ad ad

राजनीति


कसरी मत माग्दैछन् राष्ट्रपतिका उम्मेदवार?

भोट क्रस रोक्न आठ दलको प्रशिक्षण
कसरी मत माग्दैछन् राष्ट्रपतिका उम्मेदवार?

फाइल तस्बिर


केशव सावद
फागुन १९, २०७९ शुक्रबार १२:२६, काठमाडौँ

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गरेका दुवै उम्मेदवारहरु संघीय र प्रदेशसभाका सदस्यहरुसँग मत मागिरहेका छन्। 

राष्ट्रपतिका लागि मनोनयन दर्ता गरेका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ संघीय संसदका दुवै सदन र प्रदेश सभामा रहेका सांसदहरुसँग मत मागिरहेका हुन्। 

निर्वाचन आयोगको चुनावी तालिकाअनुसार पौडेल र नेम्वाङले फागुन १३ गते राष्ट्रपतिका लागि मनोनयन दर्ता गरेका थिए। 

पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ नेकपा एमालेका उपाध्यक्ष हुन्। दुवै उम्मेदवार पूर्वसभामुख रहिसकेका छन्। 

कांग्रेस उम्मेदवार पौडेललाई सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थन छ। 

पौडेलले बिहीबार र शुक्रबार काठमाडौंमा भएका अभिमुखीकरणमा संघ र प्रदेशका सांसदहरुलाई भेटेरै भोट मागेका छन्। ती भेलाका क्रममा उनले सांसदहरुलाई एक पृष्ठ लामो पत्र नै दिएर पनि भोट मागेका छन्। 

पौडेलका पक्षमा माहोल बनाउँदै भोट क्रस हुन नदिन आठ दलले प्रतिनिधि र राष्ट्रियसभा सांसदहरुलाई काठमाडौं बोलाएर प्रशिक्षण नै दिएका छन्।

त्यसैगरी प्रदेशसभाका सांसदहरुलाई सातै प्रदेशमा अभिमुखीकरण दिइँदैछ। आठ दलको एक मत हुँदा पौडेल सजिलै राष्ट्रपतिमा विजयी हुनेछन्।

रवि लामिछानेसँग रामचन्द्र पौडेल

यस्तै जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले पनि पौडेललाई नै समर्थन गरेका छन्। नेम्वाङको पक्षमा भने एमालेबाहेक अन्य दलहरु देखिएका छैनन्। 

निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनमा नरहेका राष्ट्रय स्वतन्त्र पार्टी,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने कतै पनि खुलेका छैनन्। 

आयोगले राष्ट्रपति निर्वाचनका लागि फागुन २५ को मिति घोषणा गरेको छ। उक्त दिन तोकिएको मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको आयोगले जनाएको छ। 

राष्ट्रपतिका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुले मत दिन पाउँछन्। संघीय संसदका दुवै सदन र प्रदेश सभाका सांसदहरुको मत तान्न उम्मेदवारद्वय पौडेल र नेम्वाङ प्रयासरत छन्। 

कांग्रेस उम्मेदवार पौडेलले पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको केही समयपछि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर मत मागेका थिए। उनले मनोनयन दर्ता गर्नु अघि लामिछानेको निवास हात्तिगौंडा पुगेर राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। 

पौडेलले दुई दिनअघि मात्रै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ललितपुरको महालक्ष्मीथानमा भेटेर राष्ट्रपति निर्वाचनका लागि सहयोग गर्न आग्रह गरेका छन्। राप्रपाले सरकारबाट बाहिरिनुभन्दा एक दिनअघि मात्रै राष्ट्रपति निर्वाचनमा सहभागिताबारे कुनै ठोस निर्णय नगरे पनि प्रस्तावक र समर्थक कसैको पनि नबस्ने निर्णय गरेको थियो। 

उम्मेदवार पौडेलनिकट नेताहरुका अनुसार उनले राष्ट्रपति निर्वाचनका लागि विभिन्न पार्टीका नेताहरुलाई व्यक्तिगत रुपमा समेत भेटघाट गरिरहेका छन्। तर, उनको सचिवालयले भने अहिलेसम्म भेट भएका नेताहरुको नाम खुलाएको छैन। 

रास्वपा कार्यालयमा एमालेको टोली

‘रवि लामिछानेसँग भएको भेटबारे मिडियामा समाचार आइसकेको हो। राजेन्द्र लिङ्देनसँग दुई दिनअघि भेटघाट भएको हो,’ उनको सचिवालयले भन्यो, ‘उम्मेदवार भइसकेपछि भोट माग्नु स्वाभाविकै त हो नि। विभिन्न नेताहरुसँग भेटघाट भएको छ।’

पौडेलले राष्ट्रपतिका लागि मत माग्दै व्यक्तिगत रुपमा मतदाताहरुलाई पत्रसमेत पठाइसकेका छन्। मतदाताहरुलाई सहयोगका लागि आग्रह गर्दै पत्र पठाइएको उनको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार उम्मेदवार पौडेल प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता, प्रमुख सचेतक र सांसदहरुलाई टेलिफोन र म्यासेजसमेत गरिसकेका छन्। 

पौडेलले राष्ट्रपतिका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुसँग प्रत्यक्ष भेटेर, टेलिफोन गरेर सहयोगका लागि आग्रह गरिरहेका उनी निकट मानिने पत्रकार खिला कार्की बताउँछन्। 

‘प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका माननियज्यूहरुसँग फोनमा, भेटेर कुनै न कुनै ढंगबाट सम्पर्क गरेर भोट मागिरहनु भएको छ,’ उनले नेपालखबरसँग भने। 

कांग्रेस र एमालेले आ–आफ्नो पार्टीको समथर्नमा राष्ट्रपतिका लागि मनोनयन दर्ता गरेका उम्मेदवारका पक्षमा मत माग्दै अन्य दलहरुलाई औपचारिक रुपमै पत्रहरु पठाएका छन्। 

कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहयोगका लागि पठाएको पत्र केही दिनअघि सार्वजनिक नै भइसकेको छ। 

पुस १० गते सात दललाई एकै ठाउँ ल्याएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएको नेकपा एमाले राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा एक्लिएको छ।

सात दलको गठबन्धन बनाउँदा उसलाई साथ दिएका जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमतसहितका दलहरु अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा लागेका छन्। उनीहरुले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउने सहमति गरिसकेका छन्। 

यस्तोमा एमाले एक्लै राष्ट्रपतिका दौडमा छ। प्रधानमन्त्री प्रचण्डले पुस १० को समझदारी तोडेर कांग्रेससँग मिलेपछि एक्लिएको एमालेले राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङलाई उठाएको छ।

माओवादीलाई आफैंसँग राख्ने रणनीति अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका एमाले अध्यक्ष ओलीले एक्लिएपछि उपाध्यक्ष नेम्वाङलाई अघि सारे।

यस्तो अवस्थामा नेम्वाङको पक्षमा अहिलेसम्म एमाले मात्रै देखिएको छ। सात दलीय गठबन्धनमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत नेम्वाङलाई सा दिने संकेत गरेका छैनन्।

अहिलेको अवस्थासम्म राष्ट्रपति निर्वाचनमा नेम्वाङले जित्ने अंकगणित देखिँदैन। तर पनि एमाले नेताहरुसहित नेम्वाङले चुनावी प्रचार थालिसकेका छन्।

उनी बिहीबार मत माग्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगर पुगे। उपाध्यक्ष विष्णु पौडेलसहित पुगेका उनले अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि सघाउन आग्रह गरे।

तर नेपालले यसअघि नै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउने निर्णय भइसकेको बताउँदै भोलिका दिनमा अन्य कुरामा सहकार्य हुन सक्ने जवाफ दिए।

बिहीबार नै नेम्वाङ मत माग्दै बसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगे। जहाँ उनलाई रास्वपा सभापति रवि लामिछानेले केही दिनमा यसबारे निर्णय दिने भनेर फर्काइदिए।

नेम्वाङले यसबीचमा अन्य दलका शीर्ष नेता भेटेर पनि भोट मागिरहेका छन्। उनले संविधानसभा अध्यक्षका रुपमा आफूले समन्वयकारी काम गरेको बताउँदै राष्ट्रपतिमा जिताउन भनिरहेका छन्। 

अर्कातिर नेम्वाङको पक्षमा भोट माग्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै राजनीतिक दललाई चिठी पनि पठाइसकेका छन्।

एमालेबाट फुटेर गएको एकीकृत समाजवादीकहाँ पनि एमालेको पत्र केही दिनअघि नै पुगिसकेको छ। 

नेम्वाङको चुनावी प्रचारमा रहेका एमाले सचिव योगेश भट्टराईले संसदमा प्रतिनिध्व गर्ने सबै दलकहाँ पुग्ने काम भइरहेको बताए।

‘नेम्वाङज्यू सबै राजनीतिक दलकहाँ पुग्दै हुनुहुन्छ। एक चरण सबै दलका नेतालाई भेट्ने काम भएको छ’, भट्टराईले नेपालखबरसँग भने, ‘अब संघ र प्रदेशका सबैजना सांसदहरुलाई पत्र पठाउँदैछौँ।’

उनका अनुसार शुक्रबार नै संघ र प्रदेशका सबै सांसदहरुलाई एसएमएस पठाएर भोट माग्ने काम भएको छ। 

‘...श्रीज्यू, राष्ट्रिय एकताको  प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्ने राष्ट्राध्यक्षको भूमिकालाई संविधान र कानुन बमोजिम सम्पादन गर्न राष्ट्रपतिमा उम्मेदवारी प्रस्तुत गरेको छु। यहाँको अमूल्य मत प्राप्त हुने विश्वास लिएको छु। हार्दिक अभिवादनसहित’, नेम्वाङले सांसदहरुलाई पठाएको म्यासेजमा भनिएको छ। 

‘हामीले म्यासेज पठाएर भोट मागिसकेका छौँ। शुक्रबारै अपरान्हसम्म सबै सांसदहरुलाई पत्र पठाउने तयारी भएको छ। व्यक्तिगत रुपमा सांसदहरुसँग भोट माग्ने तयारीमा पनि छौँ।’

नेम्वाङसँग चुनावी अभियानमा रहेका एमालेका सांसद ठाकुर गैरेले सबै दलसँगको संवादका क्रममा वातावरण सकारात्मक पाएको बताए।

‘हामीले सबै दलसँग छलफल गरेका छौँ। नेम्वाङज्यूलाई सघाउने कुरामा प्रतिवद्धता आएको छ’, उनले भने, ‘राष्ट्रपतिका लागि नेम्वाङ सबैभन्या योग्य र सक्षम पात्र पनि हुनुहुन्छ।’

यस्तो छ अंकगणित 
निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल मतदाता सँख्या ८८४ हुन्छ। राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८  तय गरिएको छ।

संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ। राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ।

प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको सबैभन्दा ठूलो दल कांग्रेसको ७ हजार ८२१ मतभार छ। कांग्रेसका १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४०० हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २२१ छ।

७८ जना प्रतिनिधि सभा र १५ जना राष्ट्रिय सभा सदस्य रहेको एमालेको ७ हजार ४२६ मतभार छ। १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७२८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १५४ छ। 

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ३२, प्रदेश सभामा ८३ र राष्ट्रिय सभामा १५ सांसद छन्। यस आधारमा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ९७ हुन्छ। 

एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ।

रामचन्द्र पौडेलले सांसदहरुलाई लेखेको पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .