ad ad

राजनीति


नयाँ राष्ट्रपतिलाई आज नै प्रमाणपत्र, सोमबारको साइतमा शपथ

नयाँ राष्ट्रपतिलाई आज नै प्रमाणपत्र, सोमबारको साइतमा शपथ

केशव सावद
फागुन २४, २०७९ बुधबार १७:१०, काठमाडौँ

मुलुकले आज बिहीबार बेलुकी नयाँ राष्ट्रपति पाउने भएको छ। पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कुनै एक जना तेस्रो राष्ट्रपति बन्नेछन्।

निर्वाचन आयोगका अनुसार मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन्। निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।

राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र बेलुकी ७ बजेभित्र परिणाम घोषणा गर्ने तयारी गरेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन्। 

निर्वाचन आयोग उच्च स्रोतले पनि बेलुकी ७ बजेसम्म राष्ट्रपति निर्वाचनको मत परिणाम घोषणा गरेर बिहीबार नै प्रमाण पत्र प्रदान गर्ने तयारी रहेको बताएका छन्। 

‘७ बजेसम्म नतिजा आइसक्छ,’ स्रोतले नेपालखबरसँग भने, ‘आज नै प्रमाण पत्र दिन्छौं।’ 

आयोगले नयाँ राष्ट्रपतिलाई सोमबारको साइत पारेर पद तथा गोपनीयताको शपथ गराइने समेत तयारी गरेको छ।

‘वर्तमान राष्ट्रपतिको कार्यकाल २८ गतेसम्म छ। २६ गते हामी राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँछौँ,’ उनले भने, ‘२९ गते (सोमबार) समय र बार उपयुक्त भएकाले नयाँ राष्ट्रपतिको शपथ हुन्छ।’

नेपालको संविधानले राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार बिहीबार चुनिने नयाँ राष्ट्रपतिलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आगामी सोमबार पद तथा गोपनीयताको शपथ गराउने छन्। 

‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुन बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ,’ संविधानको धारा ७१ मा भनिएको छ। 

प्रहरीले बिहीबार निर्वाचित हुने नयाँ राष्ट्रपतिलाई तत्कालका लागि आवश्यकता अनुसार सुरक्षा व्यवस्था मिलाउने जनाएको छ। नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले नयाँ राष्ट्रपतिलाई तत्कालका लागि आवश्यकता अनुसार सुरक्षा व्यवस्था मिलाइने बताए। 

‘आवश्यकताअनुसार तत्कालै सुरक्षा व्यवस्था मिलाउँछौं,’ उनले नेपालखबरसँग भने, ‘शपथ लिएपछि पाउनु पर्ने सबै कुराहरु पाइहाल्नुहुन्छ।’ 

यस्तो छ अंकगणित 
निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल मतदाता संख्या ८८४ हुन्छ। राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८  तय गरिएको छ।

संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ। राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ।

प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको सबैभन्दा ठूलो दल कांग्रेसको ७ हजार ८२१ मतभार छ। कांग्रेसका १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४०० हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २२१ छ।

७८ जना प्रतिनिधि सभा र १५ जना राष्ट्रिय सभा सदस्य रहेको एमालेको ७ हजार ४२६ मतभार छ। १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७२८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १५४ छ। 

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ३२, प्रदेश सभामा ८३ र राष्ट्रिय सभामा १५ सांसद छन्। यस आधारमा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ९७ हुन्छ। 

एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .