ad ad

राजनीति


काठमाडौंको सुकुमवासी समस्या समाधानका लागि बाबुरामले बताए उपाय

काठमाडौंको सुकुमवासी समस्या समाधानका लागि बाबुरामले बताए उपाय

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १२:९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले यहाँस्थित बागमती नदी किनारका अवैध सकुमवासी बस्ती हटाउने प्रयास गरेपछि तनाव सिर्जना भएको छ। सोमबार दिउँसो सुकुमवासी बस्ती हटाउन पुगेका नगर प्रहरीलाई स्थानीयले ढुंगामुढा गरे। केही प्रहरी घाइते पनि भए।

यो घटनापछि सुकुमवासीहरूले मेयर बालेन्द्र शाहको चर्काे विरोध गरिरहेका छन्।

काठमाडौंमा रहेका सुकुमवासी बस्तीको समाधान जटिल विषय बनेको छ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाधानको उपाय बताएका छन्। 

डा. भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत ‘गाँस, बास र कपास’ सबै नागरिकको मौलिक अधिकार भएको र त्यो पूरा गर्नु सबै तहका सरकारको दायित्व भएको उल्लेख गर्दै आफ्नो पालामा सुरु भएको निर्णय र नीति कार्यान्वयन गर्न राज्यलाई सुझाव दिएका हुन्। 

‘मेरो पालामा सुरु भएको काठमाडौँ उपत्यकाका सुकुमवासी र न्यून आय भएका नागरिकहरूको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यहरूमा टेकेर यो समस्या दीर्घकालीन रूपले हल गर्न राज्यका सबै अंगहरूले सहकार्य गरून्’, भट्टराईले भनेका छन्, ‘मेरो पालामा झैँ तत्कालै प्रम तथा मन्त्रिपरिषददको कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ। नत्र निहीत स्वार्थ बोकेका शक्तिहरू, कर्मचारीतन्त्र र संघ, प्रदेश र स्थानीय तहले कार्यक्षेत्रको रडाको गरेर विषय गिजोलिन र बिथोलिन सक्छ।’

सबै नागरिकको ‘खाना, छाना, नाना’को ग्यारेन्टी गर्नु संविधानको मूल मर्म भएको उल्लेख गर्दै भट्टराईले अगाडि भनेका छन्, ‘यसमा कसैले पनि किन्तु परन्तु नगरौं र आरोपप्रत्यारोप नगरौं। आवासविहीन सुकुमवासीहरूको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .