कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षााकृत गति लिन नसकेको भन्दै चिन्ता जनाएका छन्।
चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उनको भनाइ छ।
नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै नेपाली वस्तुको निकासी बढाउनुपर्ने उनले बताए।
नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा आयोजित समारोहमा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले कृषिजन्य उत्पादन, जडिबुटी र खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना रहेको बताए।
'हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई मध्यनजर गर्दै नेपाली बस्तु निकासी गर्न सक्नुपर्छ', उनले भने, 'यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक छ।'
चीनजस्तो संसारकै आर्थिक रुपमा महाशक्ति राष्ट्रसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हाम्रा लागि नेपालका लागि ठूलो अवसर पनि भएको उनको भनाइ थियो।
चिनियाँ बजारमा नेपालले आफ्ना मौलिक उत्पादनहरु निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने उनले तर्क गरे।
पछिल्लो दशकमा भूकम्प, पहिरो तथा कोभिड महामारी जस्ता कारणले नेपाल चीनबीचको व्यापारिक सम्बन्ध अपेक्षित विस्तार हुन सकेको उल्लेख गर्दै उनले नेपाली वस्तु निकासी गर्दा कच्चा पदार्थको प्रशोधन गरी पूर्ण रुपमा तयारी बस्तुमात्र निकासी गर्नुपर्ने उल्लेख गरे।
नेपालका लागि चिनियाँ दूतावासका चार्ज डे अफेयर्स वाङ सिनले दुई मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा नेपाल चीन उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिकाको प्रशंशा गरे।
उनले दुवै मुलुकबीच रहेको पुरानो सम्बन्धलाई अब व्यापार व्यवसायका माध्यमले थप बलियो बनाउनुपर्ने धारणा राखे।
Shares
प्रतिक्रिया