ad ad

राजनीति


राष्ट्रपति भण्डारी, जसले ‘ब्लड क्यान्सर’ जितिन्, ‘हिप रिप्लेसमेन्ट’ बल्झिरह्यो

राष्ट्रपति भण्डारी, जसले ‘ब्लड क्यान्सर’ जितिन्, ‘हिप रिप्लेसमेन्ट’ बल्झिरह्यो

ब्लड क्यान्सर उपचार गरे निको हुन्छ भन्ने सबैभन्दा राम्रो उदाहरण हुन् राष्ट्रपति विद्यादेवी भण्डारी


रुपक चौलागाईं
माघ १, २०७९ आइतबार ७:१८, काठमाडौँ

क्यान्सर ‘सर्भाइभर’हरूको जीवन र मनोबलप्रति समर्पित हुँदै गत जेठ २९ का दिन वीर अस्पतालमा आयोजित एक कार्यक्रममा विभिन्न प्रकारका क्यान्सर, तिनको निदान र उपचार विधिबारे चर्चा भयो। 

कार्यक्रमको एउटा स्वाभाविक विषय ब्लड क्यान्सर हुने नै भयो। वर्षौंदेखि क्यान्सर रोगको उपचारमा संलग्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरू उपस्थित त्यस अवसरमा भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक डा. विष्णुदत्त पौडेलले एउटा प्रसंग कोट्याए। 

ब्लड क्यान्सर भएका मान्छे उपचारपछि निको हुने र त्यसको राम्रो उदाहरण राष्ट्रपति विद्यादेवी भण्डारी भएको उनले बताएका थिए। 

‘ब्लड क्यान्सर उपचार गरे निको हुन्छ भन्ने सबैभन्दा राम्रो उदाहरण हाम्रो महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेर्दा हुन्छ,’ उनले कार्यक्रममा भनेका थिए, ‘यसमा सरकारको दृष्टिकोणबाट पनि सहयोग हुनुपर्छ।’

क्यान्सरसँग लड्नु, त्यसमध्येको पनि सबैभन्दा गम्भीर मानिएको ब्लड क्यान्सरसँगै लड्नु, कसैका लागि पनि चानचुने कुरा होइन। राष्ट्रपति भण्डारीजस्तै क्यान्सर जितेका वा लड्दालड्दै जीवन गुमाउनेहरूका कथा संगालिएका पुस्तकहरू बेस्टसेलर हुने गरेका छन्। हाम्रो सन्दर्भमा जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ र मनिषा कोइरालाको ‘हिल्ड’ लाई उदाहरण मान्न सकिन्छ। दुर्भाग्यवश घिमिरे आज हाम्रा बीचमा छैनन्, सौभाग्यवश मनिषा आफ्नो सामान्य जीवनमा फर्किसकेकी छन्।

क्यान्सरसँग लडेका उनीहरूका कथा, मनोवैज्ञानिक रुपान्तरण र भोगाइका उतारचढाव पढेर द्रवीभूत नहुने पाठक पाउन मुस्किल छ। ती कथाले क्यान्सर रोग लागेर बाँच्नेहरूप्रति सम्मान बढाउँछन् भने जीवन गुमाउनेहरूप्रति श्रद्धा उत्पन्न गर्छन्। जीवन र जगतलाई हेर्ने हाम्रो दृष्टि बदल्छन्। 

कष्टसाध्य रोग भए पनि आधुनिक विज्ञानले विकास गरेको उपचार प्रविधिका कारण सबै प्रकारका क्यान्सरहरू अब निको हुन सक्ने रोगमा परिणत भैसकेका छन् भन्ने डा. पौडेलको विचार ग्रहणीय हुँदाहुँदै पनि ब्लड क्यान्सर भन्नासाथ हरेक व्यक्तिको पहिलो प्रतिक्रिया त्रास र संशय नै हुन्छ।

यो रोग लागेपछि मान्छे मर्छ, नेपालमा यसको उपचार सम्भव छैन, उपचार भएपनि थुप्रै आर्थिक भार पर्छ भन्ने सोच कायमै छ। धेरैजसो क्यान्सर रोगीका परिवार मानसिक समस्यामा नै पर्ने गरेका छन्। यसैलाई चिर्ने सहज उदाहरणका रूपमा डा. पौडेलले राष्ट्रपति भण्डारी ब्लड क्यान्सरबाट निको भएको तथ्य पेस गरेका थिए।

देशको प्रथम महिला राष्ट्रपति र विश्वको सत्ताइसौँ महिला राष्ट्राध्यक्षका रूपमा मात्र होइन, क्यान्सर सर्भाइभरका लागि समेत भण्डारी जीवन जिउने प्रेरणा हुन्। 

फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर सचेतना दिवसका कतिपय कार्यक्रमहरूमा पनि सर्भाइभरको सफल उदाहरणका रूपमा राष्ट्रपति भण्डारीको चर्चा हुने गर्छ।  तेह्रचौध वर्षअघि उनको उपचार सरकारी खर्चमा नभएर पारिवारकै संयोजनमा भएको हो। मौका पाउनसाथ पहुँचको उपयोगबाट राज्य दोहन गर्न अग्रसर हुने आजको समयमा भण्डारीको उसबेलाको उपचारलाई पनि अपवादकै उदाहरणका रूपमा लिन सकिएला। 

डा. पौडेलले भनेजस्तै राष्ट्रपति भण्डारीले ब्लड क्यान्सर त जितिन्। तर, क्यान्सर निको पार्ने केमोथेरापीको कारण गर्नुपरेको ‘हिप रिप्लेसमेन्ट’ भने उनको जीवनमा सधैँको क्यान्सर बनेर बल्झिरह्यो। राजनीति जोडिएपछि शायद मानवीयता गौण हुँदै जाने हुनाले हो वा क्यान्सर सर्भाइभरबारेको बुझाइका कमीले, भण्डारीमाथि हुने गरेका कतिपय टिप्पणीहरूलाई सामान्य मानवताको कसीमा समेत स्वीकार्न सकिन्न। 

यसको पछिल्लो उदाहरण हो– साझा यातायात चढेर पाटनसम्म उनको यात्रा।

गत २३ पुसमा मात्र राष्ट्रपति भण्डारी साझा यातायात चढेर ललितपुरको पाटनढोका पुगिन्। पाटन बस स्टपमा ओर्लिएर उनले मदन पुरस्कार पुस्तकालयको अवलोकन गरिन्। अभिलेख र इतिहासमा अतिरिक्त रुचि भएकैले गत वर्ष मात्रै मुलुकका विशिष्ट इतिहासविज्ञ प्रा. महेशराज पन्तलाई आफ्नो सल्लाहकार समूहमा नियुक्त गरेकी भण्डारीले पन्तकै संरक्षकत्वमा रहेको इतिहास संशोधन मण्डलको अभिलेखालय पनि भ्रमण गरेकी थिइन्।  

भण्डारीका सञ्चार सल्लाहकार टीका ढकाल विदेश नीति, प्राच्यविद्या र साहित्यमा समेत दक्खल राख्छन्। ढकाल भन्छन्, ‘राष्ट्रपति आफूलाई मूलतः इतिहासको विद्यार्थी मान्नुहुन्छ र, उहाँको अध्ययन पनि सोही विषयमा भइरहेको हुन्छ।’

पुस २३ गतेको कार्यक्रममा मदन पुरस्कार पुस्तकालयदेखि पैदल यात्रा गर्दै पाटन सहरको बीचमा अवस्थित करिब पाँच सय वर्ष पुरानो पिम्बहाल पोखरीको पनि उनले भ्रमण गरिन्। भर्खरै पुनर्निर्माण सम्पन्न भएको र झन्डै रानीपोखरी शैलीकै ऐतिहासिक पिम्बहाल पोखरीमा राष्ट्रप्रमुखको भ्रमणले उत्साह थपेको पक्षलाई दरकिनार गर्दै राष्ट्रपतिले बस चढ्दा प्रयोग गरेको ‘पिर्का’ का विषयमा उनीमाथि ट्रोल गरियो।  

सामाजिक सञ्जालमा ‘ट्रोल’ भएपछि यसबारे राष्ट्रपति भण्डारीका सल्लाहकार ढकालसँग हामीले जिज्ञासा राखेका थियौँ। 

ढकालले ब्लड क्यान्सरको उपचारका क्रममा राष्ट्रपति भण्डारीलाई किमोथेरापी दिइएको र त्यसैका कारण उनको कम्मरको जोर्नी रिप्लेस गरिएको थप सुनाए।

‘उहाँले क्यान्सरलाई जित्नुभएको हो, हाल स्वास्थ्य सामान्य भए पनि त्यसको प्रभावबाट उत्पन्न अन्य असरका कारण पूर्वसावाधानीहरू अपनाइ रहनुपर्छ,’ उनले भने।  

‘अलिक अग्ला खुड्किलाहरू चढ्न एसिस्ट प्रयोग गर्नुपर्छ, तपाईंहरूले भन्ने गरेको पिर्का त्यस्तै एउटा उदाहरण हो,’ ढकालले थपे, ‘र, त्यो प्लाइउडबाट लोकल मिस्त्रीले बनाएको सात इन्ची अग्लो एउटा अतिरिक्त खुड्किलो हो। सधैँ चाहिने हुनाले पोर्टेबल छ। उहाँ राष्ट्रपति भएपछि होइन, उपचारपछि बनाइएको हो।’

राष्ट्रपतिले प्रयोग गरेकोजस्तो पिर्का यस्तै समस्या झेलिरहेका अरुले पनि प्रयोग गर्न सकिने ढकालले सुझाव दिए।  

‘हाम्रा परिवारमा हिप रिप्लेसमेन्ट गरिएका सदस्य हुनुहुन्छ भने उहाँहरूका लागि पनि चाहिने र सहज रूपमा बनाउन सकिने वस्तु हो यो। केही सय रुपैयाँमा तयार हुन्छ,’ ढकालले भने।

किन गरियो हिप रिप्लेसमेन्ट?
कम्मरमा रहेको माथिल्लो जोर्नीलाई सामान्यतयाः हिप भनिन्छ। हिपमा ‘सकेट एन्ड बल’ हुन्छ। सोही जोर्नी मक्किएर काम नगर्ने भएपछि त्यहाँ मेटल (स्टिल) हालिन्छ जुन प्रक्रियालाई हिप रिप्लेसमेन्ट भनिन्छ। 

यसरी ‘हिप रिप्लेसमेन्ट’ गरेको मानिसलाई उकालो–ओरालो हिँड्दा र सिँढी चढ्दा ‘हिप डिसलोकेट’ (खुस्किने) सम्भावना हुन्छ। हिप फेरेको बिरामीलाई ‘हाइ स्टेपिङ गेट’ हुन्छ, अर्थात् खुट्टा माथि उठाएर टेक्दा धेरै खुम्चिन्छ र त्यसको गेडी खुस्कने हुन्छ। 

हिप रिप्लेसमेन्टको समयमा जोर्नीको क्षतिग्रस्त भागहरू हटाइन्छ। तिनीहरूलाई सामान्यतया धातु, सेरामिक र धेरै कडा प्लास्टिकबाट बनेका भागहरूसँग बदलिन्छ। यो कृत्रिम जोर्नीले दुखाइ कम गर्न मद्दत गर्ने चिकित्सकहरु बताउँछन्।

सुरुमा राष्ट्रपति भण्डारीलाई भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) हस्पिटलमा ब्लड क्यान्सको उपचार गर्ने तयारी थियो। सँगै भारत गएका उनका देवर डा. कैलाश भण्डारीका अनुसार एम्समा उपचारका लागि समय लाग्ने भएपछि त्यहीँको एपोलो अस्पताल लगिएको थियो। 

डा. कैलाश अर्थोपेडिक सर्जन हुन्। उनीसहित ईएनटी (नाक, कान घाँटी) सर्जन डा. धर्मकान्त बाँस्कोटा पनि भारत गएका थिए। एपोलो अस्पतालका डा. हर्ष दुवाले राष्ट्रपति भण्डारीको उपचार गरेका थिए। डा. हर्ष इंगल्यान्डको नटिंगहम युनिभर्सिटीका प्रोफेसर हुन्। पछि अर्का प्रोफेसर डा. राजीवकुमार शर्मा पनि उपचारमा संलग्न भए। ब्लड क्यान्सर निको पार्नका लागि ‘किमोथेरापी’ गराइयो।

भण्डारीले खतरनाक क्यान्सरलाई जितिन् तर साइड इफेक्ट कम्मरमा देखियो। उपचारमा संलग्न चिकित्सकै सल्लाहमा स्टिलको जोर्नी राखेपछि भने उकालो–ओरालो हिँड्ने बेलामा ध्यान दिन थालिएको डा. भण्डारी बताउँछन्। 

क्यान्सरसँगै राजनीति
ब्लड क्यान्सरबाट पीडित भइरहँदा भण्डारी राजनीतिमा पनि सक्रिय थिइन्। डा. कैलाशका अनुसार त्यतिबेला निर्वाचनमा नउठ्ने कि भन्ने समेत छलफल भयो। 

‘स्वास्थ्यमा थोरै सुधार आउनेबित्तिकै उहाँ काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नुभयो,’ डा. भण्डारीले स्मरण गर्दै सुनाए, ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि माधव नेपाल नेतृत्वमा सरकार गठन भयो। उहाँले त्यतिबेला रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो।’

यस्तो छ दैनिकी
राष्ट्रपति भण्डारी सर्वसाधारणजस्तै सादा खाना मन पराउँछिन्। सामान्यतया दाल भात र तरकारी नै उनको पहिलो रोजाइमा पर्छ। ब्लड क्यान्सर जितेपछि पनि हिप रिप्लेसमेन्टको साइड इफेक्टका कारण सिँढी उक्लन र ओर्लन गाह्रो हुने गरेको छ। 

अहिले पनि दैनिक बिहान पौने घण्टा राष्ट्रपति कार्यालयको कम्पाउन्डमा हिँड्ने गरेको सल्लाहकार ढकाल बताउँछन्। 

‘राष्ट्राध्यक्षका रूपमा सम्पादन गर्नुपर्ने कामहरूमा उहाँको दैनिकी व्यस्त हुन्छ। बचेको समयमा पढ्नुहुन्छ,’ ढकालले भने। 

‘इतिहासका पुस्तक पढ्न राष्ट्रपतिलाई विशेष चासो छ। पछिल्लो समय उहाँले पढेको किताब सत्यमोहन जोशीको जीवनी हो,’ उनले भने, ‘सरदार भीम बहादुर पाँडेको राष्ट्रभक्तिको झलक, पूर्णिमा पत्रिकाका अंकहरु खोजेर पढिरहनुभएको थाहा छ।’

नगरिकता विधेयकबारे संसदमा चर्काचर्की चल्दा पनि राष्ट्रपति भण्डारीले अध्ययन बढाएकी थिइन्।

‘नागरिकता विधेयकबारे कुरा चल्दा पनि उहाँले २००९ देखिकै कानुन, इतिहास, विभिन्न आयोगका प्रतिवेदनहरू मगाएर पढ्नुभयो,’ उनले सुनाए, ‘हाम्रा लागि चुनौती हुन्छ कहिलेकाहीँ।’

राष्ट्रपतिकै सुझाव– प्रतिवादमा नउत्रनू
राष्ट्रपतिसँग जोडेर मिडिया र सामाजिक सञ्जालमा ‘ट्रोल’ बनिरहेको हुन्छ। कहिले सडकमा हुने सवारी जाम त कहिले गाडी खरिदका हल्लाले पनि विवाद भइरहेको हुन्छ। 

तर, भण्डारी को सचिवालयले प्रतिवाद गरेको उति देखिँदैन। कतिपय सन्दर्भमा भने आलोचनापछि सुधार पनि गरिएको ढकाल बताउँछन्। 

सवारी जामको कुरा धेरै उठेपछि उतिबेलै बाटो पूरै नरोक्ने, एकतर्फी चल्न दिने, सामान्य ट्राफिक बत्तीमा जति मात्रै रोक्ने, लामो यात्रामा जाँदा काठमाडौंबाट सवारी साधनहरू लिएर नजाने जस्ता सुधारात्मक कामहरू राष्ट्रपतिकै निर्देशनमा गरिएको उनले सुनाए। 

कतिपय चाहिँ विशुद्ध हल्ला मात्र रहेको ढकालको अनुभव छ। 

‘म आउनुअघि राष्ट्रपति कार्यालयका लागि भनेर महंगा गाडीहरू किनिएको हल्ला चलेको थियो, तर त्यो होइन रहेछ। राष्ट्रपति कार्यालयका लागि भनेर विगत लामो समयदेखि नयाँ सवारी साधन सरकारले किनेको छैन,’ उनले भने, ‘त्यसमाथि राष्ट्रपतिको प्रस्ट निर्देशन छ– पुरानै मर्मत गरेर चलाउनू। खराब नियत राखेर झूटो कुर फैलाइएको रहेछ।’

उपत्यकामा हुने धेरै कार्यक्रमहरू ट्राफिक सहजताकै लागि शनिबार राख्ने गरिएको छ। पुस २३ को पाटन भ्रमण शनिबारै थियो भने ३० गते काभ्रेमा बनेको नेपालको एकमात्र ब्रह्मा प्रतिमा एवं पार्कको अवलोकन पनि शनिबार नै राखिएको रहेछ। 

यद्यपि राष्ट्राध्यक्षको सुरक्षा संवेदनशील विषय भएकाले सुरक्षा निकायहरु न्यूनतम तहको सावधानी अपनाउन सधैँ चनाखो रहँदा ‘जिरो सुरक्षा’ भन्ने कुरा असम्भव नै देखिन्छ। 

‘राष्ट्रपति कार्यालय आफैँमा हरेक कुरामा वादविवाद गर्न उत्रिने कुरा होइन,’ ढकालले भने, ‘गलत कुराहरु आएमा त्यसको खण्डन गर्नुपर्छ, तर राष्ट्रपति कार्यालय वा सचिवालयका कुनै पनि सदस्य सधैँ खण्डनमा जाने कुरा सुहाउँदैन। त्यसले संस्थाको गरिमालाई कायम राख्न सक्दैन।

‘नेपालले विश्वलाई भन्न सक्ने नयाँ कथा’
राष्ट्रको सर्वोच्च संस्थामाथि राज्यका निकायको ध्यान जानु स्वाभाविक भए पनि यथार्थ नबुझी टिप्पणी गर्दा समाजले न्याय नगरेको ढकालको बुझाइ छ। 

‘आफ्ना कुराहरु बारम्बार भन्ने र सुस्पष्टसँग भन्ने तर प्रतिवाद वा झगडामा नउत्रने। प्रतिवादमा उत्रनेबित्तिकै यो संस्थाको गरिमा शायद रहँदैन,’ ढकाल भन्छन्। 

राट्रपतिको सोही सुझावलाई ध्यानमा राख्दै आफूहरू चनाखो बस्ने गरेको ढकाल बताउँछन्।

‘म त्यहाँ भएको कारणले मात्र भनेको होइन,’ ढकालले सुनाए, ‘उहाँको व्यक्तिगत जीवन अत्यन्त सरल छ। उहाँ जे हो, त्यही हो।’

‘हामी विश्वमञ्चमा सहभागी हुँदा लैंगिक समानता र समावेशितालाई नेपालको सफल उदाहरणका रूपमा प्रस्तुत गर्न सक्छौं, जसको नेतृत्व विद्यादेवी भण्डारीले गर्नुभएको छ। नेपालले विश्व समुदायलाई भन्न पाउने नयाँ र बलियो कथा छ,’ उनले भने, ‘तर, देशभित्र हामीले पहिलो महिला राष्ट्रप्रमुखको व्यक्तित्वमाथि कति न्याय गरिरहेका छौँ, हामी कति विभाजित वा एक छौँ भन्ने विषयमा ठूलो आत्मावलोकन आवश्यक छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .