ad ad

राजनीति


भंगालमा धमाधम तयार पारिँदैछ राष्ट्रपति भण्डारीका लागि नयाँ निवास

भंगालमा धमाधम तयार पारिँदैछ राष्ट्रपति भण्डारीका लागि नयाँ निवास

बुढानीलकण्ठ–२ चपलीस्थित भंगालमा राष्ट्रपति विद्यादेवी भण्डारी बस्नेगरी धमाधम घर पुनःनिर्माण भइरहेको छ। तस्बिर : विशाल कार्की/नेपालखबर।


रुपक चौलागाईं
माघ २३, २०७९ सोमबार १२:१५, काठमाडौँ

आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल पूरा हुँदैगर्दा उनकाे आवासबारे पनि प्रश्न उठ्न थालेका छन्। कतिपयले सरकारी सेवामै भाडाकाे घरमा बस्न लागेको भन्दै प्रश्न उठाएका हुन्।

तर, १२ कात्तिक ०७२ मा राष्ट्रपति निर्वाचित भएकी भण्डारीले कार्यकाल सकिएसँगै आफ्नै निजी निवासमा बस्नेगरी तयारी अघि बढाएकी छन्।

बुढानीलकण्ठ नगरपालिका-२ चपलीस्थित भंगालमा उनको घर धमाधम पुनःनिर्माण भइरहेको छ। राष्ट्रपति भण्डारी सोही घरमा बस्नका लागि पुनःनिर्माण र सजावट चलिरहेको हो।

राष्ट्रपति बन्नुअघि नै नयाँ घरमा सर्ने भण्डारीको तयारी थियो। चपलीस्थित माथिल्लो भंगालमा करिब २० आना जग्गामा नयाँ घर पनि बनिरहेको थियो। 

त्यसअघि उनी नयाँ बानेश्वरस्थित देवर डा. कैलाश भण्डारीसँगै बस्ने गरेकी थिइन्। डा.कैलाश स्व.मदन भण्डारीका भाइ हुन्।

१२ वैशाख ०७२ मा महाभूकम्प गयो। भूकम्पलगत्तै उनी भंगालमा बनेको नयाँ घरमा सर्ने तयारी भए पनि त्यो पूरा भएन। राजनीतिक ‘उथलपुथल’सँगै भण्डारी मुलुकको राष्ट्रपति निर्वाचित भइन्। 

राष्ट्रपति बनेसँगै भंगालमा बनेको नयाँ घरमा बस्ने उनको ‘रहर’ पूरा भएन। ७ वर्षभन्दा बढी मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गरेर भण्डारी सोही ‘रहर’ पूरा गर्ने तयारीमा लागेकी हुन्।

भंगालस्थित भण्डारीको सो घर विगत एक महिनादेखि ‘ए वान बिल्डर्स’ नामक कम्पनीले ठेक्कामा लिएर पुनःनिर्माण गरिरहेको छ। आगामी २० फागुनसम्म सम्पूर्ण निर्माणको काम सक्नेगरी कम्पनीलाई ठेक्का दिइएको हो।

भण्डारीकै इच्छा अनुसार सो घर पुनःनिर्माण भइरहेको हो। जसको समन्वय उनकै कान्छा भाइ दिगेन्द्र पाण्डेले गरिरहेका छन्। 

‘दिदी(राष्ट्रपति) आफैँले भंगालमै बनेको घरमा बस्न चाहेपछि अहिले पुनः निर्माणको काम भइरहेको हो,’ पाण्डेले भने, ‘यहाँ भएको पुनःनिर्माणको सम्पूर्ण खर्च हामी आफैंले परिवारबाट गरेका छौं। राज्यकोषबाट कुनै रकम प्रयोग भएको छैन।’

यसअघिका राष्ट्रपति डा. रामवरण यादव सरकारले भाडामा लिइदिएको घरमा बस्दै आएका छन्। भण्डारीले पनि सोही तयारी गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। 

तर, महिनौँ अघिदेखि नै भण्डारीले आफू भंगालमै रहेको घरमा बस्ने बताउँदै आएको र सोही अनुसार आफूहरुले घर पुनः निर्माणको काम अघि बढाएको पाण्डे बताउँछन्। 

बुढानीलकण्ठबाट चपलीतर्फ जाँदैगर्दा आउने थापा चोकबाट पूर्वतिर राष्ट्रपति भण्डारीको घर छ। पुनःनिर्माणको जिम्मा लिएको ए वान बिल्डर्सले कामदारहरू खटाएर धमाधम काम गरिरहेको छ। 

 

घरको गेट पुरानो देखिन्छ। गेटबाट भित्र छिर्नेबित्तिकै बालुवा र गिटी थुप्रिएको छ। धमाधम प्लास्टर गर्ने र संरचना निर्माणको काम भइरहेको देखिन्छ। 

घरभित्र प्रवेश गर्नासाथ स्व. पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको तस्बिर देखिन्छ।

छेवैमा पुस्तकालय छ।

पुस्तकालय वरिपरि पुराना सरसमान देखिन्छन्। त्यही छेउमा राष्ट्रपति भण्डारीको ठूलो तस्बिर छ। निर्माण भइरहँदा उडेको धुलो भण्डारीको तस्बिर र पुस्तकालयमा लागेको देखिन्छ।

माथिल्लो तल्लामा भान्सा छ। 

साढे २ तल्लामा बनेको सो घरको संरचना पूर्ण रुपमा नयाँ बनाउनेगरी जिम्मा पाएको कम्पनीका इन्जिनियर दिनेश पौडेल बताउँछन्। उनका अनुसार समयसीमाभित्र सक्नेगरी कामदारहरु खटाइएको छ। 

‘आगामी २० फागुनसम्म सक्नेगरी हामीले काम अघि बढाएका छौं,’ उनले भने। 

भण्डारीको स्वास्थ्य अवस्थालाई समेत ध्यान दिइएर घर बनाउँदै गरिएको उनले बताए। ब्लड क्यान्सरपछि गरिएको हिप रिप्लेसमेन्टका कारण भण्डारीले अग्लो ठाउँमा खुट्टा उचाल्न हुँदैन। 

चिकित्सकको सल्लाह अनुसार अहिले पनि भण्डारीले अग्लो ठाउँमा टेक्नुअघि सावधानी अपनाउने गरेकी छिन्। राष्ट्रपति भण्डारीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर त्यहाँका सिँढीहरु निर्माण गरिएको पाण्डेले बताए।

तस्बिर/भिडिओ: विशाल कार्की/नेपालखबर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .