ad ad

राजनीति


मुस्ताङमा बौद्ध कलेज विवाद : ‘राष्ट्रवादी’ देखिन खोज्दा ‘हावादारी’ बनेका ओली

मुस्ताङमा बौद्ध कलेज विवाद : ‘राष्ट्रवादी’ देखिन खोज्दा ‘हावादारी’ बनेका ओली

सीताराम बराल
फागुन २३, २०७९ मंगलबार २२:४६, काठमाडौँ

सत्तामा हुँदा विदेशी शक्तिहरुप्रति अनावश्यक नरम देखिने नेताहरु सत्ताबाट हटेपछि भने एकाएक तिनै विदेशी शक्तिहरुमाथि गरम बन्न पुग्छन्। सत्तास्वार्थका लागि समय अनुसार विदेशीहरुको गुलामी र विरोध गर्नु नेपाली नेताहरुको चरित्र बनिसकेको छ।

पछिल्लो समय यो प्रवृत्तिका सबैभन्दा राम्रा उदाहरण बनेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली।

दम्भ र अहंकारका कारण आफैँले नेतृत्व गरेको झण्डै दुई तिहाइ बहुमतको सरकार ढल्ने स्थिति सिर्जना भएपछि ओली भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई काठमाडौँ झिकाएर बालुवाटारमा गोप्य मन्त्रणा गर्नसमेत धकाएनन्। सत्ता गुमेयता तिनै ओली भारतको विरोध गरेर सबैभन्दा प्रखर राष्ट्रवादी देखिन खोज्दैछन्।

यसको पछिल्लो उदाहरण हो– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापनाका लागि भारतीय सहयोगको सन्दर्भमा २० फागुनमा ओलीले गरेको टिप्पणी। ओलीले के भनेका थिए, सबैभन्दा पहिले त्यो पढौँ–सुनौँ :

‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो। राष्ट्रियतामाथिको प्रहार हो। मित्रराष्ट्र चीनमाथिको गद्दारी हो। ०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो। आफ्नै मुलुकको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो। स्वाधीनतालाई अस्वीकार गरेको हो। विश्वविद्यालय बनाउन खोज्या हो र त्यहाँ? विश्वविद्यालयका नाममा अर्थाेकै गर्न खोजेको हो। विदेशीको खेल मैदान बनाउन खोजेको। त्यसको युरेनियम, त्यसमा ध्यान दिएको। त्यहाँबाट पहिले ०३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो। त्यही कुरा मार्फाको छेउबाट अब लिएर जाने– लोमान्थाङभन्दा माथि। जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय! भनेको त्यो खास उदेश्यका ‘पेड’ मान्छेहरु, खास उदेश्यका मान्छेहरु मात्रै बस्छन् त्यहाँ। यो एउटा बहुतै खतरनाक कुरा हो। यस्ता अनेक कुराहरु छन्, यी हाम्रा कमन कुराहरु हुन्। राष्ट्रिय हितका– पक्षका कुराहरु हामीले उठाउनुपर्छ र त्यसका सन्दर्भमा लड्नुपर्छ।’

तर, सो अभिव्यक्तिका क्रममा ओली तथ्य–तथ्यमा चुकेका छन्। आफूलाई राष्ट्रवादी र छिमेकी मित्रराष्ट्र चीनको हितैषी देखाउने गरी सो सम्बोधनका क्रममा ओलीले उल्लेख गरेका कतिपय सन्दर्भले बरु उनलाई पो ‘राष्ट्र विरोधी’ र चीन विरोधी देखाएको छ। समग्रमा ओलीको आफ्नै अभिव्यक्तिले उनीमाथि लाग्ने गरेको ‘हावादारी’ को आरोप पुष्टि गर्न खोजेको छ। 

चार ‘विद्यावारिधि’ को बेइज्जत 
ओलीको उपरोक्त अभिव्यक्ति १८ फागुनमा प्रकाशित समाचारमा आधारित थियो। कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा नेपाल सरकारले विदेशीलाई हिँडडुल समेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न भारत अग्रसर भएको उल्लेख थियो।

समाचारमा स्पष्ट रुपमा कलेज खोल्न लागिएको कुरा उल्लेख थियो। तर, ओलीले त्यसलाई बढाइचढाइ गर्दै ‘विश्वविद्यालय’ खोल्न लागिएको र त्यहाँ विश्वविद्यालय आवश्यक नभएको दाबी गरे। त्यहाँ खोलिने विश्वविद्यालयले विदेशीको मात्र स्वार्थ पुरा हुने बताउन पनि भ्याए। 

सो सम्बोधनमा ओलीले प्रष्टसँग भनेका छन्, ‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो... विश्वविद्यालय बनाउन खोज्या हो र त्यहाँ? विश्वविद्यालयका नाममा अर्थाेकै गर्न खोजेको हो।’

कोरियाको विश्वविद्यालयबाट विद्यावारिधि ग्रहण गर्दै ओली

मानार्थ नै भए पनि चार–चार वटा विषयमा विद्यावारिधिको उपाधि पाएका नेता हुन्– ओली। ओलीले जति विद्यावारिधिको उपाधी नेपालका अरु नेताले सायदै प्राप्त गरेका होलान्। जस्तो कि, उनले कथित ‘अमेरिकी विश्वविद्यालय’ ‘ग्रिनफोर्ड’ बाट १४ वर्षअघि, उत्तराखण्ड (भारत) को गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट २४ चैत्र २०७४,  कोस्टारिकाको शान्तिका लागि संयुक्त राष्ट्रसंघको विश्वविद्यालयबाट १५ असोज २०७५ र दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयबाट १५ जेठ २०७६ मा गरी चार वटा मानार्थ विद्यावारिधि हासिल गरिसकेका छन्।   

तर, यति धेरै विश्वविद्यालयहरुबाट ‘विद्यावारिधि’ को उपाधि प्राप्त नेतालाई जानकारी हुनुपर्ने हो– कलेज भनेको के हो? विश्वविद्यालय भनेको के हो?

लौ, ओलीका ‘विद्यावारिधि’ त ‘मानार्थ’ उपाधि हुन् भनेर टार्न सकिएला रे! तर, दुई–दुई पटक प्रधानमन्त्री र प्रधानमन्त्रीका हैसियतमा त्रिभुवन विश्वविद्यालयको कूलपति भइसकेका नेता हुन् ओली। आफूले सम्हालेको पदको गरिमाका लागि पनि विश्वविद्यालय र कलेजको फरक छुट्ट्याएर मात्र बोल्नु पर्ने होइन?

आफ्नै नेता–कार्यकर्तामाथि राष्ट्रघातको आरोप 
ओली भन्छन्– ‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो। राष्ट्रियतामाथिको प्रहार हो। मित्रराष्ट्र चीनमाथिको गद्दारी हो। आफ्नै मुलुकको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो। स्वाधीनतालाई अस्वीकार गरेको हो। विश्वविद्यालय बनाउन खोज्या हो र त्यहाँ? विदेशीको खेल मैदान बनाउन खोजेको हो।’  

ओलीको दाबी पुरापुर असत्य छ, बरु मुस्ताङको स्थानीय आवश्यकता अनुरुप कलेज खोल्न लागिएको हो भन्ने कुरा गण्डकी प्रदेश सभामा एमाले र मुस्ताङबाट पूर्व प्रदेश सांसद (२०७४–०७९) इन्द्र विष्टको कथनले प्रष्ट पार्छ। 

विष्टका भनाइमा उनी सम्बद्ध संस्था ‘मुस्ताङ साक्या बौद्ध संघ’ ले उच्च विद्यालय (कलेज) स्थापनामा आर्थिक सहयोगका लागि भारतीय राजदूतावाससँग आग्रह गरेको थियो।

‘बुद्धिस्ट उच्च विद्यालय (कलेज) को आवश्यकतालाई मध्यनजर गरी हाम्रै संस्था मुस्ताङ साक्या बौद्ध संघको प्रयासमा भारतीय दूतावासले चासोका साथ सहयोगको आश्वासन दिएको थियो,’ २१ फागुनमा आफ्नो फेसबुक वालमा पूर्वसांसद विष्टले लेखेका छन्, ‘यो धार्मिक केन्द्र कुनै व्यक्तिको स्वार्थ बोकेको र राष्ट्रियतामाथि आँच आउने कुनै परियोजना होइन।’ 

एकातिर एमालेका नेता–कार्यकर्ता समेत आबद्ध भएको मुस्ताङ साक्या बौद्ध संघले कलेज स्थापनाको प्रक्रिया अघि बढाएको थियो भने अर्काेतिर एमालेबाटै निर्वाचित गाउँपालिका अध्यक्ष रिङ्जीन नामगेल गुरुङले भारतीय राजदूतावासमा पत्राचार गरेका थिए।

कलेज स्थापना गर्न आर्थिक सहायताका लागि आफूले भारतीय राजदूतावासमा पत्राचार गरेको कुरा गाउँपालिका अध्यक्ष गुरुङले नेपालखबरसँगको कुराकानीमा ‘पालिकाले एउटा चिठ्ठी पठाएकै भरमा सहयोग आउँछ भने किन नगर्ने भनेर सिफारिस गरेको हुँ’ भनेर यसअघि नै स्वीकार गरिसकेका छन्। 

अब ओलीको अभिव्यक्तिबाट प्रश्न उठ्छ– एमालेकै नेता–कार्यकर्ताबाट सुरु गर्न लागिएको यो काम राष्ट्रियतामाथिको प्रहार हो? विदेशीको दलाली हो? चीनविरुद्धको गद्दारी हो? 

त्यसो भए ‘विदेशीको दलाली’, ‘राष्ट्रियतामाथि प्रहार’ र ‘चीनविरुद्ध गद्दारी’ गर्ने मुस्ताङका एमाले नेता–कार्यकर्तालाई ओलीले कारबाही प्रक्रिया अघि बढाउलान् त! 

भूगोलको जानकारी बेगरको अभिव्यक्ति 
सम्बोधनका क्रममा ओलीले मुस्ताङबारे जे अभिव्यक्ति दिए, त्यसबाट ओलीलाई मुस्ताङको भूगोलबारे पनि यथार्थ जानकारी रहेनछ भन्ने प्रष्टसँग बुझ्न सकिन्छ। 

कथित ‘विश्वविद्यालय’ का सन्दर्भमा ओलीले भनेका छन्, ‘त्यही कुरा मार्फाको छेउबाट लिएर जाने– लोमान्थाङभन्दा माथि। जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय। भनेको त्यो खास उदेश्यका ‘पेड’ मान्छेहरु, खास उदेश्यका मान्छेहरु मात्रै बस्छन् त्यहाँ।’ 

ओली अब्बल वक्तृत्व क्षमता भएका नेता हुन्। सम्बोधनका क्रममा उनी जे बोल्छन्, अक्सर त्यो प्रष्टसँग सुनिन्छ, बुझिन्छ पनि। तर, ‘मार्फाको छेउबाट लिएर जाने– लोमान्थाङ भन्दामाथि’ मार्फत् के भन्न खोजेका हुन्, त्यो चाहिँ बुझिँदैन। 

अनुमान के लगाउन सकिन्छ भने, उनले ‘कथित विश्वविद्यालय’ मुस्ताङको लोमान्थाङ भन्दामाथि बनाइन लागेको बताउन खोजेका होलान्। तर, कलेज उपल्लो मुस्ताको ‘लोमान्थाङ’ मा स्थापना गर्न लागिएको होइन।  

तल्लो मुस्ताङमा पर्ने ‘मार्फा’ र उपल्लो मुस्ताङमा पर्ने ‘लोमन्थाङ’ को नाम लिँदै ओलीले त्यहाँ मानिसको बसोबास नरहेको दाबी गरेका छन्। जबकि मार्फादेखि लोमान्थाङसम्म दर्जनौँ गाउँ–बस्तीहरु छन्। मुस्ताङको सदरमुकाम जोमसोम, प्रसिद्ध धार्मिक स्थल कागबेनी र मुक्तिनाथ क्षेत्रसमेत मार्फा–लोमन्थाङ क्षेत्रकै बीचमा पर्छन्।

र, यो क्षेत्र नै मुस्ताङको सबैभन्दा घना आवादी भएको क्षेत्र हो। तर, ओली सजिलै भनिदिन्छन्, ‘जहाँ मान्छे छैनन्, त्यहाँ विश्वविद्यालय!’ 

भूगोल र जनसंख्याको हेक्का नगरी ओलीजस्ता दुईदुई पटक प्रधानमन्त्री भइसकेका नेताबाट आएको अभिव्यक्तिलाई मुस्ताङी जनताहरुले ‘कुरी–कुरी’ गरे होलान् कि ‘हावादारी नेता’ भनेका होलान्!

कम्तिमा कान्तिपुर दैनिकमै छापिएका ओलीको अभिव्यक्ति लक्षित तीन वटा खण्डनबाट उनको भनाइ कति ‘हावादारी’ थियो भन्ने प्रष्ट्याउँछ, जुन खण्डन मुस्ताङ साक्या बौद्ध संघका अध्यक्ष, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र मुस्ताङ–२ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्यको नामबाट छापिएका छन्।     

२०३१ र वाङ्दीको सन्दर्भ : खम्पा अपरेसनको विरोध   
मुस्ताङमा कथित विश्वविद्यालय स्थापना गरिँदा ‘विदेशीको दलाली’ ‘राष्ट्रियतामाथि प्रहार’, ‘मित्रराष्ट्र चीनमाथिको गद्दारी’, ‘मुलुकको सार्वभौमिकतालाई अस्वीकार गरेको’ भन्दै सरकारप्रति आरोप लगाउने क्रममा ओलीले ‘२०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको’ हुने पनि दाबी गरेका छन्।  

‘०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो, त्यहाँबाट पहिले ०३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो’ ओलीको यो अभिव्यक्ति विगतमा मुस्ताङमा भएका खम्पा लडाकूहरुका गतिविधिप्रति लक्षित हो। तिनै खम्पा, जसलाई नेपाली सेनाले २०३१ असारमा निशस्त्रीकरण गरेको थियो। 

खम्पा लडाकु र २०३१ को सन्दर्भ उनीहरुको निशस्त्रीकरणसँग जोडिएर आउँछ। ‘कथित विश्वविद्यालय’ स्थापनालाई ‘२०३१ दोहोर्याउन खोजेको’ भन्दै विरोध गर्नुले ‘सशस्त्र खम्पाहरुलाई नेपाली सेनाले हतियारविहीन पार्नु हुँदैनथ्यो’ भन्ने सन्देश दिँदैन र?   

२०३१ फागुनमा राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरिने भएपछि नेपालले खम्पाहरुलाई निशस्त्रीकरण गर्ने योजना बनाएको थियो। नेपाल सरकारको योजनालाई स्वीकार गर्दै खम्पा कमान्डर गे वाङ्दीले खम्पा लडाकूहरुका अधिकांश हतियार नेपाली सेना समक्ष समर्पण गरे।

मुस्ताङमा नेपाली सेनासँग आत्मसमर्पण पत्रमा हस्ताक्षर गर्दै खम्पा कमान्डरहरु 

तर, हतियार समर्पणपछि पक्राउ परिने भयका कारण वाङ्दी आफ्ना केही सहयोगीका साथ भागे। यसरी भागेका वाङ्दी २०३१ भदौमा टिंकर (दार्चुला) मा नेपाली सेनाको कारबाहीमा मारिए। 

त्यसैले, खम्पाहरुको सन्दर्भमा २०३१ सालको प्रयोग सकारात्मक अर्थमा हुन्छ। किनकि, त्यसैसाल खम्पाहरुलाई निशस्त्रीकरणका लागि सैनिक कारबाही भएपछि यो समस्या समाधान हुन पुग्यो। तर, ओलीले २०३१ लाई नकारात्मक अर्थमा प्रयोग गरेका छन् र ‘२०३१ लाई ठूलो स्केलमा दोहोर्याउन खोजिएको’ भन्दै विरोध गरेका छन्। 

उनको यो कथनले दुई अर्थ प्रदान गर्छ। एक, मुस्ताङमा अहिले पनि खम्पा लडाकुहरु छन् र तिनीहरुविरुद्ध २०३१ मा भन्दा ठूलो (अर्थात् ‘२०३१ भन्दा ठूलो स्केल’) सैनिक अपरेसन गरिँदैछ। दुई, त्यसो (खम्पाहरुविरुद्ध अपरेशन) गरिनु गलत हो। 

ओली आफूलाई हरेक विषयका ‘सर्वज्ञाता’ ठान्छन्। तर वाङ्दी (खम्पा) सँग जोडेर २०३१ लाई उनले जसरी गलत सन्दर्भ र आशयका साथ प्रयोग गरेका छन्, त्यसले उनी कति ‘अल्पज्ञानी’ रहेछन् र गम्भीर विषयलाई गलत स्थानमा समेत प्रयोग गर्दा रहेछन् भन्ने देखाउँछ। 

बौद्ध शिक्षाका लागि नेपालीलाई भारत नै पठाइरहने?
‘विश्वविद्यालय बनाउन खोज्या हो र त्यहाँ? विश्वविद्यालयका नाममा अर्थाेकै गर्न खोजेको हो,’ ओलीले भनेका छन्, ‘(विश्वविद्यालय खोलेर मुस्ताङलाई) विदेशीको खेल मैदान बनाउन खोजेको हो।’ 

मुस्ताङलाई विदेशीको खेल मैदान बनाउन खोजिएको भन्ने ओलीको आरोपको जवाफ पनि एमाले नेता विष्टले दिएका छन्। 

‘यहाँ (मुस्ताङ) हाम्रो गाउँहरुमा झण्डै दुई दर्जन गुम्बाहरु छन्, धेरै गुम्बाहरुमा गुम्बा विद्यालय छन्,’ विष्ट आफ्नो फेसबुक वालमा लेख्छन्, ‘तर दुःखका साथ भन्नुपर्छ– हामीसँग बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ एउटा पनि छैन। उच्च शिक्षाको लागि (विद्यार्थीहरु) विगतमा टिबेत (तिब्बत) र अहिले इन्डिया जाने गर्छन्। हामी सबैको प्रयास हो यो– उच्च शिक्षा अध्ययनको लागि एउटा बुद्धिस्ट उच्च विद्यालयको आवश्यकता छ।’  

शान्तिका दूत गौतम बुद्धको जन्मस्थल हो, नेपाल। तर, बुद्धको जन्मस्थलका नागरिकहरु नै उनको धर्म र दर्शनबारे अध्ययन गर्न भारत वा तिब्बत जानुपर्ने बाध्यता रहेछ। बुद्धको शिक्षा लिन भारतीय कलेज वा स्कुललाई पैसा तिर्नुपर्ने बाध्यतामा उनीहरु रहेछन्।  

स्थानीय विद्यार्थीले भोग्नु परेको त्यही बाध्यता हटाउन, बौद्ध धर्म अध्ययन गर्न चाहने विद्यार्थीको विदेश पलायन रोक्न त्यहाँ कलेज खोल्न लागिएको विष्टको फेसबुक पोस्टले बताउँछ। 

तर, ओलीले यो प्रयासलाई ‘विदेशीको खेल मैदान बनाउन खोजेको’ भन्दै अर्कोतिर मोड्न मात्रै खोजेका छन्। जसले मुस्ताङका विद्यार्थी बौद्ध धर्म अध्ययनका लागि भारत नै गइरहुन्, नेपालमै त्यसको विकल्प खोज्नेतिर नलागौँ भन्ने ओली चाहन्छन् जस्तो देखाउँछ।

आफ्नै देशमा, आफ्नै गाउँमा बौद्ध धर्म अध्ययन गर्न चाहने मुस्ताङका विद्यार्थीलाई भारतमै अध्ययन गर्न जानुपर्ने नियतिलाई निरन्तरता दिन चाहने ओलीको नियत ‘राष्ट्रघात’ हो कि ‘राष्ट्रवाद’ हो?   

त्यसोभए ओली ‘भारतका गद्दार’?  
बुद्ध धर्मसँग सम्बन्धित कलेज स्थापनाको आवश्यकता महसुस गरेर नै मुस्ताङका स्थानीय जनता र संघसंस्थाले त्यससम्बन्धी प्रक्रिया अघि बढाएका होलान्। तर, फेरि सत्तामा पुग्ने आफ्नो महत्वाकांक्षा पुरा नहुने देखेपछि ओलीले सरकारविरुद्ध प्रहार गर्ने अस्त्र मुस्ताङमा खोलिन लागेको कलेजलाई बनाए। त्यसैलाई आधार बनाएर सरकार र भारतविरुद्ध प्रहार गरे। 

वास्तविकता के हो भने मुस्ताङ नेपाली भूमि हो, नेपालको अभिन्न अंग हो। आफ्नो भूभागमा शैक्षिक संस्था स्थापना गरिँदा कसरी मुलुकको सार्वभौमसत्ता र स्वाधीनतालाई अस्वीकार गरेको हुन्छ? कसरी विदेशीको खेल मैदान बनाउन खोजेको हुन्छ?

उत्तरी सीमा क्षेत्रमा विभिन्न परियोजनाका नाममा पश्चिमा शक्ति राष्ट्र र भारतको चासो रहँदै आएको छ नै। तर स्थानीय तहमा परियोजनाको आवश्यकता र त्यसको वास्तविकता बुझेर, रणनीतिक चासो रहेका र नरहेका परियोजना छुट्याएर छिमेकी र मित्र राष्ट्रहरूसँग काम गर्न सकिएन भने झन् अप्ठेरो अवस्था आउन सक्छ।  

ओलीको कथनको आशय के देखिन्छ भने चीनसँग सीमा जोडिएकाले त्यहाँको पूर्वाधार निर्माणमा भारतको सहयोग लिनु हुँदैन। यदि अन्य मुलुकको आर्थिक सहयोग लिइयो भने त्यो ‘चीनमाथिको गद्दारी’ हुन्छ। 

प्रश्न उठ्छ– चीनसँग सीमा जोडिएकाले त्यहाँको कुनै पनि योजनामा भारतीय सहयोग लिँदा चीनमाथिको गद्दारी हुन्छ भने भारतसँग सीमा जोडिएको ओलीको गृहजिल्ला झापामा चिनियाँ आर्थिक सहयोगमा कुनै परियोजना सञ्चालन गर्दा त्यो ‘भारतमाथिको गद्दारी’ हुन्छ कि हुँदैन? 

ओलीको गृहजिल्ला झापाको दमकमा निर्माण गर्न लागिएको ‘नेपाल–चीन औद्योगिक पार्क’ का लागि चिनियाँ सहयोग ‘भारतविरुद्धको गद्दारी हो’ भनेर कसैले भनिदियो भने? चिनियाँ सहयोगमा निर्माण हुने सो पार्कको शिलान्यास प्रधानमन्त्री छँदा ओली आफैले १६ फागुन २०७७ मा गरेका होइनन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .