ad ad

राजनीति


‘ह्याट्रिक’ मा ढुक्क प्रचण्डलाई हराएका राजेन्द्र, कीर्तिपुर निर्णायक

‘ह्याट्रिक’ मा ढुक्क प्रचण्डलाई हराएका राजेन्द्र, कीर्तिपुर निर्णायक

फाइल।


सागर न्यौपाने/केशव सावद
कात्तिक २३, २०७९ बुधबार १०:१७, काठमाडौँ

मच्छेगाउँबाट अलि अघि बढेपछि कीर्तिपुर नगरपालिका सुरु हुन्छ। त्यहीँ उभिएर ८४ वर्षका सानुबाबु आचार्य उपत्यका नियालिरहेका थिए। 

हामीले उनलाई चुनावबारे प्रश्न गर्यौँ।

‘२०६४ मा यो क्षेत्रबाट प्रचण्डलाई भारी मत दिएर पठाएको हो। तर, यो क्षेत्रमा फर्केर नआएकैले २०७० मा उनले जितेनन्,’ आचार्यले नेपालखबरसँग भने, ‘त्यसपछि यहाँबाट राजन केसीलाई दुई पटक जिताएर पठाइयो, तर उनले पनि काम गरेनन्।’

यसपटक कसलाई जिताउने विचार छ त?

‘यसपटक भोट प्रदीप विष्टलाई दिने हो, घन्टी चिन्हबाट उठेको छ,’ उनले आफ्नो छिमेककै उम्मेदवारको नाम लिए।

‘पार्टीहरुले राम्रो गरेनन् भनेर भन्छन्। उनीहरुको मनोमानी बढ्यो,’ उनले गुनासो गरे।

यसपटकको चुनावमा काठमाडौँ क्षेत्र नम्बर १० को चुनावी समीकरण अन्य क्षेत्रहरुभन्दा अलिकति फरक छ। किनभने यहाँ सत्ता गठबन्धनमा रहेका दलहरुबीच नै प्रतिस्पर्धा हुँदैछ।

मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावको लागि काठमाडौं–१० बाट दलतर्फ १५ र ३ जना स्वतन्त्र उम्मेदवार छन्।

त्यसमध्येमा नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रबाट अञ्जना विशंखे, राप्रपाबाट बलराम थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रदीप विष्टको चहलपहल बढी भएको स्थानीयले बताए।

चन्द्रागिरी नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ वडा क्षेत्र नम्बर १० मा पर्छ। त्यस्तै, कीर्तिपुर र दक्षिणकाली नगरपालिका पनि यही क्षेत्रमा पर्छ।

उम्मेदवारहरुले व्यापक घरदैलो र प्रचार अभियान चलाइरहेका छन्। तर, पहिलेको तुलनामा प्रचारको शैली फेरिँदै गएको पाका मतदाता आचार्यको ठम्याइ छ।

‘कोठामा बसेर घोषणापत्र हेरेर उम्मेदवार छान्ने बेला आइसक्यो, अब चुनाव प्रचारमा हिँड्ने समय घट्दै जान्छ,’ उनले भने।

चुनावी माहौल बुझ्न सोमबार दिउँसो नेपालखबरको टोली काठमाडौँ १० का विभिन्न बस्तीमा पुगेको थियो। चन्द्रागिरि नगरपालिका वडा नम्बर १० मा पर्ने नागढुंगामा राप्रपाका उम्मेदवार बलराम थापा ट्याक्सीमा स्पिकर राखेर मत माग्दै कुदिरहेका थिए। 

‘स्थानीय चुनावमा यहाँ एमालेले जितेको हो,’ चन्द्रागिरि ६ की एक मतदाताले भनिन्, ‘यसपालि कसलाई मत दिने सोचिसकेको छैनौँ।’

७० वर्षका अर्का मतदाता छोराछोरीको भरमा देखिए।

‘मैले पढेलेखेको छैन, छोराछोरीले जहाँ भन्छन्, त्यसमै मत खसाल्नुपर्ला,’ ती मतदाताले भने, ‘अरु मलाई केही थाहा छैन।’

चन्द्रागिरी ८ का ८१ वर्षका केशवप्रसाद जोशीले पनि दलहरुप्रति तीतो पोखे।

‘दलहरुले जनतालाई चुनावको बेला मात्र सम्झन्छन्, विकास निर्माणको काम सोचेजस्तो गर्न सकेनन्, यसको परिणाम अब निकै महंगो पर्न सक्छ,’ उनले भने, ‘अब जनतालाई विकल्प छ।’ 

स्थानीय चुनावमा कीर्तिपुरको ४ नम्बर वडा स्वतन्त्रका श्यामकुमार अधिकारीले जितेका थिए।

त्यही क्षेत्रमा घर भएकी मतदाता मैया बोहराले चुनावी विश्लेषण सुनाइन्।

‘एमाले गढ भए पनि अहिले एमाले घटेर गयो, कांग्रेसले गल्ती गरेको भन्छन्,’ उनले भनिन्, ‘बरु पल्लो गाउँमा माओवादी बढेको छ। यो क्षेत्रमा स्वतन्त्रको लहर छ।’

पहिले कीर्तिपुर वामपन्थी गढका रुपमा चिनिन्थ्यो। दुईपटक कांग्रेसले जितेपछि त्यहाँका वामपन्थी विभाजित छन्।

ट्याङ्लाफाँटमा भेटिएका एक मतदाताले कांग्रेसका राजेन्द्र केसी बलियो भएको बताए।

ह्याट्रिकप्रति ढुक्क केसी
काठमाडौँ–१० मा सत्ता गठबन्धनबीच चुनावी तालमेल छैन। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले केसीकै कारण गठबन्धन नभएको बताएको छ।

२०७० को दोस्रो संविधान सभा चुनावमा उनले माओवादी अध्यक्ष प्रचण्डलाई हराएका थिए। 

२०७४ मा फेरि एमाले–माओवादी गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई हराउँदै केसीले दोस्रो पटक पनि जिते।

अहिले एमाले र माओवादी छुट्टा–छुट्टै उठेकोले केसी आफ्नो जित सुनिश्चित देख्छन्। नेपालखबरसँग कुरा गर्दै उनले आफू सबै ठाउँमा बलियो रहेको दाबी गरे।

‘सबै मेरो क्षेत्र हो, सबै ठाउँमा म बलियो छु,’ केसीले भने, चुनाव म जित्छु।’ चोभारका स्थानीय पुष्प डंगोल पनि केसीले जित्नेमा ढुक्क छन्।

‘यहाँबाट राजनले जित्नुहुन्छ, उहाँ बलियो हुनुहुन्छ,’ उनले भने।

सांगठनिक मतमा एमालेको विश्वास, युवा उम्मेदवारले उत्साहित
नेकपा एमालेका हिमेश केसी युवा उम्मेदवार हुन्। उनी कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीलाई सजिलै हराउने दाबी गर्छन्।

हिमेशले कांग्रेसकै नेताहरु विभाजित भएका कारण आफ्नो जित सुनिश्चित रहेको बताए। 

‘कांग्रेस १४ जना कार्यकर्ताहरु अहिले उम्मेदवार छन्। दुई पटक चुनाव जितेर पनि केही नगरेकोले यसपटक राजन केसीले जित्ने सम्भावना छैन,’ हिमेशले नेपालखबरसँग भने, ‘उहाँहरुका धेरै भ्रष्टाचारका काण्ड बाहिर आएका छन्। पार्टी कमिटीलाई निरंकुश शैलीमा चलाएको र त्यो भित्रको चरम असन्तुष्टि बजारमा छताछुल्ल देखिरहेका छौँ। ती कुराहरुले पनि मलाई केही मात्रामा सहज बनाएको छ।’

उनले एमाले एकताबद्ध रहेको दाबीसमेत गरे। 

‘यो क्षेत्रमा एमाले एकढिक्का छ। यो ठाउँमा पार्टीको र पार्टीप्रति माया गर्ने, समर्थक मतदाता हेर्दा पनि मलाई चुनाव जित्न सहजै छ,’ हिमेशले थपे।

अञ्जना भन्छिन् : माओवादी फेरि उठ्छ, चुनाव जित्छौँ
विद्रोह गरेरै उम्मेदवार कायम गरेकी माओवादी स्थायी समिति सदस्य अञ्जना विशंखेले आक्रामक चुनावी प्रचार गरिरहेकी छन्।

सोमबार उनी दक्षिणकाली क्षेत्रको घरदैलो अभियानमा थिइन्। 

‘आज मैले दक्षिणकाली नगरपालिकाका केही वडाहरुमा घरदैलो अभियान गरेँ,’ नेपालखबरसँग उनले भनिन्, ‘यो क्षेत्रमा ०६४ मा जस्तै माओवादी उठ्छ।’

चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका केही वडाहरुबाट आफूलाई राम्रै मत खस्ने र त्यही मत नै जितको आधार बन्ने अन्जनाको भनाइ छ।

स्थानीय र पहिलेदेखि राजनीतिमा सक्रिय रहेकाले अन्य उम्मेदवारभन्दा आफू काठमाडौं–१० मा परिचित भएको उनले बताइन्। 

‘मतदातालाई कुन क्षेत्रबाट उठेको, कहाँ र कुन समुदायबाट उठेको भन्ने हुँदो रहेछ,’ अन्जनाले थपिन्, ‘सधैँ अन्याय खेपिरहेको चन्द्रागिरि साइटबाट उम्मेदवार बनेको भन्दै मत दिने विश्वास दिलाउनुभएको छ।’ 

विशंखे चन्द्रागिरिकी स्थानीय हुन्। कांग्रेसका राजेन्द्र केसी र एमालेका हिमेश केसी भने कीर्तिपुर नगरपालिका चोभारका हुन्।

उता राजनीतिक दलहरुप्रतिको असन्तुष्ट मत तान्ने योजनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्ट पनि कीर्तिपुर ४ का हुन्।

अहिलेसम्म चन्द्रागिरिका उम्मेदवार नभएकोले अञ्जना त्यस क्षेत्रबाट बढी मत लिएर कीर्तिपुरको वामपन्थी मत पनि हात पार्ने दाउमा छिन्। 

आफ्ना केही एजेन्डाहरुले पनि मतदाताको मन जितेको उनी दाबी गर्छिन्।

‘पानीका क्षेत्रहरु कसरी सुके? नेवा भाषा, संस्कृतिको जगेर्ना र विकास कसरी गर्ने? फर्पिङमा एसियाकै पहिलो जलविद्युत आयोजनालाई व्यवस्थित रुपमा चलाउने मेरो योजना हो, यसमा स्थानीयले साथ दिने बचन दिनुभएको छ,’ उनले थपिन्।

सतुङ्गलमा खाजा पसल चलाइरहेका गोविन्द श्रेष्ठले नतिजाको अनुमान गर्न कठिन रहेको बताए।

‘यो ठाउँ स्थानीय चुनावमा कांगेसले जितेको भए पनि अहिले त्यसको मात्र प्रभाव छैन। कोही हलो, कोही घन्टी भनेर आउँछन्,’ उनले भने, ‘यहाँको मात्र चहलपहल हेरेर चुनाव कसले जित्छ भन्न सकिँदैन।’

निर्णायक नयाँबजारले के गर्ला यसपटक?
काठमाडौं–१० मा सबैभन्दा बढी मतदाता भएको नगरपालिका हो कीर्तिपुर। निर्वाचन आयोगका अनुसार सो नगरपालिकामा ३० हजार बढी मतदाता छन्।

यस्तै १५ वडा रहेको चन्द्रागिरिमा २७ हजार र दक्षिणकाली नगरपालिकामा १८ हजार हाराहारी मतदाता छन्। १० नम्बर क्षेत्रले समेट्ने सबै नगरपालिकामा ७६ हजार ९०६ मतदाता छन्। 

मुख्य प्रतिस्पर्धामा रहेका दलहरुको ध्यान कीर्तिपुरको नयाँ बजारमा छ। किनभने चुनावमा यहीँको मत निर्णायक हुने गर्छ।

नयाँबजार कीर्तिपुरका बासिन्दा भने यसपटक अन्योलमा छन्।

‘यहाँका कोही उठेका छैनन्। समस्या छ। खै कसले पो जित्छ,’ एक मतदाताले भने, ‘यही ठाउँको उठेको भए उसैले जित्छ भन्न सकिन्थ्यो।’

उनले कीर्तिपुरको वामपन्थी मत जसले पाउँछ, उसैले चुनाव जित्ने बताए।

‘यो १० नम्बर कीर्तिपुरको ठूलो जनसंख्या भएको वडा हो। यहाँ अलि बढी वामपन्थी छन्,’ ती मतदाताले थपे, ‘यहाँबाट जसले बढी मत पाउँछ उसले जित्छ।’

त्यही क्षेत्रका रमेश महर्जन चर्चामा रहेर पनि अन्तिममा उम्मेदवार नबनाइएकोले एमालेमा असन्तुष्टि छ।

‘रमेश महर्जन बलियो उम्मेदवार हुन्थ्ये। तर, उनलाई टिकट दिइएन,’ नयाँ बजारमा १८ वर्षदेखि रेस्टुरेन्ट चलाइरहेका महेशराम महर्जनले भने।

स्थानीय चुनावमा कांग्रेस बलियो
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–१० मा कांग्रेस बलियो अवस्थामा देखिन्छ।

कांग्रेसका वडाध्यक्षले २४ हजार ६७५ मत पाएका छन्। यस्तै नेकपा एमालेले १८ हजार ३, नेकपा माओवादी केन्द्रले ४ हजार ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ४९६ र नेकपा एकीकृत समाजवादीले १ हजार ३४२ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .