ad ad

राजनीति


छुटेको एक वर्षपछि एकता दिवसमा लिङ्देन-थापा भेट, अंकमाल गरे, एकैठाउँ बसे (तस्बिरहरु)

छुटेको एक वर्षपछि एकता दिवसमा लिङ्देन-थापा भेट, अंकमाल गरे, एकैठाउँ बसे (तस्बिरहरु)

एकता दिवसमा एकै ठाउँ उभिएका राजेन्द्र लिङ्देन र कमल थापा। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २७, २०७९ बुधबार १६:२४, काठमाडौँ

एक वर्षअघिसम्म राजेन्द्र लिङ्देन र कमल थापा एकै पार्टीमा थिए। तर २०७८ मंसिरमा भएको एकता महाधिवेशनबाट अध्यक्ष पदमा लिङ्देनले थापालाई पराजित गरिदिए।

जित्ने कुरामा ढुक्क थापा अप्रत्यासित हारपछि राप्रपामा बस्नै सकेनन्। हारको दोष पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीमाथि थोपर्दै उनले २०७८ फागुन ७ गते राप्रपा नेपाल ब्युँत्याए।

उक्त पार्टी ब्यूँत्याएर नयाँ राजनीति थालेका थापा र लिङ्देनबीच त्यसयता संवाद करिब बन्द थियो।

थापाको नयाँ पार्टीले वैशाख ३० को स्थानीय तह निर्वाचन र मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा निराशाजनक प्रदर्शन गर्यो।

उता लिङ्देनले राप्रपालाई प्रतिनिधिसभामा एक सिटबाट १४ सिटमा पुर्याए। यसबीचमा दुई नेता मिल्ने दबाब बढिरहेका बेला बिहीबार पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसले उनीहरुबीचको भेट जुरायो।

राप्रपाले भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा थापा पनि पुगे। जहाँ थापालाई न्यानो स्वागत गर्दै लिङ्देनले उनीसँग अंकमाल गरे। अतिथिका रुपमा थापालाई आफूसँगैको सोफामा राखेर भलाकुसारी गरे।

राप्रपाका पूर्व अध्यक्ष थापा मंसिर ४ को निर्वाचनमा पनि पराजित भएपछि शक्ति आर्जनको खोजीमा छन्।

यस्तोमा लिङ्देनसँगको यो हार्दिकतापूर्ण भेटले दुवै पक्षका कार्यकर्ता भने उत्साहित भएका छन्। एक वर्षमा पहिलो पटक दुई नेता एकैठाउँ देखिँदा राजावादी शक्तिमा नयाँ सन्देश गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .