ad ad

राजनीति


प्रचण्ड सरकारमै सहभागी भएर एमालेलाई निकाल्ने कांग्रेसको रणनीति

प्रचण्ड सरकारमै सहभागी भएर एमालेलाई निकाल्ने कांग्रेसको रणनीति

केशव सावद
फागुन ८, २०७९ सोमबार १७:२५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्ता साझेदार नेकपा एमालेलाई जसरी पनि सात दलीय सत्ता गठबन्धनबाट बहिर्गमन गराउने रणनीति अवलम्बन गरेको छ। एमालेलाई सत्ताबाट निकाल्न कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रको समर्थन लिनेदेखि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमै सहभागी हुनेसम्मको तयारी गरेको छ।

तत्कालीन पाँच दलीय गठबन्धन टुटेपछि केन्द्रदेखि प्रदेशसम्म (सुदूरपश्चिमबाहेक) प्रतिपक्षी दलको हैसियतमा खुम्चिएको कांग्रेस राष्ट्रपति निर्वाचन आफ्नो पक्षमा पार्न हरसम्भव प्रयत्न गरिरहेको छ। राष्ट्रपति निर्वाचनमा पार्टीले अघि सार्ने उम्मेदवारलाई जिताउन कांग्रेस प्रधानमन्त्री प्रचण्डलाई पूर्ण कार्यकाल सरकारको नेतृत्व दिनसमेत तयार देखिएको छ। 

सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले आइतबार बेलुका प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा उनलाई पाँच वर्ष प्रधानमन्त्री बन्ने औपचारिक प्रस्ताव गरिसकेका छन्। 

‘प्रधानमन्त्रीसँग हामीले पुरानो गठबन्धनबाट अगाडि बढ्दा राम्रो हुने बतायौँ,’ बालुवाटार छलफलमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘त्यसो गर्दा राष्ट्रपतिमा हाम्रो पार्टीलाई सघाउनुस्। तपाईं ५ वर्ष नै प्रधानमन्त्री बन्नुस्, ५ वर्ष तपाईंलाई प्रधानमन्त्री मान्न हामी तयार छौँ भनेका छौँ।’

ती नेताले प्रत्युत्तरमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको प्रस्तावमा आफू सकारात्मक रहेको र त्यसबारे पार्टीमा छलफल गरेर जवाफ दिने बताएको पनि जानकारी दिए। बालुवाटार छलफलमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए।

यसअघि गत शुक्रबार एक समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि राष्ट्रपतिमा माओवादी केन्द्रले सहयोग गरे पार्टीले सरकारलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने आशय व्यक्त गरेका थिए। 

‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्दा हामीले दिएको विश्वासको मत निरन्तर हुनुपर्छ,’ उनले भनेका थिए, ‘सबैभन्दा ठूलो दल बाहिर हुनु नै विडम्बना छ।’ 

शुक्रबार नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि अब केही दिनमा नयाँ राजनीतिक कोर्स सुरु हुने दाबी गरेका थिए। सिंहदरबारमा कानुनविदहरूसँगको छलफलपछि उनले भनेका थिए, ‘ज्योतिषीय ढंगले म तिथिमिति त तोक्दिनँ। तर, राजनीति एउटा नयाँ कोर्समा जाने स्थिति बन्दै गएको छ। यही हप्तादश दिनमा एउटा नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ।’

यसअघि फागुन १ गते रुपन्देहीको क्षेत्र नम्बर १ मा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै महामन्त्री थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किएर पुरानो ५ दलीय गठबन्धन ब्युँतिने दाबी गरेका थिए। 

‘पुस १० गते बनेको अहिलेको ७ दलीय गठबन्धन फागुन १० गते भत्किएर चुनावअघिको ५ दलीय गठबन्धन ब्युँतिन्छ,’ उनले भनेका थिए, ‘राष्ट्रपति चुनावमा पनि कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारले जित्छ।’

प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेका महामन्त्री थापानिकट एक नेता कांग्रेस र माओवादीबीच बन्न लागेको समझदारी बुझेरै उनले सो अभिव्यक्ति दिएको बताउँछन्। एमालेलाई वर्तमान गठबन्धनबाट बाहिर पठाउन कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रको समर्थन लिनेदेखि प्रचण्ड नेतृत्वको सरकारमै सहभागी हुनेसम्मको रणनीति अपनाएको ती नेता बताउँछन्। 

अर्का एक नेताले पनि प्रधानमन्त्री प्रचण्डसँग समझदारी जुटे कांग्रेस दुईतीन दिनमै सरकारमा सहभागी हुनेसमेत सम्भावना औंल्याउँछन्। अहिलेकै अवस्थामा प्रधानमन्त्रीले कांग्रेसका नेतालाई सरकारमा सहभागी गराए एमालेले असन्तुष्टि जनाउँदै सरकार छाड्न सक्ने ती नेताको बुझाइ छ।  

कांग्रेस सरकारमा सहभागी हुने अवस्था सिर्जना भए प्रधानमन्त्रीले कांग्रेसलाई उपप्रधानसहित गृह मन्त्रालय दिने र एमालेलाई निकाल्न कांग्रेसबाट जाने उपप्रधानमन्त्रीलाई पहिलो वरीयतामा राख्नेसम्मको खेल हुन सक्ने उनको भनाइ छ।

‘कांग्रेस सरकारमा सहभागी भएको अवस्थामा एमाले आफैँले सरकार नछाडे प्रधानमन्त्री प्रचण्डले एमालेका नेताहरुले सम्हालेका मन्त्रालयहरु फेरबदल गरेर पनि बहिर्गमनका लागि दबाब सिर्जना गराउन सक्नुहुन्छ,’ उनले भने।

महामन्त्री थापानिकट नेता पनि सो भनाइमा सहमत देखिन्छन्। 

‘माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघायो भने पनि एमालेसँग अहिलेको गठबन्धनलाई निरन्तरता दिने विकल्प छ,’ उनले भने, ‘तर, कांग्रेसको रणनीतिअनुसार नै कामकुरो हुने हो भने प्रधानमन्त्रीले एमालेका मन्त्रीहरु हटाइदिन सक्नुहुन्छ र नयाँ विश्वासको मत लिन्छु भनेर कांग्रेसका मन्त्रीहरुलाई शपथ गराउन सक्नुहुन्छ।’

ती नेताले एमालेलाई सत्ताबाट निकाल्ने रणनीतिअनुसार राजनीतिक कोर्स अगाडि बढे उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने दाबी गरे। 

‘यो प्रयास राष्ट्रपति निर्वाचन अगाडि नै सम्भव हुन्छ वा राष्ट्रपति निर्वाचनपछि, भन्न सकिने अवस्था त होइन,’ उनले भने, ‘तर, हाम्रो रणनीति अनुसार भयो भने पूर्णबहादुर दाइ सरकारको नेतृत्व गरेर जानेसम्मको तयारी छ।’ 

तर, उपसभापति खड्कानिकट मानिने केन्द्रीय सदस्य रामहरि खतिवडा भने राष्ट्रपति निर्वाचनअघि कांग्रेस सरकारमा जाने कुनै सम्भावना नरहेको दाबी गर्छन्। 

‘राष्ट्रपति निर्वाचनअघि यो सरकार केही हुँदैन र कोही सरकारमा पनि जाँदैन,’ उनले नेपालखबरसँग भने। 

खतिवडाले राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी र मधेशवादी दलहरु एक ठाउँमा उभिने र निर्वाचनपछि मात्रै राजनीतिक कोर्स परिवर्तन हुने पनि बताए। 

‘कुनै पनि हालतमा राष्ट्रपति एमालेको हुँदैन। सबै संवैधानिक पदहरु एउटै पार्टीको बनाउन कुनै दल तयार हुँदैनन्। राष्ट्रिय राजनीतिको वातावरण पनि त्यही देखिन्छ,’ उनले भने, ‘राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र मधेशवादी दलको समर्थन एक ठाउँमा रहन्छ। त्यसपछि अरु कोर्स परिवर्तन हुन्छ।’

उनले अहिलेको गठबन्धन टुटाउन कांग्रेस नलाग्ने पनि जिकिर गरे। 

सभापति देउवाको सचिवालयले पनि कांग्रेस अहिलेकै अवस्थामा सरकारमा सहभागी हुने सम्भावना नरहेको प्रतिक्रिया दिएको छ। 

‘अहिले नै कांग्रेस सरकारमा जाँदैन। कांग्रेस सरकारमा जानका लागि सत्तामा रहेको कुनै पार्टीले गठबन्धन छोड्नु पर्ने होला नि? गठबन्धन विधिवत् रुपमा टुट्नु पर्ने होला नि,’ सचिवालय स्रोतले भने, ‘माओवादीले राष्ट्रपतिमा सघायो र एमालेले त्यही विषयलाई लिएर सरकार छोड्यो भने अर्कै कुरो हो।’

उनले कांग्रेसको पछिल्लो प्रयास सरकारमा जानका लागि नभएर राष्ट्रपतिका लागि मात्र भएको जिकिर गरे। कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरेर सबै ध्यान फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा केन्द्रित गरेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन एजेन्डा तय गरेर कांग्रेसले पुस २२ का लागि केन्द्रीय कार्यसमिति बैठक डाकेको थियो। उक्त बैठक पुस २२, पुस २८ र माघ १५ गरी ३ पटक स्थगित भएको छ।

गत पुस १० गते कांग्रेससँगको गठबन्धन तोडेको माओवादी केन्द्रका विषयमा घोचपेच हुँदा राष्ट्रपति निर्वाचनको वातावरण बिग्रिने डरले सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको बताइन्छ।

‘बैठकमा मंसिर ४ को चुनाव र तत्कालीन सत्ता गठबन्धनको निर्मम समीक्षा गर्ने भनेका छौँ। बैठकमा बाहिर–भित्रका कुरा उठ्लान्। त्यसले माहोल बिग्रन सक्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘हाम्रो मुख्य ध्यान राष्ट्रपति नगुमाउँं भन्ने छ। त्यही भएर बैठक सारेका हौँ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .