ad ad

राजनीति


बाइडेनको ‘समिट फर डेमोक्रेसी’ मा भाग लिन प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको ताकिता

बाइडेनको ‘समिट फर डेमोक्रेसी’ मा भाग लिन प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको ताकिता

सन्तोष घिमिरे
माघ २५, २०७९ बुधबार २३:१८, काठमाडौँ

राष्ट्रपति जो बाइडेनले आगामी मध्य चैतमा आयोजना गर्न लागेको ‘समिट फर डेमोक्रेसी २०२३’ मा अमेरिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरेको छ।

बाइडेनको लोकतन्त्रसम्बन्धी ‘सिग्नेचर इनिसियटिभ’ का रुपमा रहेको उक्त विश्वव्यापी सम्मेलनमा भाग लिन अमेरिकाका तर्फबाट नेपाललाई ताकिता गरिएको छ। 

अमेरिकी राष्ट्रपति बाइडेनले २०७८ मंसिरमा पहिलोपटक ‘समिट फर डेमोक्रेसी’ को आयोजना गरेका थिए, जसमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भर्चुअल माध्यमबाट सहभागी भएका थिए। त्यही सम्मेलनको निरन्तरताका रुपमा बाइडेनले यसवर्ष चैतमा ‘समिट फर डेमोक्रेसी’ आयोजना गर्न लागेका हुन्। चैत १५ र १६ गते बाइडेनले ‘समिट फर डेमोक्रेसी २०२३’ आयोजना गर्दै छन्। सम्मेलन भर्चुअल र भौतिक उपस्थिति दुवै माध्यमबाट हुँदै छ। 

एक साताअघि नेपाल भ्रमणमा आएकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग ‘समिट फर डेमोक्रेसी २०२३’ मा नेपालको उच्चस्तरीय सहभागिताको अपेक्षा गरिएको बताएकी थिइन्। 

त्यसैगरी मंगलबार र आज बुधबार नेपाल भ्रमण गरेकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावरले पनि ‘समिट फर डेमोक्रेसी २०२३’ बारे प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री पौड्यालसँग कुरा उठाएकी छिन्। 

अमेरिकी अधिकारीसँग भएका यी दुवै भेटमा प्रधानमन्त्री प्रचण्डले ‘समिट फर डेमोक्रेसी’ शीर्षकको उक्त सम्मेलनमा सहभागिताबारे स्पष्ट जवाफ दिएका छैनन्। तर प्रधानमन्त्रीले लोकतन्त्र र मानवअधिकारप्रति नेपाल प्रतिबद्ध रहेको जवाफ अमेरिकी अधिकारीहरुलाई दिएको उनी निकट स्रोतले जनाएको छ। 

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार ‘समिट फर डेमोक्रेसी २०२३’ का सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयले केही समयअघि नै जानकारी गराएको थियो। 

‘समिट फर डेमोक्रेसी आयोजना हुन लागेको बारेमा अमेरिकी विदेश मन्त्रालयले कूटनीतिक नोटमार्फत् जानकारी गराएको छ। प्रधानमन्त्री प्रचण्डलाई यस सम्बन्धमा जानकारी गराइसकेका छौँ। यद्यपि उहाँको तहबाट सहभागिता जनाउने वा नजनाउने विषयमा स्पष्ट भइसकेको छैन,’ मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

यूएसएआईडीकी प्रमुख पावरले बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समिट फर डेमोक्रेसीमा नेपाललाई निमन्त्रणा गरिसकिएको हुनुपर्ने बताइन्।

‘समिट फर डेमोक्रेसीमा नेपाललाई निमन्त्रणा गरिसकिएको हुनुपर्छ भन्ने मलाई लाग्छ। यो सम्मेलन धेरैजसो खण्ड भर्चुअल माध्यमबाट नै आयोजना हुनेछ। यसबारेमा हाम्रा राजदूत थम्सनलाई पक्कै जानकारी छ,’ पत्रकार सम्मेलनमा सँगै रहेका राजदूत डिन आर थम्पसनलाई त्यसबारेमा सोध्दै उनले भनिन्। 

राजदूत थम्पसनले नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा दिइसकिएको जवाफ दिए। 

यूएसएआईडीकी प्रशासक पावरले सम्मेलनमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुने अपेक्षा गरिएको बताइन्। 

‘गतसाल भएको समिट फर डेमोक्रेसिमा नेपालले लोकतन्त्र र मानवअधिकारबारे गरेका प्रतिबद्दताका सम्बन्धमा जानकारी गराउन र अबका दिनमा लोकतान्त्रिक संस्थाहरु सुदृढ गर्न नेपालले अघि बढाउने कदमबारे जानकारी गराउने अवसर अब हुने सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई हुनेछ,’ उनले भनिन्। 

२०७८ मंसिर अन्तिम साता भएको पहिलो ‘समिट फर डेमोक्रेसी’ मा प्रधानमन्त्री शेरबहादुर देउवा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका थिए। 

के हो समिट फर डेमाक्रेसी? 
समिट फर डेमोक्रेसी अमेरिकी राष्ट्रपति बाइडेनको व्यक्तिगत चाहना र तत्परतामा आयोजना गर्न थालिएको सम्मेलन हो। 

समकालीन विश्वमा लोकतन्त्रको चुनौतीका रुपमा देखापरेका अधिनायकवाद र भ्रष्टाचारविरुद्ध लड्न तथा मानवअधिकारको रक्षा गर्न ‘मन मिल्ने मुलुक’ मिलेर काम गर्ने संकल्प लिएर बाइडेनले समिट आयोना गरेको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको छ।

आफ्नो राष्ट्रपतीय चुनावको अभियानका क्रममा बाइडेनले आफू निर्वाचित भए लोकतन्त्रबारे विश्व सम्मेलन आयोजना गर्ने घोषणा गरेका थिए।

ताइवानलाई पनि बाइडेनले डाके, चीनले विरोध गर्यो

लोकतन्त्र पक्षधर भनिएका ११० मुलुकले दुई दिने सम्मेलनमा अमेरिकी निम्तो पाएका थिए। समिटमा दक्षिण एसियाबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई डाकिएको थियो। तर पाकिस्तान सहभागी भएन। 

सम्मेलनमा चीनलाई नबोलाए पनि चीनले आफ्नो अभिन्न हिस्सा दाबी गर्दै आएको टापु ताइवानलाई भने डाकियो। त्यसको चीनले विरोध गर्यो। चिनियाँ विदेश मन्त्रालयले जनवादी गणतन्त्र चीनले मात्रै सम्पूर्ण चीनको वैधानिक प्रतिनिधित्व गर्ने बताउँदै भनेको थियो, ‘विश्वमा एकमात्रै चीन छ। त्यो भनेको जनवादी गणतन्त्र चीन मात्रै हो।’ 

यसपालि पनि बाइडेनले ताइवानलाई बोलाउने सम्भावना छ। 

चीनसँगको प्रतिद्वन्द्विता साँध्न अमेरिकाले ताइवानलाई सम्मेलनमा डाकेको विश्लेषण भएको थियो। कतिपयले यसलाई अमेरिकाले एक चीन नीति छाड्न लागेको संकेतको रुपमा पनि हेरेका थिए। 

बाइडेनको समिट फर डेमोक्रेसीलाई चीन र रुसले ‘अमेरिकी धुरीको लोकतान्त्रिक गठबन्धन’ को एक हिस्साको संज्ञा दिएका थिए। यसपालि चीनका अलावा रुस र उत्तर कोरियालगायत मुलुकलाई पनि उक्त समिटमा निम्त्याइने छैन। चीन र रुसले अमेरिकी परिभाषाको लोकतन्त्र आफूलाई मान्य नहुने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .