ad ad

राजनीति


हरेक चुनावमा बुथ कब्जा र झडप हुने दोलखा सुरक्षा निकायको निगरानीमा

हरेक चुनावमा बुथ कब्जा र झडप हुने दोलखा सुरक्षा निकायको निगरानीमा

रुपक चौलागाईं
मंसिर १, २०७९ बिहिबार १९:१४, काठमाडौँ

हरेकजसो निर्वाचनमा हिंसात्मक गतिविधिको ‘एपिसेन्टर’ बन्नेगरेको छ दोलखा। त्यसैले यो जिल्ला यसपटक पनि सुरक्षा निकायको चासोको केन्द्र बनेको छ। ०५१ सालदेखिकै निर्वाचनका गतिविधिलाई नियाल्दा यहाँ सबैजसो निर्वाचनमा बुथ कब्जा र झै–झगडा हुने गरेको छ। 

यसपटक उम्मेदवारले मनोनयन दर्ता गरेदेखि स्थिर समय सुरू हुनुअघिसम्म दोलखामा कुनै अप्रिय घटना भएको छैन। यसअघिका निर्वाचनमा देखिएको भागदौड र झडपका कारण जनमानसमा अझै त्रास छ। 

दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज अधिकारीका अनुसार सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइसकिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई सबै बुथमा सुरक्षाका लागि खटाइएको उनले बताए।
 

‘हामीले जिल्लामा आवश्यक पर्ने सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायसँग छलफल गरी प्रबन्ध मिलाइसकेका छौँ,’ अधिकारीले नेपालखबरसँग भने, ‘सबै तहका सुरक्षाकर्मीले सुुरक्षा दिनुहुनेछ, हामीले सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ।’

यसअघि भएजस्तै घटना यो पटक दोहोरिन नदिने योजना अनुरुप आफूहरुले काम गरेको उनले बताए।

‘आशा गरौँ, यसअघिजस्तो यो पटक निर्वाचनमा हातपात हुने अवस्था सिर्जना नहोला,’ अधिकारीले भने। 

सुरक्षा चुनौती
निर्वाचन आयोगले सुुरक्षा निकायका प्रमुखलाई बोलाएर व्यवस्थित र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्न समन्वयका लागि आग्रह गरिसकेको छ। आयोगले गृह मन्त्रालयमार्फत पनि कुनै निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त जगेडा शक्तिको व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन गर्ने लगायतका निर्णय गरिसकेको छ। 

सुरक्षा चुनौतीको केन्द्रमा यसपटक पनि दोलखा पनि रहने छ। सुरक्षा स्रोतका अुनसार यो पटक पनि हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै दोलखाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

२०६४ पछिका ५ वटै निर्वाचनमा दोलखामा झडप भएका छन्। पछिल्ला दुई वटा निर्वाचनमा पनि दोलखाको अवस्था सुध्रिएको छैन। गत स्थानीय तहको निर्वाचनमा पनि त्यहाँ ठाउँठाउँमा झडप भए। २०७४ को निर्वाचनमा त त्यहाँ मानवीय क्षति नै भएको थियो।

राजनीतिक दलहरूबीच समन्वय र सहकार्य नहुँदा चुनौती थपिएको प्रहरीको बुझाइ छ। विगतबाट पाठ सिकेर र अहिलेको अवस्थालाई विश्लेषण गरेर सुरक्षा योजना बनाउने प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए।

दोलखा जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाप्रसाद पौडेलले पनि सुरक्षा कडा बनाइएको बताए।

‘गत वैशाखको चुनावमा पनि हामीले बलियो सुरक्षा प्रदान गरेकै कारण कम क्षति भयो,’ डीएसपी पौडेलले भने, ‘सुरक्षा व्यवस्था कडा छ।’

हिंसात्मक विगत
दोलखाको चुनावमा धेरै पहिलेदेखि बुथ कब्जा र झडपहरु हुने गरेका छन्। ०५१ सालको निर्वाचनमा यहाँ बुथ कब्जा भएको थियो। उक्त मध्यावधि निर्वाचनमा कांग्रेसबाट भीमबहादुर तामाङ र एमालेबाट आनन्द पोखरेल उम्मेदवार थिए। चुनावमा तामाङ विजयी भएका थिए। सो निर्वाचनमा जिल्लाको जफे, गैरीमुदी र झुलेमा बुथ कब्जा भएको थियो। 

०५६ को निर्वाचनमा पनि एमाले र कांग्रेसका कार्यकर्ताहरुले बुथ कब्जा गरेका थिए। ०६४ को निर्वाचन पनि यहाँ बुथ कब्जा भएको थियो।

०७० को चुनावमा पनि यहाँ गाडी जलाउनेदेखि बुथ कब्जासम्म भएको थियो। निर्वाचनको अघिल्लो दिन गैरीमुदीमा एमालेका कार्यकर्ताको गाडी र मोटरसाइकलमा आगजनीबाट करोडौंको क्षति भयो। ठाउँ–ठाउँमा बुथ कब्जा भए।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा दोलखाका ११ वटा मतदान केन्द्रमा झडप भयो। त्यस क्रममा एक जनाको मृत्यु समेत भएको थियो। झडपमा ३२ जना घाइते भए। केही मतदान केन्द्रमा झडप नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाएको थियो। 

जनजागृति मावि झुलेनजिकैको मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा एक जनाको मृत्यु भएको थियो। १० जना घाइते भएका थिए।

कालापानी मावि जफे, अलम्पु गाविस भवनको मतदान केन्द्र, जनजागृति मावि सहरे, जफेको स्वास्थ्य चौकी, विद्याप्रेमी नेहनल एकेडेमी मैनापोखरी, त्रिभुवन मतदान केन्द्र, कालिका मावि र क्षमावती मावि पिपलडाँडा लगायतका केन्द्रमा झडप भएका थिए। 

गएको स्थानीय चुनावमा पनि भएन शान्तिपूर्ण मतदान
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि त्यहाँ शान्तिपूर्ण मतदान भएन। तर विगतमा भन्दा कम झडप भएको प्रहरीको तथ्यांक छ।

स्थानीय तहको निर्वाचनमा त्यहाँ ५ वटा मतदान केन्द्रमा झडप भयो। जनजाति पुतलीकाठ मतदान केन्द्र, कालिढुंगा मावि, बझुवा मतदान केन्द्र, सिमखेत मतदान केन्द्र, आजादी मावि बिरौटा, ओराङ मतदान केन्द्रमा झडप भएको थियो।

यसबाहेकका मतदान केन्द्रमा पनि झडप भएको र कतिपय ठाउँका घटना बाहिर नआएको नेताहरू बताउँछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .