ad ad

राजनीति


राष्ट्रपति निर्वाचन : कांग्रेसले उम्मेदवारी दिए रामचन्द्र ‘कन्फर्म’

राष्ट्रपति निर्वाचन : कांग्रेसले उम्मेदवारी दिए रामचन्द्र ‘कन्फर्म’

केशव सावद
फागुन १०, २०७९ बुधबार १६:३, काठमाडौँ

निर्वाचन आयोगले फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनमा मतदान गर्ने प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुको नाम आयोगले सार्वजनिक गरेको हो। 

प्रतिनिधि सभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनका लागि ८८४ जना मतदाता छन्। तर, आयोगले सार्वजनिक गरेको नामावलीमा तीन जना मतदाताको नाम समावेश छैन।  

पदमुक्त भएका चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछाने र निलम्बनमा परेका मनाङबाट निर्वाचित नेटेबहादुर गुरुङ तथा केही दिनअघि कारागारबाट रिहा भएका कैलाली–२ बाट निर्वाचित अरुणकुमार चौधरीको नाम सार्वजनिक मतदाता नामावलीमा समावेश छैन।  

आयोगले राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ। उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिँदै जाँदा पनि दलहरुले उम्मेदवार टुंग्याउन भने सकेका छैनन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्न प्रयासरत देखिएका कारण दलहरुलाई आ–आफ्नो उम्मेदवार चयन गर्न ढिलाइ भएको देखिन्छ। 

राष्ट्रपतिमा उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री भइसकेका ‘हाइप्रोफाइल’ नेताहरुको नाम एकपछि अर्काे गर्दै चर्चामा आउन थालेको छ। एक पक्षले प्रस्ताव गरेका नेताहरुलाई अर्काे पक्षले अस्वीकार गर्ने क्रम बढ्दै गएपछि भावी राष्ट्रपतिमा भूतपूर्व प्रधानमन्त्रीहरुको नाम चर्चामा आउन थालेको हो। 

राष्ट्रपतिको प्रमुख दाबेदारमा प्रमुख प्रतिपक्षी एवं प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा एमाले छन्। कांग्रेसमै एउटा तप्काले सभापति देउवा नै राष्ट्रपतिका लागि तयार होउन् भन्ने चाहना राखिरहेको छ भने एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारिरहेको छ। 

कांग्रेसमा संस्थापन इतर समूहले राष्ट्रपतिमा सभापति देउवा अगाडि सरुन् भन्ने भित्री चाहना राखे पनि सो पार्टीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने लगभग निश्चित देखिएको छ। 

कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम पनि चर्चामै छ। यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ र सह–महामन्त्रीमा पराजित नेता मानबहादुर विश्वकर्मा पनि राष्ट्रपतिका आकांक्षी छन्। 

तर, कांग्रेस नेताहरुले पार्टीले उम्मेदवारी दिने अवस्था आए वरिष्ठ नेता पौडेल नै उम्मेदवार बन्ने बताउँदै आएका छन्। 

‘रामचन्द्र दाइ नै हाम्रो उम्मेदवार हो। सभापतिले हाम्रो उम्मेदवार रामचन्द्र पौडेल भनिसक्नुभएको छ,’ केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन्, ‘उहाँ (देउवा) रामचन्द्रजी समकालीन नेताहरुमा सिनियर, इमान्दार र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुहुन्छ। उहाँलाई नै उम्मेदवार बनाउनु पर्छ भनिरहनुभएको छ।’

संस्थापन इतर समूहका नेताहरु पनि राष्ट्रपतिमा पार्टीका तर्फबाट उम्मेदवार बनाउनु पर्दा नेता पौडेललाई नै अघि सारिने बताउँछन्। 

‘हाम्रो चाहना त सभापति आफैँ उम्मेवार बनिदिए हुन्थ्यो भन्ने हो। तर, नेपाली कांग्रेसले पाए रामचन्द्र दाइ नै उम्मेदवार बन्नुहुन्छ,’ इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालानिकट एक केन्द्रीय सदस्यले भने। 

ती नेताले पौडेलको नाममा जसरी पूर्वमहामन्त्री सिटौलाको नाममा सहमति जुट्न सहज नभएको पनि दाबी गरे। 

‘सभापतिबाट रामचन्द्र दाइको नाम प्रस्ताव गर्नेबित्तिकै शेखर दाइले समर्थन गरिहाल्नुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘दाबेदार त अरु पनि हुनुहुन्छ। तर, रामचन्द्र दाइको जस्तो उहाँहरुको नाममा सजिलो देखिन्न।’ 

पूर्वउपसभापति विमलेन्द्र निधिलगायतका नेताहरु पनि वरिष्ठ नेता पौडेल नै राष्ट्रपतिको उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको बताउँदै आएका छन्। कांग्रेसका मुख्य सचेतक रमेश लेखकले भने पौडेल र सिटौलामध्ये एकजना राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन्। 

एक टेलिभिजनसँगको अन्तर्वार्तामा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला उम्मेदवार बन्नेबारे सोधिएको प्रश्नको जवाफमा उनले भनेका छन्, ‘योग्यता, क्षमतामा दुवैजना बराबर हुनुहुन्छ। उहाँहरूमध्ये नै हुने हो।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको उम्मेदवारका बारेमा पार्टीभित्र कुनै समस्या नै नभएको बताए।

‘कांग्रेसमा उम्मेदवारको विषयमा कुनै समस्या छैन। अरु दलहरुको समर्थन पाउने स्पष्ट हुनासाथ हामीले उम्मेदवारबारे निर्णय गर्छौं,’ उनले भने, ‘अहिले चर्चामा आएकाहरु मध्येबाटै एक जना राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ।’ 

तत्कालीन पाँच दलीय गठबन्धन टुटेपछि केन्द्रदेखि प्रदेशसम्म (सुदूरपश्चिमबाहेक) प्रतिपक्षी दलको हैसियतमा खुम्चिएको कांग्रेस राष्ट्रपति निर्वाचन आफ्नो पक्षमा पार्न हरसम्भव प्रयत्न गरिरहेको छ। राष्ट्रपति निर्वाचनमा पार्टीले अघि सार्ने उम्मेदवारलाई जिताउन कांग्रेस प्रधानमन्त्री प्रचण्डलाई पूर्ण कार्यकाल सरकारको नेतृत्व दिनसमेत तयार देखिएको छ। 

सभापति देउवासहितका शीर्ष नेताहरुले गत आइतबार बेलुका प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा उनलाई पाँच वर्ष प्रधानमन्त्री बन्ने औपचारिक प्रस्ताव गरिसकेका छन्। 

‘प्रधानमन्त्रीसँग हामीले पुरानो गठबन्धनबाट अगाडि बढ्दा राम्रो हुने बतायौँ,’ बालुवाटार छलफलमा सहभागी एक नेताले नेपालखबरसँग भनेका थिए, ‘त्यसो गर्दा राष्ट्रपतिमा हाम्रो पार्टीलाई सघाउनुस्। तपाईं ५ वर्ष नै प्रधानमन्त्री बन्नुस्, ५ वर्ष तपाईंलाई प्रधानमन्त्री मान्न हामी तयार छौँ भनेका छौँ।’

ती नेताले प्रत्युत्तरमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको प्रस्तावमा आफू सकारात्मक रहेको र त्यसबारे पार्टीमा छलफल गरेर जवाफ दिने बताएको पनि जानकारी दिए। बालुवाटार छलफलमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए।

यसअघि गत शुक्रबार एक समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कांग्रेस प्रवक्ता डा. महतले पनि राष्ट्रपतिमा माओवादी केन्द्रले सहयोग गरे पार्टीले सरकारलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने आशय व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .