ad ad

राजनीति


प्रचण्डपछि ओली कसरी बन्छन् प्रधानमन्त्री?

प्रचण्डपछि ओली कसरी बन्छन् प्रधानमन्त्री?

सीताराम बराल
पुस २३, २०७९ शनिबार २३:१७, काठमाडौँ

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १० पुसमा प्रधानमन्त्री बनाउने निर्णय हुँदैगर्दा साढे दुई वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति पनि सत्तारुढ गठबन्धनबीच भयो। 

सो सहमति अनुसार साढे दुई वर्षपछि प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ। त्यसपछि रिक्त रहेको प्रधानमन्त्रीको जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्हाल्नेछन्। 

तर, एमाले सांसदहरुका लागि शनिबार (२३ पुस) आयोजित अभिमुखीकरण कार्यक्रममा ओलीको कथनले भने प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिए पनि उनी (ओली) प्रधानमन्त्री बन्न पाउने छैनन्। 

किनभने, संविधानको धारा ७६ (२) अनुसार बनेको प्रचण्ड नेतृत्वको सरकार ढलेपछि धारा ७६ (३) अनुसार देउवा प्रधानमन्त्री बन्ने बाटो खुला हुने ओली आफैले दाबी गरेका छन्।  

‘देउवाले एउटा पार्टीको अध्यक्षलाई बोलाएर तिमी प्रधानमन्त्री बन भनिरहनु भएको छ। तर, धारा ७६ (२) अनुसार बनेको यो सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः अर्काे कुनै विकल्पको साटो धारा ७६ (३) मा जान्छ,’ ओलीले आफ्ना सांसदहरुलाई भने, ‘संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताले प्रधानमन्त्रीमा नियुक्ति पाउँछ।’

ओलीलाई प्रम बन्न रोक्ने धारा 
खासमा ओलीले आफ्नो पार्टी र राप्रपाका सांसदहरुले अन्यथा निर्णय नगरुन्, यही सरकारको पक्षमा मतदान गरुन् भनेर संविधानको धारा उद्धृत गर्दै उपरोक्त कुरा बताएका हुन्। 

तर, उनको कथनले १० पुसमा भएको सहमति अनुसार साढे दुई वर्षपछि प्रचण्डले राजीनामा दिएपछि उनी आफैँ कसरी प्रधानमन्त्री बन्लान् भन्ने प्रश्न उब्जाएको छ। 

संविधानको धारा ७६ (२) अनुसारको सरकार ढलेपछि धारा ७६ (३) अनुसार सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ वा फेरि धारा ७६ (२) अनुसार नै सरकार निर्माण हुन्छ, यसबारे संविधानले स्पष्ट उल्लेख गरेको छैन। 

त्यसैले, धारा ७६ (२) मा फर्कने वा ७६ (३) को प्रक्रिया सुरु गर्ने भन्ने विषय राष्ट्रपतिको तजबिजमा भर पर्छ। दोस्रो पटक ओली प्रधानमन्त्री छँदा जब नेकपा विभाजित भयो र ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न सकेनन्, त्यो बेला राष्ट्रपति विद्या भण्डारीले धारा ७६ (२) मा नफर्की ७६ (३) अनुसार ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

अर्थात्, जब प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनेछन्, फेरि धारा ७६ (२) अनुसार सरकार निर्माणको प्रक्रिया सुरु हुनेछैन। शनिबारको कार्यक्रममा ओलीको कथनले यही कुरा बताउँछ। 

प्रचण्ड नेतृत्वको सरकार धारा ७६ (२) अनुसार निर्माण भएको हो। सो धारामा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्ने संसदीय दलको नेता प्रधानमन्त्री हुने उल्लेख छ। 

धारा ७६ (२) को प्रक्रियाबाट बनेको प्रधानमन्त्री पदबाट हटेपछि धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु हुने हो भने प्रचण्डले राजीनामा दिएपछि सबैभन्दा ठूलो दलको हैसियतमा देउवा स्वतः प्रधानमन्त्री हुनेछन्। 

त्यसैले, प्रचण्डको राजीनामा ‘ओलीलाई प्रधानमन्त्री बनाउन’ होइन, देउवालाई स्वतः प्रधानमन्त्री बनाउन पो हुन सक्नेछ। अहिलेको गठबन्धन र बहुमत कायमै रहँदा पनि प्रचण्डको राजीनामापछि ओली प्रधानमन्त्री बन्न पाउने छैनन्, संविधान अनुसार देउवा निर्विकल्प प्रधानमन्त्री हुनेछन्। 

यो स्थितिमा ओलीका अगाडि दुई विकल्प छन्। एक, साढे दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने १० पुसको ‘बालकोट सहमति’ बिर्सेर प्रचण्डलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिइरहने। दुई, नयाँ प्रधानमन्त्रीका रुपमा देउवालाई स्वीकार गर्ने। 

तेस्रो विकल्पको खोजी
राजनीतिलाई सिधा–सादा रुपमा हेर्दा मात्र ओलीका अगाडि उपरोक्त दुई अप्ठेरा विकल्प देखिने हुन्। तर, ओली ‘चतुर खेलाडी’ हुन्, जसले ‘लठ्ठी पनि नभाँचिने, सर्प पनि मर्ने’ तेस्रो विकल्पको खोजी अवश्य गर्नेछन्। 

तेस्रो विकल्प भनेको ओली नै धारा ७६ (३) अनुसार प्रधानमन्त्री बन्ने हो। यो विकल्पमा जान उनले आगामी साढे दुई वर्षभित्र आफ्नो दललाई प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका रुपमा उभ्याउनु पर्ने हुन्छ। 

अहिले प्रतिनिधि सभामा नेपाली कांग्रेस ८९ सदस्यसहित सबैभन्दा ठूलो दलका रुपमा छ। ७८ सिट जितेको एमालेको सिटसंख्या रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह प्रवेश गरेपछि ७९ पुगेको छ। 

ठूलो दल बन्ने गरी कांग्रेसलाई उछिन्न एमालेलाई अब ११ सांसदको आवश्यकता छ। 

नेकपाकाल र २०७२ मा पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीले जे–जस्ता व्यवहारगत गल्ती–कमजोरी गरे, आफूलाई सुधार गरे भने प्रतिनिधि सभाको यही कार्यकालमा आफू नेतृत्वको दललाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनाउन असम्भव छैन।

एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादीको प्रतिनिधि सभामा १० सिट छ। अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई ‘अपमान’ नगरी खोजे अनुसारको ‘मान’ दिनासाथ पार्टी एकता हुने स्थिति सिर्जना हुनसक्छ। 

१० सिट रहेको एकीकृत समाजवादीसँग एकता गर्नासाथ प्रतिनिधि सभामा एमाले कांग्रेसको हाराहारीमा आइहाल्छ। कांग्रेसकै बराबर सिट संख्या हुने र राष्ट्रपति पनि आफ्नै भएको स्थितिमा प्रचण्डले राजीनामा दिनासाथ सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा धारा ७६ (३) अनुसार ओली प्रधानमन्त्री बन्न सक्नेछन्। 

थप एक–दुई स्वतन्त्र सांसदलाई पार्टीमा प्रवेश गराउन सके भने त जो राष्ट्रपति भएपनि सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपतिले ओलीलाई सरकार गठनका लागि आह्वान गर्नेछन्।  

एकीकृत समाजवादीका नेताद्वय ओलीका लागि जति ‘सहज’ छन्, माओवादी अध्यक्ष प्रचण्ड नेपाल–खनालको तुलनामा कैयौँ गुणा बढी सहज छन्। 

एकीकृत समाजवादीसँग एकता हुने स्थिति बन्छ भने माओवादीसँग झन् सहज रुपमा एकता हुनसक्छ। एमाले–माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भयो भने एकतापछि बन्ने नयाँ दलको प्रतिनिधि सभामा १ सय २१ सिट हुनेछ। त्यसपछि त प्रतिनिधि सभाको यो कार्यकालभर कांग्रेसले ओली नेतृत्वको दललाई उछिनेर ठूलो दलको हैसियत कायम गर्न सक्नेछैन।

यसैहप्ता ‘वामपन्थी एकता’ का लागि एकीकृत समाजवादीले कार्यदल गठन गर्यो, लगत्तै माओवादी केन्द्रले पनि उही प्रयोजनका लागि ‘वार्ता–कार्यदल’ गठन गरेको छ। 

यी कार्यदलको गठन प्रचण्डको राजीनामापछि ओलीलाई प्रधानमन्त्री बनाउने ‘तेस्रो विकल्प’ को कडी हुन सक्छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .