दाङ क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन्। घोराही–२, पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले सो धारणा राखेका हुन्।
‘मैले विकासका काममा यो दल त्यो दल भन्ने गरेको छैन। सांसद हुने बित्तिकै संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेँ,’ चौधरीले भने, ‘फेरि फिनिसिङ गर्नका लागि रु १ करोड थप रकम उपलब्ध गराउँदै छु। किनकि विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ। मैले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको त थिएन। र यसपाली जनमोर्चाका साथीहरुले भवन बनाइदिन अनुरोध गर्नुभएको छ। उहाँहरुको लागि पनि भवन बनाइने छ।’
सांसद विकास कोषको पैसा बाँड्दा समेत सबै दलका नेताहरुलाई बोलाएरै बाँडफाँड गरेको उनले सुनाए। ‘विकास सबैको साझा चाहना भएकोले सबैलाई मिलाएर हिँड्न जरुरी छ,’ चौधरीले भने, ‘जनतालाई विभाजन गरेर कसैको हित पनि हुदैन।’
Shares
प्रतिक्रिया