ad ad

राजनीति


उपराष्ट्रपतिको चुनाव नहुँदै रामसहायसँग फोटो खिचाउने क्रेज

उपराष्ट्रपतिको चुनाव नहुँदै रामसहायसँग फोटो खिचाउने क्रेज

सांसदहरुमाझ रामसहायप्रसाद यादव। तस्बिर : नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १८:५०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहायप्रसाद यादव राष्ट्रपति चुनावमा मतदान गर्न नयाँ बानेश्वर ल्होत्से हल वरिपरि पुगेका थिए।

उनलाई देख्नेबित्तिकै माननीय ज्यूहरु तस्बीर खिचाउन जम्मा भए।

निलो कोट पाइन्टमा सजिएर बानेश्वर पुगेका उनलाई छेकेर सेल्फी तस्बीर लिनेहरुको भीड लागिरहेको थियो।

हामीले सोध्यौँ, किन फोटो खिचाउन तछाडमछाड गर्नुभएको? ‘अब उहाँ हुनेवाला उपराष्ट्रपति हुनुहुन्छ,’ एक सांसदले भने। 

चैत्र ३ गते हुने उपराष्ट्रपति पदका उम्मेदवार बन्ने चर्चा चलेकै थियो । यद्यपि पार्टीले उम्मेदवारीबारे कुनै निर्णय गरेकै थिएन। 

पार्टीले उम्मेदवारबारे निर्णय नै नगरी सांसदहरुले घेर्दा रामसाहाय भने असजिलो मानिरहेका देखिन्थे। लाज मानेको उनको हाउभाउले देखाउँथ्यो।

राष्ट्रपतिको चुनावमा मत दिएर उनी लागे पार्टी कार्यालय बालकुमारी। जहाँ केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको थियो।

झण्डै एक घण्टा बसेको बैठकले उनैलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रपतिमा रामचन्द्र पौडेलले ऐतिहासिक मत ३३८०२ ल्याएर विजयी भएका छन्। 

१० दलको मत पौडेलले पाएका छन्। 

यही अवस्था कायम रहे अबको एक हप्तापछि हुने उपराष्ट्रपति पदमा पनि रामसहाय प्रसाद यादवको जीत निश्चित देखिन्छ। तर, निर्वाचन नभइ यसै भनिहाल्दा हतारो हुन्छ।

सांसदहरु निश्चिन्त देखिन्छन्। झन् बिहीबार (२५ फागुन)मा राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठबन्धनको पक्षमा उभिएर रामचन्द्र पौडेललाई मत दिइसकेकोले सो मत समेत पाउने जसपाका नेताहरुको अपेक्षा छ।

तपाईंलाई त सांसदहरुले घेरै हाले नि ? नेपालखबरको प्रश्नमा रामसहायले भने, ‘सद्भाव पाएको छु।’

उनले दलबाट उम्मेदवार घोषणा गरेपछि मत माग्ने बाटो खुलेको पनि बताए।

अब मलाई जिताउनुस् भन्न सजिलो भयो, ठ्ट्टा गर्दै उनले भने, ‘तपाईँले पनि मत मागिदिनुस् न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .