ad ad

राजनीति


‘किङमेकर’ को ताज गुमाएर प्रचण्ड ‘किङ अफ द किङमेकर’ बनेपछि

‘किङमेकर’ को ताज गुमाएर प्रचण्ड ‘किङ अफ द किङमेकर’ बनेपछि

सीताराम बराल
पुस ८, २०७९ शुक्रबार १७:४४, काठमाडौँ

गणतन्त्र स्थापनापछि मौलाएको नेतातन्त्रप्रति असन्तुष्टि जनाउँदै बुद्धिजीवी र सर्वसाधारण टिप्पणी गर्छन्, ‘२०६२–०६३ को जनआन्दोलनमार्फत् एउटा राजा ज्ञानेन्द्रलाई फाल्यौँ। तर त्यसपछि मुलुकमा दर्जनौँ छोटे राजाहरु जन्मिए।’ 

राजनीतिमा छोटे राजाहरुको चकचकी छँदैछ, आम निर्वाचन–२०७९ ले पनि ‘किङमेकर’ हरुको संख्या बढाइदिएको छ। दुई ठूला दल– कांग्रेस र एमाले दुवैको बहुमत नरहेको प्रतिनिधि सभामा पहिलेजस्तो माओवादी केन्द्र मात्रैको समर्थनबाट पनि यी दुई दलले सरकार बनाउनसक्ने अवस्था यसपटक रहेन।  

सरकार गठन गर्ने हो भने कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीका अलावा जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी वा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन हासिल गर्नुपर्छ। एमालेको हकमा पनि यही कुरा लागू हुन्छ। 

आम निर्वाचन–२०७४ पछिको प्रतिनिधि सभामा स्थिति भने फरक थियो। त्यो बेला पनि कसैको बहुमत थिएन। तर, एमाले र माओवादी केन्द्र मिल्दा सरकार गठनका लागि सहज बहुमत जुट्थ्यो। यस हिसाबले प्रचण्ड ‘किङमेकर’ थिए। त्यसअघि पनि उनको शक्ति र हैसियत झण्डै एकल ‘किङमेकर’ को जस्तै थियो। 

अहिलेको निर्वाचन परिणामले भने एकीकृत समाजवादी, राप्रपा, रास्वपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेत ‘किङमेकर’ को हैसियत प्रदान गरेको छ। बहुमतका लागि ठूला दलहरुले यी साना दलहरुको सहयोग लिनैपर्छ। 

‘सोलो किङमेकर’ को हैसियत गुमाउँदा प्रचण्डको समर्थनले मात्रै सरकार बन्ने स्थिति नरहे पनि उनले उस्तै र झण्डै उत्तिकै हैसियत फेरि प्राप्त गरेका छन्। ‘किङमेकर’ हुँदा अरुलाई प्रधानमन्त्री मात्रै बनाउने अवसर पाएका उनी निर्वाचनमा कमजोर प्रदर्शनका बाबजुद नयाँ हैसियतका कारण आफैँ प्रधानमन्त्रीको कुर्सी सन्निकट छन्। 

एकल अर्थात् ‘सोलो किङमेकर’ को हैसियत गुमाए पनि प्रधानमन्त्रीको कुर्सीनिकट पुर्याउने गरी प्रचण्डले प्राप्त गरेको नयाँ हैसियत ‘किङ अफ द किङमेकर’ हो।

‘किङमेकर’ को ताज गुमेपछिका प्रचण्ड
सत्ता गठबन्धनका कारण २०७४ भन्दा राम्रो परिणाम प्राप्त हुने र आफू अझ शक्तिशाली ‘किङमेकर’ हैसियतमा कायम रहने प्रचण्डको विश्वास थियो। यसै आधारमा निर्वाचनपछि पहिलो प्रधानमन्त्री दाबी गर्ने योजनामा प्रचण्ड थिए। 

प्रचण्ड ‘सिंगल किङमेकर’ बन्न सकेको भए निर्वाचनलगत्तै उनलाई प्रधानमन्त्री अफर गर्नेबाहेक विकल्प कांग्रेससँग रहने थिएन। यहीकारण कांग्रेसको संस्थापन इतर समूहले निर्वाचनअघि गठबन्धनको विरोध गर्दै आएको थियो। 

मिश्रित निर्वाचन प्रणालीका कारण कांग्रेसको बहुमत आउन नसके पनि प्रचण्डलाई ‘किङमेकर’ बन्न नदिने योजना उनीहरुको थियो। यहीकारण गठबन्धनका चुनावी सभाहरुमा कांग्रेस इतर समूहका नेताहरु सहभागी भएनन्।   

हो, निर्वाचन परिणाम कांग्रेस सन्तुष्ट हुने गरी आएन। तर, प्रचण्डलाई ‘सिंगल किङमेकर’ बन्न नदिने योजना भने पुरा भयो।  

एकातिर प्रचण्डको साथ रहँदासमेत वामपन्थी सरकार निर्माण हुननसक्ने निर्वाचन परिणाम आयो। अर्काेतिर प्रचण्डको साथ नपाउँदा पनि प्रतिनिधि सभाका १ सय ४९ सदस्य (कांग्रेस– ८९, रास्वपा–२०, राप्रपा–१४, जसपा–१२, लोसपा–४, जनमत पार्टी–६ र नागरिक उन्मुक्ति पार्टी–४) को समर्थन सहित गैरवामपन्थी सरकार सहजै बन्नसक्ने देखियो। 

नयाँ प्रतिनिधि सभाको यो समीकरणका कारण निर्वाचनपछिका केही हप्ता प्रचण्ड निकै बेचैन देखिए। गोरखा–२ बाट विजयी भएपछि प्रमाणपत्र लिन गोरखा जाँदासमेत उनको अनुहार मलिन थियो।  

यसरी बेचैन बनेका प्रचण्डलाई बाहिर राखेर सरकार निर्माणका प्रयास सुरु भएको भन्ने चर्चाले आक्रोशित पनि बनाउँदै लगेको थियो। 

‘हङ पार्लियामेन्ट’ भएपछि राजनीतिक वृत्त र चियापसलमा सरकार निर्माणको सम्भावित समीकरणबारे चर्चा–परिचर्चा र विभिन्न विश्लेषण प्रस्तुत हुनु स्वाभाविक हो। गैरवामपन्थी सरकार बन्नसक्ने चर्चा कोही कसैले गर्यो होला। कतिपयले कांग्रेस–एमाले मिलेर पनि सरकार बनाउन सक्ने सम्भावना व्यक्त गरे होलान्। 

चियापसलमा समसामयिक विषयमा चर्चा र विश्लेषण गरेर ‘टाइम पास’ गर्नु नेपालीहरुको बानी नै हो। सरकार निर्माणका लागि प्राप्त एक हप्ते समयावधि घर्किन लागिसकेको छ। तर, ‘गैरवामपन्थी सरकार’ वा ‘कांग्रेस–एमाले सरकार’ को प्रयास विश्वसनीय रुपमा भएको देखिएको छैन। 

तर, चियापसलका गफहरुबाट समेत प्रचण्ड प्रभावित र तरङ्गित हुन थालिसकेका थिए। २६ मंसिरको उनको अभिव्यक्तिले यही कुरा प्रष्ट पारेको थियो।   

त्यसदिन माओवादी पत्रकारहरुको संगठन प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई ‘कांग्रेस–एमाले मिलेर सरकार बनाउने वार्ता भइरहेको सूचना आएको’ दाबी गरेका थिए। त्यो ‘हावादारी’ सूचनामा उनी कति ‘विश्वस्त’ रहेछन् भने अब आफू विपक्षमा बस्ने र सडक–सदनलाई उपयोग गरेर ‘हिरो’ बन्ने घोषणा पनि गरेका थिए।  

त्यसक्रममा प्रचण्डले १९ मंसिरमा सम्पन्न नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकको निर्णयसमेत बिर्सन पुगे। त्यो बैठकले फेरि पनि गठबन्धनकै सरकार निर्माण गर्ने निर्णय गरेको थियो। 

‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ,’ सो बैठकपछि जारी विज्ञप्तिमा भनिएको थियो, ‘मुलुकका सामु विद्यमान चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ।’

निर्वाचनपछि प्रचण्डको अनुहार जसरी कान्तिविहीन देखियो र सार्वजनिक कार्यक्रममा समेत निराशा व्यक्त गरे, त्यो ‘सोलो किङमेकर’ को हैसियत गुम्नुको परिणाम थियो। 

खस्कँदो शक्ति, बढ्दो अवसर 
पुस पहिलो सातादेखि भने प्रचण्ड एकाएक तरोताजा देखिन थाले।   

‘कांग्रेस र एमालेबीच पनि कुरा त भइरहेको छ। तर, उनीहरुबीच कुरा हुँदैमा त्यो टुङ्गो र निष्कर्षमा पुग्यो भन्ने हुँदैन,’ गृहजिल्ला चितवन पुगेका प्रचण्डले ४ पुसमा भने, ‘सरकार अहिलेकै गठबन्धनले बनाउनेछ।’  

बिहीबार (७ पुस) सांसदहरुको शपथ ग्रहणपछि पनि उनले यही कुरा दोहोर्याएका छन्।   

राष्ट्रपति कार्यालयमा बुधबार (६ पुस) र संसद भवनमा बिहीबार (७ पुस) प्रचण्ड निकै हँसमुख देखिए। सांसदहरुको शपथग्रहणपछि माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले गरेको ब्रिफिङले उनको मनस्थिति किन एकाएक बदलियो भनेर बुझ्न सकिन्छ। पार्टीका पदाधिकारीहरुलाई प्रचण्डले भने, ‘सरकार गठनका लागि केपी ओलीले मसँग सहकार्यको प्रस्ताव राखेका छन्।’ 

ओली प्रचण्डको साथ कायम राखिरहन केही समयका लागि प्रधानमन्त्रीको पद त्याग गर्न पनि तयार छन्। नेकपाकालमा प्रधानमन्त्री हुन नदिएर प्रचण्डलाई बिच्काएपनि प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रहेका माओवादीका जनप्रतिनिधिको मत आगामी राष्ट्रपति निर्वाचन र राष्ट्रिय सभाको निर्वाचनमा कति महत्वपूर्ण हुन्छ भन्ने ओलीले पनि बुझेका छन्।   

हो, माओवादी केन्द्रको साथले मात्र कांग्रेस र एमाले दुवैले प्रधानमन्त्री र राष्ट्रपतिमा विजय हासिल गर्न अवश्य सक्दैनन्। तर, उसको साथ रह्यो भने यी दुवै पदमा आवश्यक बहुमत जुटाउन निकै सहज हुन्छ। माओवादी केन्द्रको समर्थनविना प्रधानमन्त्री र राष्ट्रपतिमा विजय हासिल गर्न निकै कठिन हुन्छ। 

माओवादीबेगर पनि बहुमत त जुट्ला, तर माओवादीसहितको बहुमतजत्तिको स्थायी हुने सम्भावना कम रहन्छ। माओवादीबेगरको बहुमत जुटाउन खोज्दा साना दलहरुको ‘बार्गेनिङ पावर’ बढिहाल्छ। रास्वपा अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्रीको दाबी गर्न थालिसकेको कुरा यहाँनेर स्मरणीय छ।  

रास्वपा, जसपा वा राप्रपालाई महत्व दिएर प्रधानमन्त्री चयन भए पनि प्रदेश सरकार निर्माणमा उनीहरु निर्णायक छैनन्, निर्णायक स्थानमा माओवादी नै छ। रास्वपाका प्रदेश सांसदहरु नरहेकाले प्रादेशिक सरकार निर्माणमा उबाट कुनै सहयोग प्राप्त हुँदैन। राष्ट्रिय सभामा पनि उसको उपस्थिति छैन। यस हिसाबले राष्ट्रपति निर्वाचनमा रास्वपाले त्यति ठूलो योगदान गर्न सक्दैन। 

अर्काे साल (२०८०) राष्ट्रिय सभाको निर्वाचन हुन्छ। त्यो निर्वाचनमा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहन्छन्। कांग्रेस र एमालेबीचको मुख्य प्रतिस्पर्धामा पनि माओवादीकै मत निर्णायक हुनेछ। तीन वर्षपछि (२०८२) हुने राष्ट्रिय सभा निर्वाचनमा समेत स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित जनप्रतिनिधिहरुले नै मतदान गर्नेछन्।  

यस हिसाबले पाँच वर्षपछि (२०८४) मा हुने राष्ट्रपतिको निर्वाचनसम्म नै माओवादीको साथ कांग्रेस र एमालेलाई महत्वपूर्ण हुनेछ। निर्वाचनमा भएका गठबन्धनको अभ्यासले अन्य दलको तुलनामा माओवादीका मतदाता बढी इमान्दार छन् भन्ने पनि देखिइसकेको छ। 

कार्यकारी भएकाले प्रधानमन्त्रीको जिम्मेवारी सबैभन्दा शक्तिशाली र महत्वपूर्ण पद हो। तर, राष्ट्रपति र सभामुख सुरक्षित गर्नसके प्रधानमन्त्रीको पद सुरक्षित हुँदो रहेछ भन्ने कुरा विगत पाँच वर्षको अभ्यासले देखाइसकेको छ।

राष्ट्रपतिको महत्वको जानकारी कांग्रेस र एमाले दुवैलाई छ। कांग्रेस र एमालेमध्ये जसले थोरै समयका लागि प्रधानमन्त्री पद ‘त्याग’ गर्छ, राष्ट्रपति त्यही पार्टीले प्राप्त गर्छ। राष्ट्रपति कांग्रेसले प्राप्त गरे केही समयपछि देउवा प्रधानमन्त्री बन्नेछन्, एमालेले प्राप्त गरे ओली। त्यसैले, राष्ट्रपति आफ्नो दलले प्राप्त गर्ने स्थितिमा देउवा र ओली दुवैजना केही समयका लागि प्रचण्डलाई प्रधानमन्त्री पद ‘त्याग’ गर्न राजी (बाध्य) हुनेछन्।

२०७४ मा एकल ‘किङमेकर’ को हैसियतमा रहे पनि प्रचण्ड प्रधानमन्त्री बन्न पाएनन्। अहिले ‘किङ अफ द किङमेकर’ को हैसियतमा झरेका छन्। तर, किस्तीमा प्रधानमन्त्रीको पद राखेर एमाले र कांग्रेसका नेताहरु खुमलटार धाउन थालिसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .