ad ad

राजनीति


नेपाल र भारतबीच सार्कको नयाँ महासचिव नियुक्तिबारे छलफल

अफगानिस्तानको पालो मिचेर बंगलादेशले महासचिव नियुक्त गर्ने सम्भावना
नेपाल र भारतबीच सार्कको नयाँ महासचिव नियुक्तिबारे छलफल

सन्तोष घिमिरे
फागुन १, २०७९ सोमबार २३:३६, काठमाडौँ

नेपाल र भारतका परराष्ट्र सचिवबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिव चाँडै नियुक्त गर्ने विषयमा छलफल भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राले यसबारे छलफल गरेका हुन्।

सार्कका वर्तमान महासचिव इसाला रुवान विराकुनको पदावधि फागुन तेश्रो साता सकिँदैछ। उनको कार्यकालपछि नयाँ महासचिव नियुक्तिबारे नेपाल र भारतबीच कुराकानी भएको हो।

होटल याक एन्ड यतीमा सोमबार भएको परराष्ट्र सचिवबीचको द्विपक्षीय बैठकअघि सचिव पौड्याल र क्वात्राबीच केही समय दुवै देशका विदेश मन्त्रालयका सीमित अधिकारी राखेर कुराकानी भएको थियो। त्यस बैठकमा सार्कमा नयाँ महासचिव नियुक्ति लगायतबारे कुराकानी भएको बैठकबारे जानकार स्रोतले नेपालखबरलाई जानकारी दियो। 

‘भारतीय विदेशसचिवसँग सार्कमा नयाँ महासचिव नियुक्तिबारे सकारात्मक छलफल भएको छ। सार्कलाई नेतृत्वविहीन बन्न दिनुहुँदैन भन्नेमा नेपालको जोड रह्यो। भारतीय पक्षको पनि त्यसमा सहमति छ। अब केही दिनभित्रै सार्कका नयाँ महासचिवको नियुक्तिको विषयमा टुंगो लाग्नेछ,’ स्रोतले भन्यो।

वर्णानुक्रमअनुसार सार्कको महासचिव अफगानिस्तानले पाउनुपर्ने थियो। तर अफगानिस्तानको नयाँ तालिवान शासनलाई सार्क सदस्य देशले मान्यता नदिएका कारण सार्कमा महासचिव नियुक्त गर्न नपाउने अवस्था बनेको छ। अफगानिस्तानले महासचिव नियुक्त गर्न नपाउँदा अब वर्णानुक्रमअनुसार बंगलादेशले नियुक्त गर्ने विषयमा सार्क सदस्य देशहरुबीच प्रारम्भिक छलफल चलिरहेको छ। तर त्यस विषयमा ठोस सहमति जुटिसकेको छैन। 

‘सार्क माइनस अफगानिस्तान गर्दा के हुन्छ भन्नेबारे पनि कुराकानी भएका छन्। तर सहमति जुट्न बाँकी छ,’ कूटनीतिक स्रोतले भन्यो। 

वर्णानुक्रम छोडेर अर्को सदस्य मुलुकबाट सार्क महासचिव प्रस्ताव गर्ने परिकल्पना सार्क चार्टरले गरेको छैन। चार्टरको यही व्यवस्थाका कारण सार्क नेतृत्व विहीन हुने हो कि भन्ने परिस्थिति सिर्जना भएका बेला नेपाल र भारतका विदेश सचिवबीच सार्कको महासचिव नियुक्तिबारे कुराकानी भएको हो। सार्कको वर्तमान अध्यक्ष राष्ट्रका नाताले नेपालले सार्कलाई नेतृत्वविहीन हुन नदिन सार्कका अन्य सदस्य देशहरुसँग संवाद गरिरहेको छ। 

सार्कमा नयाँ महासचिव नियुक्तिबारे नेपाल र भारतबीच सकारात्मक छलफल भए पनि अवरुद्ध सार्क प्रक्रियालाई गति दिन विषयमा भने भारतीय पक्षले कुनै वचन दिएको छैन। 

सार्क प्रक्रिया अवरुद्ध हुँदा ८ वर्षयता सार्क शिखर सम्मेलन हुन सकेको छैन। सन् २०१४ मा १८ औं सार्क शिखर सम्मेलन नेपालमा भएको थियो। त्यसपछि पाकिस्तानमा सार्क शिखर सम्मेलन गर्ने भनिए पनि सीमापार आतंकवादका विषयमा भारत र पाकिस्तानबीच तनाव बढेपछि सार्क सम्मेलन हुन सकेको छैन। 

आज भएको परराष्ट्र सचिवस्तरीय बैठकमा सचिव पौड्यालले नेपालले कालापानी, लिम्पियाधुरा लगायत स्थानमा रहेका सीमा समस्याबारे कुरा उठाएका थिए। बैठकपछि नेपालको परराष्ट्रले जारी गरेको विज्ञप्तिमा सीमाका विषयमा स्थापित संयन्त्रका माध्यमबाट टुंग्याउन बाँकी सीमासम्बन्धी कामलाई पूर्णता दिनबारे छलफल भएको उल्लेख गरिएको छ। 

तर भारतीय पक्षले जारी गरेको विज्ञप्तिमा भने सीमाबारे उल्लेख छैन।

सचिवस्तरीय वार्तामा परिमार्जित पारवहन सन्धिलाई अन्तिम रुप दिने र वाणिज्य सन्धिलाई चाँडै नवीकरण गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यी दुई सन्धिको विषय टुंग्याउन नेपाल र भारतका वाणिज्य सचिवस्तरीय अन्तरसरकारी संयन्त्रको बैठक बसाल्ने विषयमा पनि दुई पक्षबीच छलफल भएको थियो। 

त्यसैगरी नेपालले भैरहवामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सहज हुनेगरी नयाँ हवाई रुट दिन भारतलाई आग्रह गरेको छ। नेपाललाई थप हवाई रुट दिने विषयमा पनि भारतले सकारात्मक जवाफ दिएको छ। 

बैठकमा नेपाल र भारतले रेलवे, विद्युतीय प्रशारण लाइन, पुल र एकीकृत जाँच चौकी लगायत भौतिक पूर्वाधार र कनेक्टिभिटीका परियोजनामा भइरहेका प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा नेपाललाई बढी हुने विद्युत् भारत निर्यात गर्न दुवै देशले प्रतिबद्धता जनाएका छन्। 

नेपाल र भारतका विदेश सेवा प्रतिष्ठानबीच हुन लागेको समझदारीपत्रलाई टुंग्याउने सहमति पनि दुवै देशबीच भएको छ। परराष्ट्र सचिव पौड्यालले क्वात्रा नेतृत्वको भारतीय टोलीलाई दिवा भोज दिएका थिए। क्वात्रा सोमबारै नेपाल आएका हुन्। 

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री बिमला राईसँग भिन्दाभिन्दै भेटवार्ता गरे। 

क्वात्राले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिएनन्, सामान्य छलफल मात्रै 
प्रधानमन्त्री प्रचण्डको सम्भावित भारत भ्रमणका विषयमा सामान्य कुराकानी भएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए। तर क्वात्राले भेटमा प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र चाहिँ हस्तान्तरण गरेनन्। 

कूटनीतिक स्रोतका अनुसार नेपालको वर्तमान सत्ता गठबन्धनको भविष्य संकटमा पर्नसक्ने बुझेर भारतले प्रचण्डलाई अहिल्यै निम्तो नदिएको हो। 

‘राष्ट्रपति निर्वाचन आउँदै गर्दा सत्तासाझेदार एमाले र माओवादीबीच खटपट छ। नयाँ सत्तासमीकरण बन्ने अवस्था आउनसक्छ। त्यही बुझेरै भारतका तर्फबाट प्रचण्डलाई अहिल्यै निम्तो नदिइएको हो,’ स्रोतले भन्यो। 

अहिलेकै गठबन्धन कायम रहे प्रचण्डलाई राष्ट्रपति निर्वाचपछि भारत भ्रमणको निम्तो आउने बताइएको छ। 

मंगलबार मधेशी दलसँग भेट 
क्वात्राले आजै एमाले अध्यक्ष केपी र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि बेग्लाबेग्लै भेटे। उनले मंगलबार जनमत पार्टीका अध्यक्ष सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत विभिन्न दलका नेतासँग भेट्नेछन्। उनी मंगलबार नै नयाँ दिल्ली फर्किनेछन्। क्वात्रा गत अप्रिलमा विदेशसचिव भएपछि पहिलो पटक नेपाल आएका हुन्। उनी यतिबेला छिमेकी देशको भ्रमणमा छन्। यसपछि उनी बंगलादेश भ्रमणमा जानेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .