ad ad

राजनीति


प्रचण्डलाई फकाउन दैनिक बालुवाटार पुग्छन् पूर्णबहादुर, गगन पनि नियमित सम्पर्कमा

प्रचण्डलाई फकाउन दैनिक बालुवाटार पुग्छन् पूर्णबहादुर, गगन पनि नियमित सम्पर्कमा

फाइल तस्बिर


सागर न्यौपाने
फागुन ५, २०७९ शुक्रबार २३:४०, काठमाडौँ

पुस १० गते नेकपा एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरानै अवस्थामा फर्काउन नेपाली कांग्रेसका प्रभावशाली नेताहरु खटिएका छन्। 

एमालेसहितको ७ दलीय गठबन्धन भत्काएर फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा प्रचण्डको साथ लिन कांग्रेसका केही शीर्ष नेताहरू दैनिकजसो बालुवाटार धाइरहेका 

उनीहरुले विगतको गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्दै प्रचण्डलाई फकाइरहेका छन्। जस्तोसुकै सम्झौता गरेर पनि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्तिसहितको सत्तारुढ गठजोड भत्काउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सक्रिय भएका हुन्।

'उहाँहरु दैनिकजसो बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुग्नुहुन्छ,' स्रोत भन्छ, 'यो क्रम पुस २० गतेदेखि जारी छ।'

उनीहरुले माओवादी पदाधिकारी तहका नेताहरुसँग पनि निरन्तर छलफल गरिरहेका छन्।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाकै योजनाअनुसार सत्ता गठबन्धन भत्काएर फेरि पुरानै गठजोड ब्युँत्याउन निरन्तर लागेको नेताहरू बताउँछन्।

'उच्चस्तरीय राजनीतिक समझदारी' गरेर माओवादीलाई एमालेको गठबन्धनबाट बाहिर निकाल्ने योजनामा कांग्रेस छ। त्यसकै लागि प्रचण्डलाई विश्वासमा लिन दैनिक बालुवाटार पुगेर दोस्रो तहका नेताहरूले भेटिरहेका छन्।

'शेरबहादुरजीले प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्नु भएको छ', कांग्रेसका एक पदाधिकारीले नेपालखबरसँग भने, 'पहिला केही मिस्टेक भयो अब मिलेर जानुपर्छ भनेर भनेका छौँ।'

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का। तस्बिर : नेपालखबर

नेपाल पनि सक्रिय
कांग्रेसबाट मात्रै होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पुरानै गठबन्धन फर्काउन प्रयत्न गरिरहेका छन्।

त्यही भएर केही दिनअघि कांग्रेस महामन्त्री थापाले फागुन १० गतेपछि नयाँ गठबन्धन बन्ने दाबी गरेका थिए। यद्यपि अहिलेसम्म त्यस कुरामा प्रधानमन्त्री प्रचण्ड ढुक्क हुन सकेका छैनन्।

पुस २ गतेको सहमति तोडेकै कारण पुस १० गते नेकपा एमालेको अगुवाइमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन नयाँ गठबन्धन बनेको थियो। 

३ स्वतन्त्र सांसदसहित ७ दलीय गठबन्धन दलबाट १६९ जनाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका थिए।

प्रचण्डले पुस २६ गते विश्वासको मत लिए। जसमा जनमोर्चा र नेपाल मजदुर किसानबाहेक २६८ सांसदले विश्वासको मत दिए। यो ९८ प्रतिशत हाराहारी हो।

प्रचण्डलाई प्रधानमन्त्री नबनाउँदा संघीय संसद र प्रदेशको पहिलो पार्टी भएर पनि कांग्रेस सातै प्रदेश र केन्द्रमा प्रतिपक्षी बन्न पुग्यो।

एमालेसँग झस्किएकै हुन् प्रचण्ड?
एमालेले प्रधानमन्त्री बनाएकैले प्रचण्ड केपी शर्मा ओलीप्रति आशावादी थिए। तर, संसदमा ओलीले दुई पटकसम्म संसद विघटनबारे गरेको प्रतिवादले झस्काएको महसुस गरेका थिए। कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गरिन्छ भन्नुको तात्पर्य त्यही हो।

अहिले प्रचण्डले राष्ट्रपतिमा दलहरुबीच सहमति जुटाएर साझा उम्मेदवार उठाउनुपर्ने अडान झन् बलियो बनाइरहेका छन्।

त्यसलाई उनको शब्दमा राष्ट्रिय सहमति भन्ने गरेका छन्। तर एमाले भने पुस १० गतेको समझदारीअनुसार राष्ट्रपति आफ्नैबाट हुनुपर्ने अडानमै कायम छ।

कांग्रेसले शक्ति सन्तुलनका लागि पनि राष्ट्रपति पद पहिलो दलको हैसियतमा पाउनुपर्ने दाबी गरेको छ। त्यसका लागि दलहरुबीच कम्तीमा सहमति जुट्नपर्ने हुन्छ।

तर, अहिलेको राजनीतिक अवस्थामा त्यो सम्भव देखिँदैन।

आफूलाई ज्ञापन पत्र बुझाउन शुक्रबार बालुवाटार आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग प्रचण्डले राष्ट्रपतिमा विश्वासिलो र भरपर्दो उम्मेदवार नभइ निर्णयमा नपुग्ने बताएका थिए।

राष्ट्रपतिबारे प्रचण्डले अडान लिएकोमा अध्यक्ष केसीले पनि खुशी व्यक्त गरे।

‘एमालेलाई राष्ट्रपति दिनु भनेको अहिलेको उपलब्धि उल्टिनु हो,’ केसीले प्रधानमन्त्रीलाई सुझाउँदै भने।

‘प्राप्त उपलब्धि गुम्छ कि भन्ने चिन्ता छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै भेटमा सहभागी जनमोर्चाका एक नेताले नेपालखबरसँग भने।

शुक्रबार (५ फागुन) मा आधा घण्टाको भेटमा प्रधानमन्त्री प्रचण्डले केसीका कुरा ध्यानपूर्वक सुनेपछि आफ्नो अडानबारे ब्याख्या गरिदिए, ‘केही गतिविधिले मलाई झस्काएको छ, राष्ट्रपतिबारे मेरो अडान कायम रहन्छ।’

‘गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीप्रति थ्रेट छ, यसमा दह्रोगरी एमाले उभिएन भने भोलि के होला?’ प्रचण्डले थपे, त्यही भएर पनि म अडानमा कायम रहन्छु।’

प्रचण्डको मुड र अडान हेर्दा सहमति गराइहाल्ने पक्षमा नदेखिएको ती नेताले बताए।

प्रचण्डले सबैलाई विश्वासमा लिन चाहनुको मुख्य कारण आफ्नो सत्ताको भविष्य पनि हो।

उनी कम्तीमा यही सरकार पाँच वर्ष जाओस् भन्नेमा छन्। यद्यपि कांग्रेसले पुस १० गते दिएको धोकालाई प्रचण्डले स्वभाविक लिएका छैनन्।

माओवादी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले विगतका सास्तीहरुलाई अहिले पुनर्विचार गरिहाल्ने अवस्था बनिनसकेको बताए।

‘विगतका सहमति कसरी तोडिए? को कसको अडानमा बस्यो, त्यसबारे माओवादी जानकार छ,’ उनले भने, ‘कांग्रेस र एमाले मिलाएर हाम्रो पार्टीलाई एक्ल्याउने प्रयास पनि भएकै हो।’

तत्कालीन गठबन्धन तोडिनुअघि खुमलटारमा पूर्णबहादुर खड्का

अहिले प्रचण्डले अडानको लिनुको कारण यही हो। विगतमा कांग्रेसले पनि धोका दिएको, अहिले एमालेले पनि साझेदार दलभित्र विश्वासको वातावरण बनाउनुभन्दा पनि दबाब दिनेगरी प्रस्तुत भएको प्रचण्डले महसुस गरेको नेताहरु बताउँछन्।

तर, एमालेका दोस्रो र तेस्रो तहका नेताहरुसँग माओवादीका नेताहरु पनि छलफलमै छन्।

प्रधानमन्त्री र ओलीबीच पुस १० पछि ११ पटक छलफल भइसकेको छ। शुक्रबार पनि ओली र प्रचण्डबीच बालकोटमा छलफल भयो।

भेटघाटको मुख्य विषय राष्ट्रपति निर्वाचन नै थियो। एमाले पूर्व समझदारी अनुसार राष्ट्रपतिमा माओवादीले साथ नदिने हो कि भन्ने शंका गरिरहेको छ।

माओवादीले धोका दिए राष्ट्रपति जित्न नसकिने एमालेको विश्लेषण छ। त्यही कारण ओली प्रधानमन्त्रीसमेत रहेका माओवादी प्रचण्डलाई अन्यत्र जानबाट रोक्न खोजिरहेका छन्।

‘उहाँले दुवै डुंगामा खुट्टा राख्नुभएको छ, जुनसुकै बेला जता पनि ढल्किन सक्नेगरी उभिनुभएकोले निश्चिन्त हुन भेटवार्ता भइरहेको हो,’ ओलीका प्रमुख स्वकीय राजेश बज्राचार्यले नेपालखबरसँग भने, ‘हामी तत्काल निर्णय गर्न भनिरहेका छौँ। उहाँले (प्रधानमन्त्री) साझेदार दलमै रहेकोले यसमा आशंका गर्नै नपर्ने बताइरहनुभएको छ।’

पुस २ को सहमति पालना नगरी कांग्रेसले धोका दिएपछि पुस १० मै प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन आफूले महत्वपूर्ण भूमिका खेलेको कुरालाई ओलीले स्मरण गराइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतलाई तयार पारेर ओलीले प्रचण्डको जसरी पनि प्रधानमन्त्री बन्ने चाहना पूरा गरिदिएका हुन्।

त्यही दिन आधा कार्यकाल प्रचण्ड र आधा कार्यकाल ओली प्रधानमन्त्री, यस्तै राष्ट्रपति र सभामुख एमालेको भागमा पार्ने सहमति बनेको एमालेको दाबी छ।

यद्यपि यसबारे कुनै लिखित डकुमेन्ट उपलब्ध गराउन एमालेले इन्कार गरेको छ।

राष्ट्रपति चुनाव हुन अझै २ साता बाँकी छ। तर, १३ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यसूचि छ।

माओवादी केन्द्रले कुनै निर्णय नदिए चुनाव जित्ने हार्ने पहिले लगभग सिन प्रष्ट हुन्छ।

त्यही भएर माओवादीलाई विश्वासमा लिने ओलीको प्रयास जारी छ।

यो समाचार तयार पार्दासम्म भरपर्दो र विश्वास गर्ने ‘क्लु’ एमालेले पाएको छैन।

प्रचण्डले कुनै पनि बेला रणनीति बदल्ने खतरा देखिएको एमालेका नेताहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .