्ति मिले क्रान्ति बाँच्छ, क्रान्तिकारी शक्ति फुटे क्रान्ति बिग्रिन्छ। विगतमा वाम गठबन्धन एक ठाउँमा आए, क्रान्ति भयो।'

अनि घनश्याममा विकसित भयो माओवादी भ्रूण
कुनै बेला घनश्याम भुसाल जति वाम एकताका पक्षधर हुन्, त्यतिकै माओवादीका आलोचक पनि थिए। 

उनको त्यही स्वभावका कारण कतिपयले 'घनश्याम सबै हुन सक्छन् तर माओवादी हुन सक्दैनन्' भनेर टिप्पणी गर्थे।

नेकपा माले हुँदै एमालेमा फर्किएर उच्च तह (उपमहासचिव) मा पुगेका भुसालले विश्लेषकहरुले भन्ने गरेको जस्तो माओवादी हुन नसक्ने कुरालाई भाषणबाट खण्डन मात्रै गरेनन्, आफूलाई उक्त पार्टीको नेताकै रुपमा प्रस्तुत गर्न भ्याए। 

रुपन्देहीको प्रशिक्षणमा उनले माओवादीहरुको प्रशंसामा सबैभन्दा धेरै शब्द खर्चिए। उनीहरुले परिवर्तनका कुरा गर्दा अनुहारमा एउटा छुट्टै अनुभूतिको तीव्रता देखेको भन्दै भोट फकाउ मिहिनेत गरिरहे। 

'माओवादी साथीहरु र कमरेड प्रचण्डले परिवर्तनका कुरा गर्दा अनुहारमा एउटा अनुभूतिहरुको तीव्रता देख्छु', उनले भने, 'हामीले जे ल्याएका छौँ, यसलाई बचाउने हो। मिल्दा ल्याएका रहेछौँ, नमिल्दा त बिग्रेको रहेछ।'

उनले नेपालमा परिवर्तनहरु भइरहे पनि व्यवस्थालाई संस्थागत गर्न नसक्दा बिग्रेको दाबी गरे। अब वाम-लोकतान्त्रिक गठबन्धन मिलेर देश बनाउनुपर्ने वकालत गरेर भुसालले कांग्रेसलाई पनि फकाउने कोसिस गरे। 

'वाम र कांग्रेस दुवै बलियो शक्ति हुन्। अनि ती दुवै शक्ति मिलेर देश बनाऊँ। यही नै गठबन्धनको स्पिरिट हो', उनले गठबन्धनको सदस्यकै रुपमा भने, 'यसलाई अघि लैजानका लागि तपाईंहरु पनि लाग्नुस्।'

भुसालले कार्यकर्तालाई मात्रै फकाएनन्, नेताहरुको प्रशंसामा पनि फूल बुट्टा भर्ना भ्याए। 

'पछिल्लो पटक भन्ने हो भने दुई पटक संसद विघटन भयो। पहिलो संसद विघटनपछिको आन्दोलनका नेता प्रचण्ड नै हो', उनले भने, 'दोस्रो पटक संसद विघटन हुँदा भएको आन्दोलनको नेता शेरबहादुर देउवा हो।'

भुसालले गठबन्धनका दुवै नेताको प्रशंसामा फूलबुट्टा भरेपछि हलमा बसेका कार्यकर्ता कसैले परर्र ताली बजाए त कसैले सुइसेला लगाउन भ्याए। 

एमाले छाडेको केही साता नहुँदै भुसालले सत्ता गठबन्धनको औचित्यको व्याख्याता बन्दै बचाएर लैजानुपर्नेमा जोड दिए। तर एमालेमा रहुन्जेल भुसाल वाम एकताका कडा व्याख्याता हुन्।

उनी वाम एमाले र माओवादी मिल्नै पर्ने वकालत गरिरहन्थे। उनले एमालेका बैठकमै पनि अध्यक्ष ओलीलाई प्रचण्ड र माधव नेपालसँग एकता वार्ता अघि बढाउन आग्रह गर्थे।

संसद विघटनसहितका विषयमा आत्मआलोचना गरेर पनि वाम एकता गर्नै पर्ने तर्क उनको थियो। तर एमाले छाडेसँगै भुसालले कांग्रेस-माओवादी वाम-लोकतान्त्रिक गठबन्धन लामो समयसम्म जानुपर्ने भन्दै बोली फेरेका छन्। 

'यसअर्थमा पनि यो गठबन्धनको राजनीतिक औचित्य र सन्दर्भ छ। यसलाई बचाएर लैजाने कुरा महत्वपूर्ण हो', उनले कांग्रेस र माओवादीलाई सम्झाउने शैलीमा भने, 'एकले अर्कालाई धोका दिने काम भयो भने समस्या हुन्छ।'

उनले माओवादी कार्यकर्ताहरुलाई फुर्क्याउँदै यो प्रशिक्षण कार्यक्रमबाट फर्किएपछि गाउँ गाउँमा परिचालित हुने आशा लिएको पनि बताए। 

'तपाईंहरुले हामीले भनेका यी कुरा गाउँ गाउँमा लानु हुनेछ। रूपन्देही १, यहाँ नेपाली कांग्रेसको ठूलो योगदान छ। कयौँ बलिदानी भएको छ यहाँ', उनले भने, 'यो क्षेत्रमा कांग्रेसले धेरै रगत बगाएको छ। जनयुद्धमा पनि धेरै काम भएको हुनुपर्छ।'

भुसालले यही प्रसंगामा आफूले छाडेको एमालेलाई सम्झिए।

'एमालेले पनि आफ्नो पार्टी निर्माणका क्रममा पसिना बगाएको क्षेत्र यही हो', उनले आफ्नो पूर्व पार्टीलाई सम्झिँदै भने। 

उनले कांग्रेस-माओवादीको मत फकाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि व्यंग्य गर्न भ्याए। 

'मैले रेलको कुरा गरेको छैन, पानी जहाज ल्याउँछु भनेको छैन', ओलीतिर व्यंग्य गर्दै उनले भने, 'म यो क्षेत्रमा पुल पुलेसा, बाटोघाटो, स्वास्थ्य चौकी निर्माणमा ध्यान दिन्छु।'

भुसालले राज्यले कात्रोमा पनि कर लगाएको भन्दै वर्गीय र समाजवादका कुरा गर्न पनि भ्याए।  

'कात्रोमा पनि राज्यले कर लगाउँछ। कात्रो करले पनि जम्मा भएको राज्यको ढुकुटीले बनाउने बाटो यहाँको हुन्छ', उनले भने, 'त्यसैले हामी सँगै मिलेर जान्छौँ। चुनाव चिह्न त्रिभुज लिएर हिँडेको छु। लोकतन्त्र, सामाजिक न्याय र विकासको त्रिभुज हो यो। यो पटक डंकेका चोट दुनियाँसामु देखाउने गरी दुवै प्रदेश र संघमा पनि जित्छौँ, जिताउँछौँ।'

उनले आफूले माथि त्रिभुज र तल दुईवटा रुख लिएर हिँडेको बताउँदै ती सबैलाई जिताउन अपिल गरे।

भुसालले यो क्षेत्रमा गठबन्धनबाट टिकट नपाएको माओवादीलाई फकाउन भरमग्दुर मिहिनेत गरे। हलमा उपस्थित कार्यकर्ता र प्रचण्डको समेत प्रशंसा गरेका उनले माओवादी केन्द्रको फौजले अब मंसिर ४ को निर्वाचनमा भरिएको बाकस लिएर मात्रै फर्किने पनि ठोकुवा गरे।

'अब नेकपा माओवादी केन्द्रको फौज यहाँबाट छुट्यो। यसले मंसिर ४ गतेका दिन भरी भरी बाकस बोकेर मात्रै फर्किन्छ', उनले आफूलाई माओवादी नेताकै रुपमा प्रस्तुत गर्दै भने, 'त्यसपछि मात्रै आराम गर्छ यसले, चुनावपछि दुईतीन दिन यसले थकाई मार्छ। सारा नेकपा माओवादी केन्द्रको फौज जाग्यो अब कसम खाएर अघि बढौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .