ad ad

राजनीति


देउवा-रेग्मी भेटको तरंग : राष्ट्रपति पदमा बार्गेनिङ भएकै हो?

देउवा-रेग्मी भेटको तरंग : राष्ट्रपति पदमा बार्गेनिङ भएकै हो?

फाइल तस्बिर


रुपक चौलागाईं
मंसिर २९, २०७९ बिहिबार १९:२८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीबीच मंगलबार (२७ मंसिर) बालुवाटारमा भएको वार्ताले राजनीतिक तरंग ल्याएको छ।

विशेषगरी आगामी ‘राष्ट्रपति’ पदसँग सम्बन्धित भएर उनीहरुबीच छलफल भएको चर्चा राजनीतिक वृत्तमा बाक्लिएको छ। 

२०६९ चैत १ देखि २०७० माघ २६ सम्म मन्त्रिपरिषद्‍को अध्यक्षका रुपमा काम गरेका रेग्मी अहिले सत्ता भागबन्डाको कसरत भइरहेका बेला प्रधानमन्त्री देउवासँग नजिकिँदा सत्तारुढ दलहरु नै सशंकित भएका छन्। 

मंसिर ४ को निर्वाचनपछि दलहरु सरकार निर्माण र राष्ट्रपतिदेखि प्रदेशका सभामुखसम्मका ३५ पदको हिसाव मिलाउन व्यस्त रहेका बेला रेग्मीको सक्रियताले अनेक शंका जन्माएको हो। 

मंगलबारको भेटमा देउवा र रेग्मीबीच राष्ट्रपति पदमा कसलाई लैजाने भन्नेबारे छलफल भएकै हो त? यदि त्यस्तो होइन भने सत्तारुढ दलभित्रै राष्ट्रपतिका दाबेदार आधा दर्जन नेताहरु किन झस्किए?

प्रधानमन्त्री देउवाका कानुनविज्ञ केशव जोशी रेग्मीसँगको भेटघाटमा राष्ट्रपतिको विषयमा छलफल नै नभएको बताउँछन्। 

‘उहाँ (खिलराज रेग्मी) बालुवाटार आउनुभएको थियो,’ जोशीले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीसँगको छलफलपछि मैले पनि भेटेको थिएँ, भेटघाट नभएको धेरै समय भएकोले कुरा गर्न बालुवाटार आउनुभएको हो।’

जोशीले डडेल्धुराबाट प्रतिनिधिसभामा विजयी भएर आएकोमा देउवालाई बधाई दिन रेग्मी बालुवाटार छिरेको दाबी गरे।

‘प्रधानमन्त्रीज्यू फेरि निर्वाचन जितेर आउनुभएको छ, बधाई दिन आएको हुँ,’ देउवासमक्ष रेग्मीले भनेको भनाइ उद्धृत गर्दै जोशीले भने।

यो भेटघाटलाई लिएर अनेक शंका उपशंका जन्मिरहेका बेला नेताहरुले राष्ट्रपति पदकै कुरा भएको हो भनेर पत्याउन नसकिने बताएका छन्।

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले मिडियामा आएका भनिएका देउवा र रेग्मीबीचका कुराकानी आधाभन्दा बढी पत्याउन नसकिने बताए। 

‘मिडियामा आएको कुरा हो, यसबारे दलहरुबीच छलफल भएको छैन,’ महराले नेपालखबरसँग भने, ‘बल्ल आज निर्वाचन आयोगले राष्ट्रपतिकहाँ प्रतिवेदन बुझाएर सरकार गठन लगायतका कामहरुका लागि गाँठो फुकाएको छ, प्रधानमन्त्रीले पनि सत्तारुढ दलभित्र यसबारे केही भन्नुभएको छैन।’

उता, प्रमुख प्रतिपक्षी नेकपा एमालेका एक पदाधिकारीले भने देउवाको व्यक्तिगत ‘इन्ट्रेस्ट’ का आधारमा यस्ता भेटघाटहरु बाक्लो भएको बताए। देउवाको विगत पनि देशमा अस्थिरता ल्याउने देखिएकाले आशंका पैदा गर्न सक्ने भेटघाट अहिले चलिहेको उनको भनाइ छ।

‘देउवा आफैँ व्यक्तिगत इन्ट्रेस्टमा चल्ने व्यक्ति हो,’ एमालेका ती पदाधिकारीले नेपालखबरसँग भने, ‘उहाँले सधैँ यस्तै गरेको इतिहास छ। अहिले पनि देशमा कुनै राजनीतिक संकटको श्रृंखला दोहोर्‍याउने प्रयासमा हुनुहुन्छ।’

दलहरुभित्र राम्रो मान्छे नभएको भनेर संंसदीय मान्यताविपरीत गैरराजनीतिक व्यक्ति छान्न खोज्नु राम्रो संकेत नभएको ती नेताले बताए।

यस्तो बेलामा दलहरुले राजनीतिक निर्णय लिन नसक्नु गम्भीर विषय भएको एमालेका ती नेता बताउँछन्। 

‘खिलराजलाई त अरुले ल्याएर थोपरिदिएको भन्ने त्यतिबेलै पनि आरोप थियो। तिनैलाई अहिले आएर राष्ट्रपतिमा लान्छु भन्नु त गम्भीर विषय हो। यो फेरि कहाँबाट थोपर्न खोजिएको हो?’, उनको प्रश्न थियो। 

रेग्मी सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहँदा आफ्नो एकल इजलासबाट संविधानसभासहित व्यवस्थापिका संसद् भंग गरेर विवादमा परेका थिए। त्यही कदमको बलमा उनी ०६९ साल फागुन ३० गते मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए। 

गैरराजनीतिक व्यक्तिलाई कार्यपालिका प्रमुख बनाइएपछि त्यतिबेला पनि उनको आलोचना भएको थियो।

अहिले नयाँ जनमतसहित सरकार गठनप्रक्रिया अघि बढिरहेको बेलामा प्रधानमन्त्री देउवासँग रेग्मीको यो भेटलाई अन्य दलहरुले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन्

एमाले उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति पद धेरैले इच्छा गरेको विषय भएकोले अहिले कुनै टिप्पणी नगर्ने बताउँछन्। 

‘धेरै साथीभाइहरु इच्छा गर्छन्, यसमा मैले के टिप्पणी गर्नु?,’ नेम्वाङले भने, ‘यसमा मलाई टिप्पणी गर्न नलगाउनुस्।’

रेग्मीतर्फ संकेत गर्दै उनलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने बेलामा नै अनेक प्रश्न उठेको नेम्वाङ बताउँछन्। 

‘पार्टीहरु सक्षम छैनन् र? सर्वोच्च अदालतको न्यायधीश भनेको फरक व्यक्ति हो,’ नेम्वाङले भने, ‘पार्टीले म्यानेज गर्न सक्दैन भनेर चुनाव गर्न खिलराजलाई किन ल्याउनुपर्यो भनेर त्यतिबेलै प्रश्न त उठेकै हुन्।’ 

त्यसो त यस पटक खिलराजले आफैँ नभएर आफुजस्तै अन्य कुनै पात्रलाई राष्ट्रपति बनाउने गरी प्रधानमन्त्रीसँग संवाद बढाएको हुनसक्ने उनीनिकट स्रोतले बतायो। 

‘यो कताबाट आएको हो, थाहा छैन,’ स्रोतले भन्यो, ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन।’

दोस्रो संविधानसभा निर्वाचन गराएपछि ०७० माघ २० मा मन्त्रिपरिषद्को अध्यक्षबाट बिदा भएका रेग्मी फेरि अदालत फर्कन खोजेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .