ad ad

राजनीति


राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस सरकारमा जाने

राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस सरकारमा जाने

केशव सावद
फागुन १६, २०७९ मंगलबार १४:३४, काठमाडौँ

सत्ता साझेदार नेकपा एमालेलाई जसरी पनि सात दलीय सत्ता गठबन्धनबाट बहिर्गमन गराउने रणनीति अवलम्बन गरेको नेपाली कांग्रेस राष्ट्रपति निर्वाचन अगावै सरकारमा सहभागी हुने देखिएको छ। 

सत्ता साझेदार दुई दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएसँगै कांग्रेस फागुन २५ हुन गइरहेको राष्ट्रपति निर्वाचन अगावै सरकारमा सहभागी हुने भएको हो। 

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधि सभाको ठूलो दल कांग्रेससहितका अन्य ६ दलहरुसँग गठबन्धन गरेपछि चिढिएका एमाले र राप्रपा सरकारबाट बाहिरिसकेका छन्। 

परराष्ट्रमन्त्री विमला राई पौडेललाई संयुक्त राष्ट्रसंघको महासभामा जान प्रधानमन्त्री प्रचण्डले रोक लगाएपछि अपमान भएको महसुस गरेर एमालेले सोमबार सचिवालय बैठक बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 

यस्तै सत्ता साझेदार राप्रपाले शनिबार मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि अब सरकार बनाउन साथ दिएका सांसदको संख्या ७७ मा झरेको छ। प्रधानमन्त्रीका लागि समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि अब प्रचण्डले विश्वासको मत लिनुपर्ने छ। 

संविधानको धारा १०० को उपधारा २ मा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।’

विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष पेस भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसके प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछन्।

तर, प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससहितका अन्य ७ दलको साथ रहेका कारण उनले प्रतिनिधि सभामा विश्वासको मत पाउने सम्भावना प्रबल देखिन्छ। कांग्रेसले उनलाई संसदमा विश्वासको मत दिने संकेत गर्दै आएको छ। 

‘नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले अब विश्वासको मतका लागि पहल गर्नु होला,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेपालखबरसँग भने, ‘हामीले राष्ट्रपतिमा सघाउनुस्, अप्ठ्यारो पर्दा हामी सहयोग गर्छौं भनेका छौं।’

राष्ट्रपतिका लागि माओवादी केन्द्रसँग छलफल चलिरहेकै समयमा फागुन ५ गते एक समाचार एजेन्सीसँगको अन्तर्वार्तामा पनि उनले राष्ट्रपतिमा माओवादी केन्द्रले सहयोग गरे पार्टीले सरकारलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने आशय व्यक्त गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले फागुन १२ गते कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्तिक समाजवादी पार्र्टी (लोसपा), जनमत पार्टी, नागरिक उनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालाई बालुवाटार बोलाएर राष्ट्रपतिमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन्। 

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन गरेर जाने सहमति गरेका कारण प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा सहजै विश्वासको मत पाउने देखिन्छ। उनलाई विश्वासको मत दिन तयार कांग्रेसले राजनीतिक कोर्स अब नयाँ ढंगले अगाडि बढ्ने बताएको छ। 

‘सरकारमा जानेबारे प्रधानमन्त्रीले छलफल गर्नुहुन्छ होला। सभापतिज्यूले पनि पार्टीमा छलफल चलाउनु हुन्छ,’ कांग्रेस कहिले सरकारमा सहभागी हुन्छ भन्ने नेपालखबरको प्रश्नमा कांग्रेस प्रवक्ता महत भन्छन्, ‘अब कोर्स अगाडि बढ्ला, बढ्छ नै। यसबारे आज–भोलि नै कुरा हुन्छ होला।’

उपसभापति पूर्णबहादुर खड्का भने अहिले सरकारमा जानेबारे केही छलफल नै नभएको बताए। 

‘अहिले सरकारमा सहभागी हुने बारे कुनै भएको छैन,’ उनले नेपालखबरसँग भने, ‘हामी राष्ट्रपति चुनावमा केन्द्रित छौँ।’ 

खड्काले राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धन बन्दा पनि सरकारमा सहभागी हुनेबारे कुनै छलफल नभएको जिकिर गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .